देउवा किन तयार भए स्वास्थ्य मन्त्रालय छाड्न?

आरजुको छायाँबाट मुक्त हुँदै स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंसँग राखेर सरकार चलाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्तत: स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीलाई छाड्न राजी भएका छन् ।

बिहीबार दिउँसोसम्म कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय बेलुका एक्कासी एकीकृत समाजवादीको पोल्टामा पुगेको छ । खोप, खोप र खोपलाई प्राथमिकतामा राखेको देउवा सरकारले खोप खरिद गर्ने मन्त्रालय नै अर्को पार्टीलाई दिएको हो । यसको मुख्य कारण भने चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसी रहेको देउवा निकट स्रोतको दाबी छ ।

स्वास्थ्यमा खोप व्यवस्थापन गर्न भनेरै उमेश श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएका थिए । उनलाई राज्यमन्त्री बनाएर केही समय हेर्ने र त्यसपछि मन्त्रीमा प्रमोशन गर्ने देउवाको भित्री योजना थियो। राज्यमन्त्री श्रेष्ठको कार्यसम्पादनप्रति उनी सन्तोषजनक नै रहेका थिए । हिजोमात्र उमेशलाई नै स्वास्थ्यमन्त्री बनाउनुपर्छ भनेर प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग भनेका थिए । तर आज एकाएक देउवा व्याक भएर स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीलाई सुम्पिदिए ।

कांग्रेस महाधिवेशन नजिकिँदै आइरहेको बेला पार्टी सभापतिमा दोहोरिने तयारीमा रहेका देउवालाई गोविन्द केसीको भूतले तर्साउँदै आएको छ । उमेशलाई स्वास्थ्यमन्त्री बनाउँदा केसी सुत्दिने भएकाले आफूलाई जोखिम मोल्न कठिनाई भएको देउवाले सुनाउँदै आएका थिए । आजै डा. केसीले अनसन बस्ने चेतावनी दिएपछि देउवा एकाएक व्याक भए । पार्टीको चुनाव जसरी पनि जित्ने पक्षमा रहेका देउवा केसीसँग टस्सल लिएर भोट घटाउने पक्षमा नरहेको उनी निकट नेताहरू बताउँछन् ।

यता स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री पत्नी आरजु देउवा छायाँ भएको आरोप लाग्दै आएको छ । डा. केसीले पनि आज आरजुप्रति आक्रोश व्यक्त गरेपछि देउवा मन्त्रालय नै अर्को पार्टीलाई दिन राजी भएको स्रोतको भनाइ छ ।

आरजुले स्वास्थ्यमा अनावश्यक हस्तक्षेप गर्दा स्वास्थ्यका प्रशासनिक निर्णय विवादमा पर्न थालेका थिए । स्वास्थ्य सेवा विभाग निमित्त महानिर्देशक आरपी बिच्छाको म्याद थप्नेदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवादास्पद उपकुलपति डा. संगिता भण्डारीलाई संरक्षण गरेको आरोपसमेत उनीमाथि लाग्दै आएको छ । राज्यमन्त्री उमेश श्रेष्ठले राम्रै काम गर्ने प्रयास गरेपनि आरजुका कारण विवादमा तान्ने काम भएको कांग्रेस नेताहरू कै बुझाइ छ । अब भने स्वास्थ्य मन्त्रालय आरजुको छायाँबाट मुक्त हुने स्वास्थका अधिकारीहरु बताउँछन् ।

कमजोर कार्यक्षमता भएकी रिता जोशी भण्डारीलाई समन्वय महाशाखा दिनेदेखि प्रदेशमा समायोजन भएका महेश्वर श्रेष्ठलाई मन्त्रालय तानेर विज्ञ सल्लाहकार बनाएको विषयमा पनि आलोचना हुँदै आएको छ । पत्नी राणाको हस्तक्षेपले बद्नाम हुने र डा. केसी अनसन बसे चुनावमा असर पर्ने खतरा देखेपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालय नैं एकीकृत समाजवादीलाई दिएर कानून मन्त्रालय राख्न राजी भएको प्रधानमन्त्री देउवा निकट स्रोतले स्वास्थ्य लाइभलाई स्पष्ट पार्‍यो ।  एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा पठाउने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com