भूमि मन्त्रालयको सूचनासँगै नेपाल चिकित्सक संघको भवन खोसिने खतरा


काठमाडौं। नेपाल सरकारको एक सूचनाले नेपाल चिकित्सक संघको आलिसान महल खोसिने सम्भावना बढेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको सरंचना खाली गर्ने सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ। उक्त सूचनाले नेपाल चिकित्सक संघको भवन समेत सरकारले खाली गराउने अवस्थामा आएको हो।

नेपाल चिकित्सक संघले २०६४ चैतमा नेपाल सरकारसँग २ रोपनी ९ आना जग्गा भोगाधिकारमा लिएर भवन निर्माण गरेको पाइन्छ। संघले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ कित्ता नम्बर १८८ को २ रोपनी २ आना जग्गा भोगाधिकारमा लिएर लिजमा परीणत गरेको पाइँदैन। लिजमा परीणत नगरेपछि नेपाल चिकित्सक संघको करोडौं हालेर निर्माण गरिएको भवन नेपाल सरकारले फिर्ता लिने सम्भावना बढेर गएको हो।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन)को दफा २१ को उपदफा (२)बमोजिम साविकमा भोगाधिकार पाएका पक्षहरूलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। दुई पटकसम्म मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको थियो। तर, उक्त म्यादभित्र निवेदन नदिने व्यक्ति, संस्था वा निकायहरूको हकमा भोगाधिकारको कानुनी हैसियत स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ ।

भूमि मन्त्रालयले जारी गरेको सूचनामा भोगाधिकार समाप्त भइसकेका जग्गा र त्यसमा निर्माण गरिएका भौतिक संरचनाहरू यथाशीघ्र खाली गरी सरकारलाई हस्तान्तरण गर्नुपर्ने उल्लेख छ। उक्त सूचनाले नेपाल चिकित्सक संघको भवन पनि खाली गर्नुपर्ने अवस्था आएको हो।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको निर्देशनमा भोगाधिकार प्राप्त जग्गा र उक्त जग्गामा बनेको संरचना खाली खाली गर्न मन्त्रालयले सूचना जारी गरेको हो। उक्त सूचनासँगै नेपाल चिकित्सक संघलाई पनि भवन खाली गराउनुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।

क्याटेगोरी : विविध
ट्याग : #नेपाल चिकित्सक संघ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ