सरूवा उल्ट्याएर सञ्चारमै बसेकी शक्तिशाली उपसचिव ममता बाँस्तोला टिकापुर जालिन्?
काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयकी उपसचिव ममता बाँस्तोलाको कैलालीको टिकापुर नगरपालिकामा सरुवा भएको छ। लामो समयदेखि सञ्चार मन्त्रालयमा डेरा जमाएकी ममतालाई भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलाली टिकापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको हो। सञ्चार मन्त्रालयको भन्सार मानिने श्रव्यदृष्य तथा प्रशारण शाखा प्रमुख रहेकी उपसचिव ममता टिकापुरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएकी हुन्।
अघिल्लो वर्ष भदौंमा संखुवासभाको पाँचखपन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएकी ममता सरूवा उल्ट्याएर सञ्चारमै बसेकी थिइन्। सञ्चार मन्त्रालयमै दुई वर्षभन्दा बढी समयदेखि बसेकाले उनलाई सरकारले स्थानीय तहमा खटाएको थियो। तर, एमाले निकट कर्मचारी ममता खटाएको ठाउँमा नगइ सञ्चार मन्त्रालयको उक्त शाखा ‘भन्सारमै’ बसिरहेकी थिइन्। गत भदौमा संखुवासभाको पाँचखपन नगरपालिकामा भएको सरूवा उल्ट्याएकी ममताको फेरि भदौ लाग्ने बेलामा कैलालीको टिकापुर नगरपालिकामा सरूवा भएको हो।
ममतालाई अघिल्लोपटक जस्तो यसपटक सरूवा उल्ट्याउन भने सहज छैन। सामान्य प्रशासन मन्त्रालयमा उनलाई संरक्षण गर्ने सचिव चन्द्रकला पौडेल र महाशाखा प्रमुख पार्वती शर्मा छैनन्। सरूवा उल्ट्याएपछि श्रव्यदृष्य तथा प्रशारण शाखामै राख्ने सचिव राधिका अर्याल पनि सञ्चार मन्त्रालयमा छैनन्। सञ्चार मन्त्रालयमा लामो समयदेखि हालिमुहाली गर्दै आएकी ममता यसपटक कैलालीको टिकापुर जानुको विकल्प देखिँदैन।
दैलेखको नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रुपन्देहीका सहायक सिडिओ मातृका आचार्य अर्थ मन्त्रालय, उद्योगका मेघराज शंकर महिला मन्त्रालय सरूवा भएका छन्।
उदयपुरको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, गुल्मीका जिल्ला समन्वय अधिकारी होमनाथ काफ्ले, बागलुङको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेल र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र रेग्मीको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ।
क्याटेगोरी : समाचारट्याग : #ममता बाँस्तोला


तपाईको प्रतिक्रिया दिनुहोस