सर्वोच्च अदालतमा ४ न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि ४ न्यायाधीशको नाम सिफारिस गरेको छ। परिषद्ले उच्च अदालत पोखराका मुख्यन्यायाधीश डा. रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश गोकर्ण डाँगी सर्वोच्चमा नियुक्तिका लागि सिफारिस गरेको हो। न्याय परिषद्ले क्रमभंगता गर्दै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश वरिष्ठ र दलित समुदायका हुन्। उच्च अदालत पाटनका दोस्रो बरियताका न्यायाधीश सारू आदिवासी/जनजाति पृष्ठभूमिका हुन्। उच्च अदालतको न्यायाधीशको बरियता हेर्दा बागचन्द एक नम्बर, सारू पाँच नम्बर, पाण्डे १३ नम्बर र डाँगी १६ नम्बरमा पर्छन्। परिषद्ले पछाडि रहेका पाण्डे र डाँगीलाई तानेर सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो। डाँगी सडक दुर्घटना परेर बाचेका न्यायाधीश हुन्। दुर्घटना परेपछि उनलाई सर्वोच्चमा ल्याइएको थियो। अहिले उनी सर्वोच्च कै न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन्।
सर्वोच्चको न्यायाधीश बन्न उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारी प्रतिस्पर्धामा थिए। त्यस्तै उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर उच्च र विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, महिलाबाट उच्च अदालत पोखरा, बागलुङ इजलासकी न्यायाधीश यमुना भट्टराई, उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश रमेश ढकाल र उच्च अदालत दिपायलका कायममुकायम मुख्य न्यायाधीश दिनेशप्रसाद यादव पनि सर्वोच्चमा आउने प्रतिस्पर्धामा थिए। अन्तिममा बागचन्द, सारू, पाण्डे र डाँगीले बाजी मारेका छन्।


तपाईको प्रतिक्रिया दिनुहोस