असोजभित्रै प्राविधिकतिर ३ सचिव बढुवा हुने
काठमाडौं। प्राविधिक (इन्जिनियरिङ) सेवाको एक सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका कार्यबहाक अध्यक्ष माधव बेल्वासेको अध्यक्षमा सोमबार बिहान बसेको बैठकले जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मिना श्रेष्ठको नाम सिफारिस गरेको हो। सचिव बढुवाका लागि सिफारिस भएका तीनैजना सहसचिव ५५ वर्ष पार गरेका हुन्। उनीहरू असोजभित्रै सचिवमा बढुवा हुने देखिन्छ।
अहिले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सचिव खाली छ। पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देल भोलि बेलुकादेखि ५ वर्ष सचिव चलाएर घर जाँदैछन्। बिहीबार बेलुकाबाट जल तथा ऊर्जा आयोगका सचिव सरजुकुमार वैद्य ५८ वर्ष पूरा भएर घर जाँदैछन्। निजामती कानुनमा अन्यथा नभएसम्म ३ सिट प्राविधिक सचिव बढुवा हुने देखिन्छ। सचिवका लागि मुख्य दाबेदार कर्माचार्य, सिंह र श्रेष्ठ रहेका छन्। तेस्रोपटक प्राविधिक सचिव सिफारिस गर्दा पद्यकुमार मैनाली दुई नम्बरमा तानिने हुँदा पूर्वाधार विकास मन्त्रालयको सचिव चलाउन उनलाई सचिवमा बढुवा गर्ने उच्च सम्भावना छ। श्रेष्ठ र मैनाली ५ दिन फरकका सहसचिव हुन्। मैनाली इन्जिनियरिङ सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहका सहसचिव हुन्।
अहिलेको सिफारिसमा भने कर्माचार्य, सिंह र श्रेष्ठमध्ये एक सचिवमा बढुवा हुनेछन्। सम्भवतः कर्माचार्य निमित्त सचिव भएकाले उनै सचिवमा बढुवा हुनेछन्।
हाल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका निमित्त सचिव कर्माचार्य भदौं १६ गते ५५ वर्ष पूरा भए। इन्जिनियरिङ मौसन विज्ञान (मेटेरियोलोजी) सेवा समूहका कर्माचार्य ५८ पूरा हुन ३० वर्षबाट ओरालो लागेका हुन्। २०७० फागुनका सबैभन्दा वरिष्ठ सहसचिव उनै कर्माचार्य सचिव बढुवाका लागि एक नम्बरमा सिफारिस भएका हुन्।
प्राविधिकतिरको सचिव बढुवाका लागि दुई नम्बरमा सिफारिस भएका नवीनराज सिंह कर्माचार्यभन्दा ३/४ दिनपछि सहसचिवमा नियुक्त भएका हुन्। उनको जागिर ९ महिना (२०८४ साउन १० गतेसम्म) बाँकी छ। हाल लगानी बोर्डमा कार्यरत सहसचिव सिंह इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूहका सहसचिव हुन्। कर्माचार्य र सिंह विज्ञता हेर्दा दुबै जना ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा फिट हुने देखिन्छ। ऊर्जा मन्त्रालय खाली रहेको र जल तथा ऊर्जा आयोग यहीँ हप्ता खाली हुने भएकाले दुबैजना सचिवमा बढुवा हुने र त्यतै व्यवस्थापन हुने उच्च सम्भावना छ।इन्जिनियरिङ सेवा, सिभिल समूह, स्यानिटरी उपसमूहको सहसचिव मिना श्रेष्ठ सचिव बढुवाका लागि तेस्रो नम्बरमा सिफारिस भएकी छिन्। श्रेष्ठ कर्माचार्य र सिंहभन्दा एक वर्ष पछाडि (२०७१ माघमा) सहसचिव भएकी हुन्। उनको जागिर २०८५ साउन २५ गते(करिब दुई वर्ष) बाँकी छ। ५५ पारीकी सहसचिव श्रेष्ठ खानेपानी तथा ढल व्यवस्थापन विभागको पहिलो महिला महानिर्देशक हुन्। सरिता दवाडी सिंचाई विभागको पहिलो महिना महानिर्देशक भनेजस्तै मिना खानेपानी विभागको पहिलो महिला महानिर्देशक बन्न सफल भएकी थिइन्।
मिना सचिव बढुवाको एक नम्बरमा सिफारिस हुँदा पद्यकुमार मैनाली दोस्रो र गणेशप्रसाद भट्ट तेस्रो नम्बरमा सिफारिस हुनेछन्। भट्ट ५५ वारीका सहसचिव हुन्। त्यसपछि प्राविधिक सचिव बढुवाको लाइनमा सन्दिपकुमार देव र सञ्जीव कुमार कर्ण रहेका छन्।
क्याटेगोरी : समाचारट्याग : #गणेशप्रसाद भट्ट, #जगदिश्वर कर्माचार्य, #नवीनराज सिंह, #पद्यकुमार मैनाली, #मिना श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस