सामान्य प्रशासन मन्त्रालयको जगेडामा सहसचिव रित्तिँदै


काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडा (अतिरिक्त समूह)मा सहसचिव रित्तिँन थालेका छन्। पछिल्लो समय एक दर्जन बढी सहसचिव रहेको सामान्यको जगेडा रित्तिँने अवस्था आएको हो।

सामान्यको जगेडामा रहेका सहसचिवद्वय तुलसीनाथ गौतम र जयकुमार घिमिरे अनिवार्य अवकाशमा गएका छन्। सहसचिवद्वय गौतम र घिमिरे ५८ वर्ष पूरा भएर घर गएका हुन्। घिमिरेसँगै असोज १४ गते अनिवार्य अवकाशमा जाने सूचीमा रहेका विनोद लामिछाने र असोज २७ गते अवकाशमा जाने जगेडामा रहेका चन्द्रबहादुर शिवाकोटीले यसअघि नै राजीनामा दिएर हिँडिसकेका छन्।

सामान्यको जगेडामा रहेका सहसचिव पुष्षराज शाहीलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाइएको छ। सरकारले जगेडामा रहेका विवादित सहसचिव शाहीलाई दरबन्दीमा व्यवस्थापन गरेको हो। शाहीसँगै सामान्यको जगेडामा रहेका सहसचिव भूपेन्द्र थापालाई लगानी बोर्डको कार्यालय र चिरञ्जीवी पौडेललाई राष्ट्रिय दलित आयोगमा व्यवस्थापन गरिएको छ। शाही, थापा र पौडेल गृहको जगेडाबाट सामान्यको जगेडामा पुगेका थिए। सहसचिवत्रयलाई सरकारले दरबन्दीमा व्यवस्थापन गरेको हो। सामान्यको जगेडामा रहेका अर्का सहसचिव वेदप्रसाद खरेलको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा व्यवस्थापन भएको छ।

सामान्यको जगेडामा रहेका सहसचिव राजेन्द्रदेव पाण्डे यसअघि कै अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा व्यवस्थापन भइसकेका छन्। त्यस्तै सामान्यको जगेडाबाट सहसचिव कृष्णबहादुर शाही राष्ट्रपति कार्यालय हुँदै गृह मन्त्रालय पुगेका हुन्। सामान्यको जगेडाबाट राष्ट्रिय समावेशी आयोगमा पुगेका सहसचिव शंकहरि आचार्य राजीनामा दिएर हिँडेका छन्।

अब सामान्य प्रशासन मन्त्रालयको जगेडामा रूद्रप्रसाद लामिछाने, सुशील ढकाल र गोविन्दप्रसाद अधिकारी रहेका छन्। लामिछाने ५८ वर्ष पूरा भएर एक महिनापछि अनिवार्य अवकाशमा जाँदैछन्। ढकाल मंसिर ११ गते दुई महिनाभित्रै अवकाशमा जाने सूचीमा छन्। दुबै सहसचिव स्वास्थ्यका कारण जिम्मेवारी लिने अवस्थामा देखिंदैनन्। साढे ५६ वर्षबाट उकालो लागेका सहसचिव अधिकारी सामान्यको जगेडामा एक्लिने अवस्थामा पुग्न लागेका छन्। कतिपय ठाउँमा सहसचिवको औचित्य दरबन्दी समेत राखिएकाले उनै पठाइदिए अधिकारीको पनि व्यवस्थापन हुने देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर शाही, #गोविन्दप्रसाद अधिकारी, #चन्द्रबहादुर शिवाकोटी, #चिरञ्जीवी पौडेल, #जयकुमार घिमिरे, #तुलसीनाथ गौतम, #पुष्पराज शाही, #भूपेन्द्र थापा, #राजेन्द्रदेव पाण्डे, #रूद्रप्रसाद लामिछाने, #विनोद लामिछाने, #वेदप्रसाद खरेल, #शंकरहरि आचार्य, #सुशील ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ