प्रधानमन्त्री कार्यालयको जगेडामा रहेका सचिव मैनाली घर गए, अब अधिकारी मात्र


काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूह (जगेडा)मा थन्क्याइएका सचिव हरिप्रसाद मैनाली घर गएका छन्। सचिवको ५ वर्षे सेवा अवधिका कारण मैनाली सोमबारबाट नफर्किने गरी घर गएका हुन्। पुसमा ५८ वर्ष पूरा हुन लागेका मैनली सेवा अवधिका कारण त्यसअगावै घर गएका छन्। २०४६ सालमै सरकारी सेवामा प्रवेश गरेका मैनाली ३७ वर्ष विभिन्न जिम्मेवारीमा रहेर बिदा भएका हुन्।

२०७८ साल साउन १९ गते नेपाल सरकारको सचिवमा बढुवा भएका मैनाली मधेश प्रदेशको प्रमुख सचिव, महिला मन्त्रालयको सचिव, उपराष्ट्रपति कार्यालयको सचिव, महालेखा नियन्त्रक, स्वास्थ्य मन्त्रालयको सचिव, पर्यटन मन्त्रालयको सचिव, सार्वजनिक खरिद अनुगमन कार्यालय सचिव हुँदै प्रधानमन्त्री कार्यालयको जगेडामा पुऱ्याइएका थिए। कमजोर कार्यक्षमताका कारण मैनालीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा तानिएको थियो। जगेडामा डेढ महिना हल्लिएर मैनाली घर गएका हुन्।

मैनालीसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सचिवहरू यसअघि नै लाखापाखा लागिसकेका छन्। सचिव कृष्णहरि पुष्कर कर्ण, लोकनाथ पौड्याल अनिवार्य अवकाशमा गइसकेका छन्। सचिव गोविन्दप्रसाद शर्माले समेत राजीनामा दिएर हिँडिसक्दा मैनाली मात्र जगेडामा रहेका थिए। उनलाई जगेडामा साथ दिन बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी आएका थिए। तर, मैनालीले जगेडा बाबुरामलाई जिम्मा लगाएर घर गएका हुन्। प्रधानमन्त्री कार्यालयको जगेडामा बाँकी रहेका एक मात्र सचिव बाबुरामले पनि ८ दिन हाजिर गरेर घर जानेछन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #बाबुराम अधिकारी, #हरिप्रसाद मैनाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ