सचिव बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस जयनारायणलाई ज्ञानेन्द्र शाहीले सचिवमा नियुक्त गरेपछि..
काठमाडौं। सचिव बढुवाका लागि जयनारायण आचार्यको नाम तेस्रो नम्बरमा सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यवहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको बैठक पहिलो नम्बरमा आभा, दोस्रो नम्बरमा चक्र र तेस्रो नम्बरमा जयनारायणको नाम सिफारिस गरेको थियो। त्यसपछि मन्त्रिपरिषद्को बैठकले नबसेकाले सचिव बढुवाको निर्णय भएको छैन।
प्रतिनिधिसभामा जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले क्याविनेट नै नबसी तेस्रो नम्बरमा सिफारिस भएका आचार्यलाई सामाजिक सञ्चालबाटै सचिवमा नियुक्त गरिसकेका छन्। अहिले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेकाले मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन। मन्त्रिपरिषद्को बैठक नबसी सचिव बढुवा हुने कुरै आउँदैन। तर, शाहीले सचिव बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस आचार्यलाई सचिव पदमा नियुक्त भएकोमा बधाई दिन भ्याइसकेका छन्।
शाहीले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखाका छन्, ‘निजामती सेवाको इतिहासमा जुम्लाले पहिलोपटक नेपाल सरकारको सचिवजस्तो गरिमामय पद प्राप्त गरेको गौरवपूर्ण क्षण हो।
जुम्लाको माटोमा जन्मिनुभएका, जुम्ली माटोमै हुर्किनुभएका आदरणीय दाजु जयनारायण आचार्यज्यू नेपाल सरकारको सचिव पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यो नियुक्ति जुम्लाका लागि मात्र होइन, सम्पूर्ण कर्णालीका लागि पनि गौरवको विषय हो। उहाँको अनुभव, क्षमता र नेतृत्वले देशको प्रशासनिक सेवामा थप योगदान पुर्याउने विश्वास लिएको छु।
जुम्लाको शिर अझ उँचो बनोस्। हार्दिक बधाई तथा शुभकामना!’,

सचिव बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यमध्ये एकजनालाई सचिवमा बढुवा गर्न सक्छ। तेस्रो नम्बरमा सिफारिस भएका आचार्यलाई नै सरकारले सचिव बनाउन पनि सक्छ। सरकारले सिफारिस अनुसारको वरिष्ठता नमिची बढुवा गर्यो भने चाहिँ आचार्यलाई सचिव बढुवा गर्न अझै दुई सिफारिस कुर्नु पर्ने हुन्छ। तर, जुम्लाका सांसद शाहीले सचिवमा नियुक्त भएको भनेर आचार्यलाई बधाई दिन भ्याइसकेको देखिन्छ!
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस