सेभ द चिल्ड्रेनको दादागिरी रोकिएन, दुःख गरेर ग्लोवल फण्ड जुटाउने सरकार, जस लिने सेभ


काठमाडौं । नेपालमा सेभ द चिल्ड्रेनको दादागिरी अझै रोकिएको छैन । पछिल्लो केही दिनको एउटा घटनाले अझै नेपालमा सेभ द चिल्ड्रेनको दादागिरी बाँकी रहेको पुष्टि भएको छ । ’काम गर्ने कालू, मकै खाने भालू’ भन्ने नेपाली चल्तीको उखान सेभ द चिल्ड्रेनमा चरितार्थ गर्ने काम गरेको छ ।

सरकारको सामान सेभ द चिल्ड्रेन आफूले दान गरेको बताएपछि स्वास्थ्य क्षेत्रमा सेभ द चिल्ड्रेनको दादागिरी अझैं जीवित रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर, सोही मन्त्रालय विभागको नेतृत्वकर्ताहरु आइएनजिओले गरेको ठाडो हस्तक्षेप देख्नेगरी ब्यूँझिएका छैनन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा प्रमाण खोजेर बसिरहेका छन् भने जानकारी भएका सचिव डा. रोशन पोखरेल ब्यूँझिएका छैनन् । नेपालस्थित सेभ द चिल्ड्रेनले गत अक्टोबर २७ तारिकमा सामाजिक सञ्जालमा एउटा पोष्ट गरेको छ । जुन स्वास्थ्य क्षेत्रमा बिरोध सुरु भएको छ ।

सेभ द चिल्ड्रेनले लेखेको छ, ’ग्लोवल फण्ड कार्यक्रमअन्तर्गत हामीले क्षयरोग उपचार केन्द्र, पोखरा, कर्णाली प्रादेशिक अस्पताल सुर्खेतलाई बिएसएल थ्रि ल्याब कन्टेनरहरू दान गरेका छौं । यी बिएसएल थ्रि कल्चर ल्याबहरूले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्षयरोगीहरूको निदान र उपचार अनुगमन सेवा उपलब्ध गराउनेछन् ।’,

सेभ द चिल्ड्रेनले लेखेको यो शैली स्वास्थ्य क्षेत्रमा ठाडो हस्तक्षेपको एउटा उदाहरण हो । सिसिएममाआवद्ध भएका एक जना पूर्व अधिकारीले ग्लोवल फण्ड भनेको सरकारको बजेट भएको र सरकारलाई आएको बजेटमा आफूले दान दिएको भन्नु सरकारलाई सेभ द चिल्ड्रेनको ठाडो चुनौती हो ।

सेभ द चिल्ड्रेनले दुःख गरेर आफैले प्रपोजल तयार पारेर ल्याएको कार्यक्रम ग्लोवल फण्ड हैन । सरकार मातहत रहेको सिसिएमले प्रपोजल तयार पारेर ल्याएको रकममा सेभ द चिल्ड्रेनको दादागिरी चलेको छ । तर, कमिसनमा किनिएका स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव लागाय जिम्मेवार अधिकारी चुइक्क बोल्न सक्दैनन् ।

सेभले समाजमा यसरी भ्रम सृजना गरिरहेको छ की आफ्नै पैसामा सामान खरिद गरेर ठाउँ ठाउँमा दान दिइरहेको छ । सेभले सरकारको पैसामा आफ्नो दान देखाएको छ । तर, यो कर्तृतप्रति स्वास्थ्य मन्त्रालय बोल्न नसक्नु आश्चर्यको विषय भएको अधिकारीहरु बताउँछन् ।

यसरी सार्वजनिक रुपमा प्रचार गर्दा सेभले किनेर दिएको सामान भन्ने धेरैले बुझेका छन् । नेपाल सरकारको रत्तिभर डर नभएको आइएनजिओ सेभ द चिल्ड्रेनमाथि कारबाही अगाडी बढाउन अधिकारीहरुले आवाज उठाउन थालेका छन् ।

ग्लोवल फण्डले नेपाल सरकारलाई दिएको पैसामा सेभ द चिल्ड्रेनको मनपरी चलिरहेको छ । क्षेत्राधिकारबाहिर गएर काम गर्नेमा सेभ द चिल्ड्रेनका नेपाल प्रमुख तारा क्षेत्री र राजन भट्टराई लगायत छन् । सेभ द चिल्ड्रेन यस विषयमा जवाफ दिन सक्ने हैसियतमा छैन । पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउँन चाहिरहेको छैन ।

ग्लोवल फण्डको रकम प्राप्त गर्न सेभ द चिल्ड्रेनको कुनै भूमिका छैन । ग्लोवल फण्डको रकम प्राप्त गर्न सिसिएमले प्रपोजल तयार पारेको हो । सिसिएमको नेतृत्व नेपाल सरकार आफैले गरेको छ ।

आफैले लेखेर ल्याएको अर्बौं रकमसमेत विभिन्न बाहनामा नेपाललाई असक्षम देखाएर सेभ द चिल्ड्रेनले कब्जा गरेको हो । जसअनुसार नेपाल सरकारले दुःख गरेर ल्याएको पैसा सेभ द चिल्ड्रेनले चलाइरहेको छ । पैसा कब्जा गरेर आफ्नो पोल्टामा हाल्न सफल भएको सेभ द चिल्ड्रेन त्यसबाट खरिद गरेका उपकरणहरु सरकारको हो भन्नसमेत लाज मान्छ ।

स्वास्थ्यका एक जना अधिकारीले भने ’सरकारबाट खोसेको पैसाको व्यवस्थापन मात्रै सेभ द चिल्ड्रेनले गरेको हो । तर, त्यसबाट खरिद गरेका स्रोत साधन नेपाल सरकारको हो । सरकारका मान्छे सबै आइएनजिओले किनेका छन् त्यसले पनि क्षेत्राधिकारबाहिर गएर गतिबिधि गर्दा चुइक्क बोल्न सक्ने हैसियत राख्दैनन् ।’,

सरकार केन्द्रमा रहेर ग्लोवल फण्डका लागि एउटा कमिटी बनेको छ । सो कमिटीको नाम सिसिएम दिइएको छ । उक्त कमिटीले ग्लोवल फण्ड जुटाउन रातदिन काम गरिरहेको हुन्छ । उसले प्रपोजल तयार पार्छ जसअनुसार आवश्यक बजेट प्राप्त हुन्छ । यसमा सेभ द चिल्ड्रेनको कुनै भूमिका छैन ।

ग्लोबल फण्डबाट सरकारका तीन कार्यक्रम क्षयरोग, एचआइभी र मलेरियाका कार्यक्रम संचालन भएका छन् । तर, आफुले दुःख गरेर ल्याएको पैसा खोसेर सेभ द चिल्ड्रेनले दादागिरी गरिरहेको छ ।

स्वास्थ्य लाइभले पछिल्लो केही समय देखि निरन्तर एनजिओ, आइएनजिओको निगरानी गर्दै आएको छ । हरेक गति विधिमा आफ्नो क्षेत्राधिकार भन्दामाथि उठेर एनजिओ, आइएनजिओले सरकारप्रति दादागिरी देखाइरहेका छन् । यति मात्रै गरेका छैनन् हाम्रा गोप्य सुचना बाहिर लानेकाम यी नै आइएनजिओले गर्दै आएका छन् ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सार्वजनिक सरोकार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com