सहसचिव नभइ अवकाशमा गए डा. रामप्रसाद मैनाली


काठमाडौं। वरिष्ठ उपसचिव रामप्रसाद मैनाली सहसचिव नभइ अवकाशमा गएका छन्। ५८ वर्ष उमेर हदका कारण मैनाली जेठ १८ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन्।

२०२५ साल जेठ १८ गते जन्मिएका डा. मैनाली २०६७ माघमा राजस्वका उपसचिवमा बढुवा भएका थिए। २ वर्ष अगाडि नै सहसचिव भइसक्नु पर्ने मैनाली उपसचिवमै घर गएका हुन्।

सरकारलाई जानकारी नै नदिई १ वर्ष १ महिना बढी लापत्ता भएका मैनालीको जबर्जस्ती रुपमा जागिर जोगाएको थियो। १ वर्ष १ महिना बढी लापत्ता भएका मैनालीलाई २०७० सालतिरै सेवाबाट हटाउनु पर्ने हो। तर तत्कालीन अर्थ सचिव युवराज भुसालले अख्तियारको दुरुपयोग गर्दै डा. मैनालीको जागिर जोगाइदिएको थिए।

३ वर्ष असाधारण विदा सकेर मैनाली २०६९ साल चैत १६ गदेखि २०७१ साल बैशाख १६ गतेसम्म १३ महिना सरकारलाई जानकारी नै नदिई बेलायततिर लापत्ता भएका थिए। विदा स्वीकृत नगराई ९० दिनसम्म लगातार कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नुपर्नेमा सेटिङमा उनको जागिर जोगाउने कार्य भएको पाइन्छ। गलत तरिकाले जागिर जोगाएका मैनाली सहसचिव भने हुन सकेनन्। सहसचिव बढुवा हुनका लागि पटकपटक रिट हाले पनि उनी उपसचिवबाटै घर गएका हुन्।

रामप्रसाद मैनालीको अवकाशपछि अब नेपाल सरकारको वरिष्ठ उपसचिवमा तीर्थप्रकाश पौडेल उक्लिएका छन्। खोटङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका पौडेल मैनालीपछिका वरिष्ठ उपसचिव थिए। अब उनी जेष्ठतामा एक नम्बरमा उक्लिएका हुन्।

भाइ रामप्रसाद मैनाली ५८ अनिवार्य अवकाशमा गएपनि दाइ नारायणप्रसाद मैनालीको भने अझै डेढ वर्ष जागिर बाँकी छ। नारायण २०८४ साल कार्तिक १० गते मात्र ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानेछन्। दाइ नारायण सहसचिव भइसकेका छन्। भाइ राम सहसचिव हुने प्रयास गर्दागर्दै घर गएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव डा. रामप्रसाद मैनाली, #रामप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ