नेपाल प्रशासन सेवामा जुम्लाका ४ सहसचिव
काठमाडौं। नेपाल प्रशासन सेवामा पिछडिएको क्षेत्रमा पर्ने जुम्लाबाट मात्र ४ सहसचिव रहेका छन्। नेपाल प्रशासन सेवाका सहसचिवहरू जयनारायण आचार्य, गोगनबहादुर हमाल, भूपेन्द्र थापा र खडानन्द अधिकारी जुम्लाका हुन्। कुनै भवितव्य नपरे चारैजना जुम्ली सचिव बन्ने देखिन्छ।
जुम्लामा जन्मिएका जयनारायण आचार्य त सचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन्। उनी चाँडै नै नेपाल सरकारको सचिव बन्ने देखिन्छ। ढिलोमा माघमा सहसचिव आचार्य सचिवमा बढुवा हुनेछन्। उनले पूरा कार्यकाल सचिव चलाउने उमेर रहेको छ।
त्यसपछि जुम्ला कै सहसचिव गोगनबहादुर हमाल सचिव बन्नेछन्। उनले सचिव बन्न आवश्यक पर्ने एसईडिपी तालिम समेत लिन थालिसकेका छन्। अहिले बर्दियाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका हमाल आचार्यपछि जुम्लाबाट सचिव बन्ने सूचीमा रहेका हुन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव भूपेन्द्र थापा पनि जुम्ला कै सहसचिव हुन्। गृहबाट सामान्यको बरण्डामा पुगेका सहसचिव थापाको उमेर सचिव हुन पुग्ने खालकै देखिन्छ।
हालै सहसचिव भएर बाराको सिडिओ बनेका खडानन्द अधिकारी जुम्ला कै हुन्। जयनारायण, गोगन, भूपेन्द्रको सूचीमा खडानन्द पनि थपिएका छन्। लेखाका उपसचिव खडानन्द सहसचिव हुनेबित्तिकै जाजरकोटको सिडिओ बन्न सफल भएका थिए। जाजरकोटमा सहसचिव सिडिओको दरबन्दी खारेज भएसँगै उनले बाराको सिडिओमा फड्को मारेका हुन्। उमेर हेर्दा खडानन्दको पनि सचिव बन्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #खडानन्द अधिकारी, #गोगनबहादुर हमाल, #जयनारायण आचार्य, #भूपेन्द्र थापा


तपाईको प्रतिक्रिया दिनुहोस