मानिस र जनावरका शव व्यवस्थापनमा ढिलाई हुँदै गएको खण्डमा संक्रामक रोग फैलिन सक्ने जोखिम छ : डा मरासिनी
काठमाडौं । नुवाकोट, धादिङ, रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। हालसम्म विभिन्न जिल्लाबाट ४६९ जनाभन्दा बढीको शव फेला परिसकेको छ भने करिब एक हजार नागरिक अझै सम्पर्कविहीन छन्। उद्धार कार्य तीव्र रूपमा जारी छ। बाढीले मानिसका साथै ठूलो संख्यामा चौपाया पनि मारेको छ।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बाढीपछि मानिस र जनावरका शव व्यवस्थापनमा ढिलाई हुँदै गएको खण्डमा संक्रामक रोग फैलिन सक्ने जोखिम औंल्याएका छन्। उनले टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली लगायत प्रभावित क्षेत्रमा दूषित पानीका कारण हैजा, झाडापखाला र लेप्टोस्पाइरोसिस जस्ता रोगको खतरा बढ्ने बताए।
डा. मरासिनीका अनुसार मानिस र चौपायाका शव तथा मलमूत्रले पानी र माटो दूषित हुँदा महामारीको रूप लिन सक्छ। त्यसैले शवहरूलाई बस्ती नजिक खुला नराखेर सुरक्षित रूपमा गाड्ने काम छिटो अघि बढाउनुपर्ने, नियमित रोग निगरानी बढाउनुपर्ने र सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने उनको जोड छ।
सरकारले उद्धार र व्यवस्थापनको काम गरिरहेको भए पनि शव व्यवस्थापनमा ढिलाई हुँदै गएको खण्डमा महामारीको जोखिम बढ्न सक्ने भएकाले थप तीव्रता आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
क्याटेगोरी : Videos, अन्तर्वार्ता, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस