बाढी प्रभावित विदुरको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किए प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
बिहान ९:३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाहले प्रभावित बस्तीहरूको भौतिक अवस्था तथा बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका हुन्। निरीक्षणपछि प्रधानमन्त्री शाहको टोली आजै काठमाडौं फर्किएको छ।
हिजो रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय थिए। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका प्रधानमन्त्री शाहले आज विदुर तथा आसपासका प्रभावित क्षेत्रको प्रत्यक्ष निरीक्षण गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री लम्सालसहित आजै काठमाडौं फर्किएका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस