युवा नेतृत्वले फेरिदै टेकु अस्पतालको मुहार


काठमाडौं । बि.स. १९९० सालमा ‘डाइरेक्टर अफ मेडिकल सर्विसेज’ अन्तर्गत हाल रोपवे टर्मिनल रहेको टेकुस्थित एक पाटी कलेरा अस्पतालको स्थापना भएको हो । सार्वजनिक पाटीको ओत लागेर भए पनि सीमित संख्याका जनतालाई आफ्नो सेवा पुर्याउदै आएको सो अस्पतालले २००७ सालमा पाटीबाट सरेर नयाँ बनाइएको भवनबाट सेवा दिन थालेको हो ।  २०१९ सालमा यस अस्पतालको जिर्णोद्धार भई यो अस्पताल अन्तर्गत ‘सरुवा रोग यूनिट’ को नामबाट स्वास्थ्य उपचार क्षेत्रमा संलग्न भयो ।

सरुवा रोगको नियन्त्रणमा प्रभावकारीतालाई दृष्टिगत गरी सरुवा रोग यूनिट विस्तार गर्ने क्रममा २०२७ सालमा आवश्यक जग्गा अधिकरण गरी  २०३१ सालमा अस्पताल भवन निमार्ण कार्य प्रारम्भ भई वि.स. २०३४ सालमा वीर अस्पतालको मातहतबाट अलग गरी स्वतन्त्र अस्तित्व भएको अस्पतालको रुपमा यसले सेवा प्रवाह ग¥यो र यसको नामाकरण ‘सरुवा रोग अस्पताल’ गरिएको हो । तर, विगतमा जस्तो नेतृत्व टेकुले लामो अवधिसम्म पाउन सकेको थिएन । नेतृत्व प्रभावकारी नहुँदा अस्पताल क्रमश: कुरुप बन्दै गएको थियो । यसको फाइदा अस्पतालबाहिर चलेका क्लिनिक र फार्मेसीहरुले उठाउँदै आएका थिए । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १४ गते सरुवा रोग अस्पतालको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गरेपछि टेकु अस्पतालले रूप फेर्न थालेको छ ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुका निर्देशक डा. सागर राजभण्डारीले अवकाश पाएपछि युवा जोश जागर र सुधारका योजना भएका ऊर्जाशील व्यक्तित्व डा. अनुप बाँस्तोलाले अस्पतालको नेतृत्व सम्हाल्ने मौका पाएका छन् ।  उनकै नेतृत्वमा अस्पतालको रूप फेरिदै गएको देख्न सकिन्छ । केही गरौ भन्नै भावना भएका निर्देशक बाँस्तोला अहिले निरन्तर रूपमा अस्पताल सुधारमा लागिपरेका छन् ।

शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पनि अस्पताल पुगेर कर्मचारीलाई काममा हौसला दिने मात्रै होइन उनी बिरामीको सेवामासमेत आफै खटिदै आएका छन् । झाडीले झेलिएको टेकु अस्पताल सफा गर्नमा निर्देशक बाँस्तोला लागेका छन् ।

के के सुधार भयो ? 

टेकु अस्पतालको नेतृत्व हाल सम्म २२ जना भन्दा बढीले सम्हालेका छन् । तर, अस्पतालको सुधारमा भन्दा पनि शान देखाउन र कसरी कमाउन सकिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको थियो ।  अस्पतालको भौतिक सुधार ,  पूर्वाधार विकास र सरसफाइमा कसैको ध्यान पुग्न सकेन । तर भर्खरै टेकु अस्पतालको नेतृत्व लिएका निर्देशक डा. बाँस्तोला अस्पतालको सेवा र सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न थालेका छन् ।

उनले सञ्चार माध्यममा बोल्ने समय नआएको भन्दै सुधारको शंकेत गरेनन् । तर, स्पष्ट देखिने केही परिवर्तन भएका छन् ।

सरकारले अस्पताल फार्मेसी अनिवार्य मात्रै गरेको थियो । टेकुमा पनि फार्मेसी थियो तर, जनताले नदेख्नेगरी अध्यारो कुनामा राखिएको थियो । त्यसलाई निर्देशक बाँस्तोलाले सेवाग्राहीले देख्नेगरी खुला ठाउँमा बाहिर सारेका छन् । त्यस्तै वर्षौदेखि थुपारेर राखेका सामग्री हटाएर स्टोरलाई सफा बनाएका छन् ।

वर्षौदेखि बिग्रिएर बसेका उपकरणहरुको लिलामीका प्रक्रिया अगाडि बढाएका छन् । त्यस्तै टेकु अस्पतालमा आउने सेवा ग्राहीको सहजताका लागि नयाँ  लिफ्ट सञ्चालनमा ल्याएका छन् । चार कोठाको नयाँ ओपिडी रुम तयार पारेका छन् । थप अक्सिजन प्लान्ट जडान गरेका छन् । अस्पतालको वरिपरि भएको झाडीलाई सफा गरेर उज्यालो बनाएका छन् । डाक्टर र नर्सको क्वाटर सफा गरेर बस्नलायक बनाएका छन् ।  अस्पतालमा उज्यालो अभियान सञ्चालन गरेर उज्यालो कार्यकालको संकेत गरेका छन् ।

टेकु अस्पतालको दुई महिनामा धेरै परिवर्तन भएको छ । तर, यसको पछाडि निर्देशक डा बास्तोलाको मात्रै हात छैन । उनलाई सबै कर्मचारीले साथ दिएका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठदेखि सचिव रोशन पोखरेलसम्मले उनको अस्पताल सुधार अभियानमा साथ दिएका छन् । मन्त्री श्रेष्ठले सरकारी अस्पताल सुधार गर्नका लागि आफूले पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काम गर्नेलाई अवसर दिने उनको भनाई छ ।

स्वास्थ्य सेवा विभाग समेत टेकु अस्पतालको जग्गा भित्र भएकाले हटाउन कर्मचारीहरुले दवाव दिन थालेका छन् । आफ्नो जग्गा लिएर ३ सय शय्याको सरुवा रोग अस्पताल बनाउन कर्मचारीहरुले आवज उठाउन थालेका छन् । राज्यमन्त्री उमेश श्रेष्ठले पनि शुक्रराज अस्पताल टेकु परिसरमै प्रशस्त जग्गा भएकाले त्यही ठाउँमा तीन सय शय्याको सरुवारोग अस्पताल निर्माणका लागि तत्काल काम अगाडि  बढाउने कार्ययोजना अघि सारेका छन् । मन्त्री र निर्देशकको लाइन मिलेको छ । यसरी नै निरन्तरता दिने हो भने बाँस्तोला टेकु अस्पतालका ‘कुलमान’ बन्ने सम्भावना छ ।                फाेटाे फिचर

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com