तिब्बती शरणार्थीलाई फर्जी यात्रा अनुमतिपत्र बनाएर जर्मनी पठाउने परराष्ट्रका सहसचिव भट्टराईविरूद्ध मुद्दा दायर
काठमाडौं। तिब्बती शरणार्थीलाई फर्जी यात्रा अनुमतिपत्र बनाएर जर्मनी पठाउने परराष्ट्रका सहसचिव पुष्पराज भट्टराईविरूद्ध राहादानी कसूरमा मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराईविरूद्ध राहादानी कसुरमा मुद्दा दायर गरेको हो।
परराष्ट्र मन्त्रालयका तात्कालीन शाखा अधिकृत पुष्पराज भट्टराईले कायरो पठाइएको भनी जनाइ यात्रा अनुमतिपत्रहरू प्राप्त गरी गैरकानुनी रूपमा उनाउ व्यक्तिहरूलाईतिब्बती शरणार्थी रहेको भनी पारिवारिक मिलनको निहुँमा जर्मनी पठाउनका लागि यात्रा अनुमतिपत्र जारी गरिएको देखिएकोबाट राहादानी सम्बन्धी कसूरको वारदात स्थापित हुन आएको अभियोगपत्रमा उल्लेख छ।
नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी नेपालमा रहेका शरणार्थी विदेश भ्रमणमा जानको लागि गृह मन्त्रालयको सिफारिससहित निवेदन दिएको अवस्थामा कार्यालय वा विदेशस्थित नेपाली नियोगहरूले यात्रा अनुमति जारी गर्न सक्ने व्यवस्था छ। तर, भट्टराईले उक्त गृह मन्त्रालयको सिफारिस बिनै तिब्बती शरणार्थी हरूलाई यात्रा अनुमति जारी गरेको पाइन्छ। एउटा डकुमेन्ट प्राप्त गर्नका लागि चार लाख रुपैयाँ र त्यति नै रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तिर्नु पर्ने जर्मन राजदूतावासको पत्रमा उल्लेख छ।
कायरो पठाउने भनी बच्चुराम केसीले परराष्ट्र मन्त्रालयबाट यात्रा अनुमतिपत्र बुझिलिएको भएतापनि पत्रमा उल्लेख भए बमोजिमको यात्रा अनुमतिपत्र यस दूतावासबाट माग नभएको र सो समयमा कुनै यात्रा अनुमतिपत्र दूतावासबाट प्राप्त रेकर्डबाट नदेखिएको अभियोगपत्रमा उल्लेख छ।
तिब्बतीयन शरणार्थी शिविरले समेत यात्रा अनुमतिपत्र प्राप्त गर्ने तिब्बतीयन शरणार्थीहरूले नेपालको ठेगाना काठमाडौं बौद्ध भनी उल्लेख गरेको तर बौद्धमा तिब्बतीयन शरणार्थी क्याम्प नभएको प्रस्ट पारेको छ। उक्त प्रकरणमा हाल परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई संलग्न रहेको अभियोगमा प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंमा राहदानी सम्बन्धी कसूरमा मुद्दा दायर गरेको हो। उक्त प्रकरणमा जोडिएका परराष्ट्रका तत्कालीन नायब सुब्बा बच्चुराम केसीको निधन भइसकेकोले स्व. केसीविरूद्ध मुद्दा नचल्ने निर्णय भएको छ।
उक्त शाखाको प्रमुख तत्कालीन उपसचिव दुर्गाबहादुर सुवेदी भएको उल्लेख भएता पनि उनको हकमा कुनै निर्णय भएको पाईँदैन।
परराष्ट्र मन्त्रालयका कार्यालय सहयोगी अमर सिंह लामा, नवराज बडाल, अष्टनारायण महर्जन, तत्कालीन खरिदार अनिल लम्साल, तत्कालीन शाखा अधिकृत हाल दिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा र तत्कालीन शाखा अधिकृत (संयुक्त राष्ट्र संघ (जेनेभा) का लागि नेपालका स्थायी प्रतिनिधि) रामप्रसाद सुवेदी समेत उक्त प्रकरणमा सिआईबीसमक्ष बयान दिएका छन्। परराष्ट्रका अन्य कर्मचारीको हकमा संलग्नता रहेको खुली आएमा मुद्दा चलाउन सक्ने गरी बाटो खुला राखिएको छ।
जर्मन राजदूतावासबाट आएको पत्रमा घुस रिसवत लिएको भन्ने व्यहोराको उल्लेख भइ आएकोमा उक्त विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको तथ्य समेत अभियोगमा खुलाइएको छ। परराष्ट्र मन्त्रालयका श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख भट्टराईविरुद्ध घुस रिसवत लिएको अभियोगमा भ्रष्टाचार मुद्दा लैजाने उत्तिकै सम्भावना देखिन्छ। १७ वर्ष अगाडि भट्टराईले गरेको कर्तुतमा अहिले मुद्दा खेपेका हुन्। अभियोगपत्र दर्ता गर्दा अनुपस्थित रहेका भट्टराईविरुद्ध अदालतबाटै पक्राउ पूर्जी जारी गरी पाउँ भनी निवेदन समेत गरिएको छ।
को हुन् सहसचिव भट्टराई

२०५२ सालमा नेपाल प्रशासन सेवा कुटनैतिक समूहको नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी)को वैकल्पिकमा परेका पुष्पराज भट्टराई पनि परराष्ट्र सेवाको सहसचिव बनेका छन्। २०५२ सालमा लोकबहादुर थापा, तापस अधिकारी, रेवतीरमण पौडेल, प्रकाशमणि पौडेल, सुधिर भट्टराई, अम्बरबहादुर कार्की, जंगबहादुर गुरूङ, डोरनाथ अर्याल र हरिश्चन्द्र घिमिरे कुटनैतिक समूहको नायब सुब्बा (नासु)मा सिफारिस हुँदा पुष्पराज भट्टराई वैकल्पिकमा परेका थिए। हाल संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग, न्युयोर्कमा स्थायी प्रतिनिधि, राजदूत रहेका लोकबहादुर थापाले शाखा अधिकृतमा नाम निकालेपछि पुष्पराजको भाग्य चम्कियो।
२०६५ साल चैतमा परराष्ट्रको शाखा अधिकृतमा बढुवा भएका पुष्पराज त्यसको ३ वर्षपछि आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव बन्न सफल भएका थिए। परराष्ट्र सेवामा सीमित व्यक्तिहरूबीच आन्तरिक प्रतिस्पर्धा हुने गर्छ। सहसचिव हुन भने उनलाई झन्डै १२ वर्ष लाग्यो। कानुनमा स्नातक गरेका पुष्पराज उपसचिव हुँदा नेपाली महावाणिज्यदूतावास न्युयोर्क, अमेरिकामा ३ वर्ष बढी जमेर बसे। दक्षिण कोरियामा मिनिस्टर काउन्सेलर भएर गएका पुष्पले केही समय कार्यवहाक राजदूतको जिम्मेवारी पाएका थिए। ५५ वर्ष नाघेका खोटाङ्गे पुष्पराज भट्टराई एकपटक राजदूत पड्काउने दाउमा छन्। नायब सुब्बाबाट लगातार बढुवा भएर सहसचिव बनेका भट्टराई हाल परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख छन्। उनी राहादानी सम्बन्धी कसूरका प्रतिवादी बनेका हुन्।





ट्याग : #पुष्पराज भट्टराई, #राहदानी सम्बन्धी कसूर


तपाईको प्रतिक्रिया दिनुहोस