सचिव बढुवाको मुखमा अवकाशमा जान लागेका सहसचिव


काठमाडौं। सचिव बढुवाको मुखमा रहेर पनि दुई सहसचिव अवकाशमा जाने भएका छन्। त्यसरी अवकाशमा जान लागेका सहसचिव हुन् हरिशरण पुडासैनी र प्रदिपकुमार कोइराला। नेपाल प्रशासन सेवाको सचिवको दरबन्दी कटौतीमा नपरेको भए यतिबेला पुडासैनी र कोइराला सचिव भइसकेका हुने थिए। तर, सचिवको दरबन्दी कटौती हुँदा उनीहरू दुवैजना सहसचिवबाटै घर जाने अवस्था आएको हो।

सहसचिवको वरिष्ठताको सूची हेर्दा जयनारायण आचार्य, ज्ञानेन्द्र पौडेल, प्रदिपकुमार कोइराला र हरिशरण पुडासैनी रहेका छन्। पुडासैनी र कोइराला एकैदिनका सहसचिव हुन्।

पुस २० गते कृष्णबहादुर राउत अवकाशमा गएपछि नेपाल प्रशासन सेवाको एक सचिव रिक्त हुन्छ। त्यतिबेला नेपाल प्रशासन सेवाका सहसचिव पुडासैनी घर गइसकेका हुनेछन्। पुडासैनी कार्तिक ६ गते दसैँको बिदा कै बीचमा उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानेछन्। पुडासैनी सचिव हुने सम्भावना समात्न भएको छ।

राउत अवकाशमा गएपछि जयनारायण आचार्य, ज्ञानेन्द्र पौडेल, प्रदिपकुमार कोइराला सचिव बढुवाका लागि सिफारिस हुनेछन्। पुडासैनी सिफारिसमै नपरी घर गएपनि कोइरालाले तेस्रो नम्बरमा सचिव बढुवाका इन्ट्री मार्नेछन्। पद्मकुमार मैनाली ‘स्टाइल’मा कोइरालालाई सचिवमा बढुवा गरियो भने उनी १५ दिनका लागि सचिव हुनेछन्।

राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थ पुस ३० गते अवकाशमा गएपछि कोइरालाको दोस्रो नम्बरमा सिफारिस हुनेछ। लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल माघ १६ गते अवकाशमा जानेछन्। त्योबेलासम्म पहिलो नम्बरमा उक्लिने अवस्थामा रहेका सहसचिव कोइराला ५८ वर्ष पूरा भएर घर गइसकेका हुनेछन्। उनी माघ ६ गते अनिवार्य अवकाशम जाने सूचीमा छन्।

हाल राष्ट्रिय योजना आयोगका सहसचिव रहेका पुडासैनी ग्वाङझाउको महावाणिज्यदूत, भन्सार विभागका महानिर्देशक, अर्थ मन्त्रालयको बजेटलगायत महत्त्वपूर्ण ठाउँमा बसेकाले उनलाई राज्यले दिनु पर्ने खासै केही छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव कोइरालाले भने राज्यबाट त्यति ठूलो लाभ लिएका छैनन्। उनी पहिलो नम्बरमा उम्लिने बेलामा सहसचिवबाटै घर गइसकेका हुनेछन्। कोइरालालाई तेस्रो वा दोस्रो नम्बरबाट ताने मात्र सचिव हुने सम्भावना देखिन्छ। पुडासैनी सहसचिवबाटै घर जाने निश्चित छ। कोइराला धरमरमा देखिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #प्रदिपकुमार कोइराला, #हरिशरण पुडासैनी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ