पर्यटन बोर्डका पूर्वप्रबन्धक लिला बानियाँले खाएको धोबीखोला सरकारले ल्यायो फिर्ता
काठमाडौं। नेपाल पर्यटन बोर्डका पर्यटन बोर्डका पूर्वप्रबन्धक लिलाबहादुर बानियाँले खाएको धोबीखोला नेपाल सरकारले फिर्ता ल्याएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन अनुसार बानियाँले दुषित दर्ता गरेर खाएको धोबीखोला सरकारको नाममा फिर्ता आएको हो।
रावल आयोगको प्रतिवेदन अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १० सिट नम्बर ११८५-०५ कित्ता नम्बर १८ को ३ आना ३ पैसा जग्गा लिलाबहादुर बानियाँको नाममा दुषित दर्ता भएको हो। उनै बानियाँ पर्यटन बोर्डको प्रबन्धकबाट राजीनामा दिएका व्यक्ति हुन्। जो अहिले देश छाडेर अमेरिका पलायन भएका छन् तर दुषित दर्ता गरेर खाएको धोबीखोला छाडेका थिएनन्।धोबीखोलाले धार परिवर्तन गरेसँगै मौका फाइदा उठाएर बानियाँले धोबीखोला आफ्नो नाममा पुर्याएको देखिन्छ। रावल आयोगको प्रतिवेदनमा पनि उनको बदमासी भेटिन्छ। बालेन सरकारले बानियाँले खाएको धोबीखोला सरकारको नाममा फिर्ता ल्याएको हो।
ललितपुर र काठमाडौं जोड्ने युएन पार्कको पुल छेउमै एउटा एक तले पक्की संरचना छ। बुद्धनगरको नवनिर्मित पार्क, प्रहरी चौकी हुँदै बागमती युएन पार्कको पुल पुग्ने बागमती करिडोरमा उक्त संरचना रहेको हो। त्यो विन्दुमा साबिकमा धोबीखोला र बागमती मिसिने (दोभान) गरेको थियो। बागमती करिडोरबाट अगाडि बढ्दा मुखमै रहेको जग्गा नेपाल पर्यटन बोर्डका पूर्वप्रबन्धक बानियाँको नाममा पुगेको थियो। साबिक धोबीखोलाको जग्गा हडपेर बानियाँले संरचना बनाइ भाडा खाइरहेका छन्। २०२१ सालको नापी नक्सामा धोबीखोला जनिएको जग्गा बानियाँको नाममा पुगेको थियो। उक्त कुरा नापी नक्सामा प्रस्टै देखिन्छ। खोलाले धार परिवर्तन गरेपछि उनले जग्गा नै दर्ता गरेर खाएका हुन्। उक्त जग्गा फेरि नेपाल सरकारको नाममा आएको छ। बानियाँसहितले खाएको उक्त क्षेत्रको करिब ९ रोपनी जग्गा नेपाल सरकारको नाममा फिर्ता आएको हो।
बानियाँलाई नेपाल पर्यटन बोर्डका तत्कालीन सिईओ सुभाष निरौलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको थियो। यद्यपि उनले भ्रष्टाचारको मुद्दाबाट सफाइ पाइसकेका छन्। धोबीखोला दुषित दर्ता गराएर खाएकोमा पर्यटन बोर्डका पूर्व कर्मचारी बानियाँलाई राज्यले अर्को किर्ते, ठगी, सरकारी सम्पत्ति हानिनोक्सानी जस्ता मुद्दा लगाउन जरूरी छ।
ट्याग : #लिला बानियाँ


तपाईको प्रतिक्रिया दिनुहोस