स्वास्थ्यको प्रमुख विशेषज्ञमा बढुवा तयारी, वीरमा १२ औं तहलाई पठाइँदै


काठमाडौं । स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ (१२ औं तह) पदमा बढुवाको तयारी सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकाअनुसार अब एक/दुई दिन भित्रै १२ औं तहको बढुवा प्रस्ताव अगाडि बढ्ने छ । १२ औं तहमा बढुवाका लागि मन्त्रालयले ११ औं तहमा ५ वर्षभन्दा बढी काम गरेको मापदण्ड बनाएर विवरण (डकुमेन्ट) मागेकामा २१ जनाको विवरणसहित दाबी परिसकेको छ

स्वास्थ्यमन्त्री खतिवडाले आफ्नो प्राथमिकता तत्काल १२ औं तहको बढुवा गरेर कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीरको प्रमुख प्रशासकीय अधिकारीमा १२ औं तहलाई पठाउने रहेको स्पष्ट पारेका छन् । उनले वीरको काम लिएर जानेलाई पहिला बाह्रौं तहको मान्छे पठाएपछि हुन्छ भनेर पठाउन थालेको पाइएको छ ।

वीरमा १२ औं तहको दरबन्दी भएकाले एक/दुई भित्रै बाह्रौं तहमा बढुवा गर्ने र त्यसपछि पठाउने योजना रहेको खतिवडाको भनाइ छ । स्वास्थ्यमन्त्री खतिवडाले १२ औं तहको दरबन्दी रहेको स्वास्थ्य सेवा विभागमा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई पठाइसकेका छन् ।

उनले ११ औं तहका निमित्त महानिर्देशक डा. आरपी विच्छालाई कान्ति बाल अस्पतालतिर पठाएर मन्त्रालयमा रहेका डा. सिंहलाई विभागको महानिर्देशक बनाएर पठाएका हुन् । १२ औं तहलाई विभागको महानिर्देशकमा पठाएर सरुवा सुरू गरेका मन्त्री खतिवडाको दोस्रो टार्गेट वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारी रहेको देखिन्छ । त्यसका लागि बाह्रौं तहको बढुवामा उनको विशेष ध्यान गएको हो ।

स्वास्थ्य सेवामा १२ औं तहको तीववटा पद रिक्त छ । त्यसका लागि दाबी गर्नेमध्ये डा. भीमसिंह तिंकरी र डा. गुणराज लोहनीको बढुवा पक्का जस्तै रहेको मन्त्रालय उच्च स्रोतको भनाइ छ । त्यसपछि डा.तारा पोखोल, सुनिलराज शर्मा, डा. कृष्ण पौडेल, डा. संगिता कौशल मिश्रामध्येबाट एक जना बाह्रौं तहमा बढुवा हुने देखिन्छ । खतिवडाको भनाइलाई आधार मान्ने हो भने स्वास्थ्यमा बाह्रौं तहको बढुवा हुने दिन धेरै टाढा छैन ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com