अर्को हप्ता प्राविधिक सचिव सिग्देल र वैद्य घर जाँदै, कर्माचार्य र सिंह बढुवा हुने
काठमाडौं। अर्को हप्ता प्राविधिक सचिव (इन्जिनियरिङ क्लष्टर)का गोपालप्रसाद सिग्देल र सरजुकुमार वैद्य घर जाने भएका छन्। उनीहरू दुई दिनको फरकमा घर जाने सूचीमा छन्।
पू्र्वाधार विकास मन्त्रालयका सचिव सिग्देल असोज १३ र जल तथा ऊर्जा आयोगका सचिव वैद्य असोज १५ गते घर जान लागेका छन्। सिग्देल ५ वर्ष सचिव चलाएर र वैद्य ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
सिग्देल र वैद्य घर गएसँगै उक्त क्लष्टरको सचिवमा जगदिश्वर कर्माचार्य र नवीनराज सिंह बढुवा हुने सूचीमा छन्। कर्माचार्य जल तथा मौसम विज्ञानतिरका हुन् भने सिंह ऊर्जातिरका विज्ञ हुन्। कर्माचार्य ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय कार्यरत छन्। सिंह लगानी बोर्डको प्राविधिक सहसचिव हुन्।
ऊर्जा मन्त्रालयमा वरिष्ठ सहसचिव कर्माचार्यलाई निमित्त दिएर तत्काल काम गर्न समस्या देखिँदैन। जल तथा ऊर्जा आयोगमा निमित्त सचिव खटाएर काम गर्न सकिने भएकाले यिनीहरूमध्ये एक जनालाई पूर्वाधार विकास मन्त्रालयमा पठाउन पनि सकिन्छ।
चैतमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सचिव दिनानाथ मिश्र आगामी चैतमा अवकाशमा जाँदैछन्। प्राविधिक सचिवमा बढुवाका लागि कर्माचार्य र सिंहसहित मिना श्रेष्ठ, पद्यकुमार मैनाली, गणेशप्रसाद भट्टलगायत प्रतिक्षामा रहेका छन्।
क्याटेगोरी : समाचारट्याग : #गणेशप्रसाद भट्ट, #जगदिश्वर कर्माचार्य, #नवीनराज सिंह, #पद्यकुमार मैनाली, #मिना श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस