भ्रष्टाचार मुद्दा लागेर सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव निलम्बित


काठमाडौं। भ्रष्टाचार मुद्दा लागेर सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत यादव निलम्बित भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै यादव निलम्बनमा परेका हुन्। रामधुनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख यादवसहित ७ जनाविरूद्ध अख्तियार भ्रष्टाचार मुद्दा दायर गरेको हो। ट्रायल परीक्षामा सहभागी नभएका १३ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारको आरोप छ। वैदेशिक रोजगारीको सिलसिलामा जापानमा गएका व्यक्तिको नाममा पनि यादव कार्यालय प्रमुख हुँदा लाइसेन्स जारी गरेको अभियोगमा उल्लेख छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख यादवसहित तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, अधिकृत सातौं तुल्सीराम अधिकारी र अधिकृत छैटौं राजीव उपर गलत लिखत, सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो। उक्त भ्रष्टाचार मुद्दामा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटबल रूपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेय, प्रहरी निरीक्षक गणेश ज्ञवाली र प्रहरी नायब निरीक्षक हुमानन्द खनाल समेत प्रतिवादी रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #तेजनारायण यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ