चीन र भारत जोड्ने सामरिक विन्दु भोटखोलामा पुग्यो केन्द्रीय बिजुली, किमाथांका नाका सञ्चालनको बाटो खुल्दै


खाँदबारी। त्रिदेशीय व्यापारिक तथा सामरिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिएको सङ्खुवासभाको उत्तर-पूर्वी हिमाली क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजना मार्फत केन्द्रीय प्रसारण लाइन जोडिएको छ।  लामो समय अघि नै बिजुलीका पोल र तार टाँगिए पनि लाइन चार्ज गरिएको थिएन। भोटखोला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि केन्द्रीय स्तरमा गरिएको सशक्त समन्वय र निरन्तरको ताकेताका कारण अन्ततः राष्ट्रिय प्रसारण लाइन सुचारु भएको हो। पहिलो चरणमा गाउँपालिकाको केन्द्र हटियासम्म बिजुली पुगिसकेको छ भने केही दिनभित्रै वडा नं. ३ को हुङ्गुङ गाउँसम्म लाइन विस्तार हुने खाँदबारीस्थित विद्युत वितरण केन्द्रले जनाएको छ।

अत्यन्तै कठिन भूगोलमा उज्यालोको नयाँ किरण

सदरमुकाम खाँदबारीबाट भोटखोलाको केन्द्र हटिया पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ भने पालिकाका सबै ५ वटै वडा पुग्न २६ दिन लाग्ने विषम भौगोलिक बनावट छ। यस्तो दुर्गम भूगोलमा भरपर्दो बिजुली पुगेपछि गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय तथा सर्वसाधारणको दैनिकी सहज हुने भएको छ।

कोशी राजमार्ग र २४०० मिटर उचाइको बाह्रैमास खुल्ने किमाथांका नाका

चीन र भारतलाई सीधै जोड्ने राष्ट्रिय गौरवको आयोजना ‘कोशी करिडोर’ (कोशी राजमार्ग) यही भोटखोला गाउँपालिका भएर निर्माण भइरहेको छ। चीनसँगको व्यापारिक सम्बन्धमा अत्यन्तै सहज मानिने र बाह्रै महिना सञ्चालनमा आउन सक्ने २४०० मिटर उचाइको किमाथांका नाका यही पालिकामा पर्दछ।

किमाथांका नाकालाई सुचारु रूपमा सञ्चालन गर्नका लागि सीमा क्षेत्रमा तत्कालै भन्सार कार्यालय, सीमा प्रशासन र अध्यागमन कार्यालय (Immigration Office) स्थापना गर्नुपर्ने टड्कारो आवश्यकता छ। यी राज्यका महत्त्वपूर्ण संयन्त्रहरू स्थापना र सञ्चालनका लागि पहिलो सर्तका रूपमा रहेका सडक, बिजुली र इन्टरनेटमध्ये बिजुलीको पहुँच पुग्नाले नाका सञ्चालनको पूर्वाधार विकासमा ठूलो बल पुगेको छ।

नेपाल टेलिकमको फाइबर नेटको तत्काल आवश्यकता

बिजुलीको केन्द्रीय लाइन पुगेसँगै अब भोटखोलामा नेपाल टेलिकमको फाइबर नेट (FTTH) पुर्‍याउनु अति आवश्यक बनेको छ। सीमा क्षेत्रमा राजस्व संकलन, राहदानी तथा अध्यागमन व्यवस्थापन, र सुरक्षा निकायको द्रुत सञ्चारका लागि उच्च गतिको इन्टरनेट अनिवार्य मानिन्छ।

यस विषयमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमले गम्भीरताका साथ प्राथमिकता दिएर काम अघि बढाउन जरुरी देखिन्छ। सडक, बिजुली र फाइबर नेटको प्रबन्ध हुनसके किमाथांका नाका छिट्टै पूर्ण रूपमा सञ्चालनमा आई त्रिदेशीय व्यापार र सङ्खुवासभाको समग्र समृद्धिमा नयाँ आयाम थपिने निश्चित छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ