काठमाडौंको ‘भिआईपी एरिया’मा जनगणना सुरू, राजपरिवारको जनगणनामा कारञ्जित आफैं खटिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा मातृ मृत्युदर पत्ता लगाइँदै


काठमाडौं । राष्ट्रिय जनगणनाको मुख्य कार्यक्रम काठमाडौं उपत्यकासहित देशभर एकसाथ सुरू भएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुख्या नाराका साथ सुरू भएको राष्ट्रिय जनगणनामा गणकहरू घर-घरमा पुगेर मुख्य प्रश्नावलीमार्फत विवरण लिने काम गरिरहेका छन् ।

काठमाडौंको ‘भिआईपी एरिया’को रूपमा रहेको बालुवाटार, सिंहदरबार, नक्साल, लाजिम्पाट, लैनचौर, महाराजगञ्जदेखि वसन्तपुरसहितको मुख्य जनगणना देवेन्द्रलाल कारञ्जित नेतृत्वमा भइरहेको छ । धेरैको चासो रहेको काठमाडौं महानगरपालिकाको भिआईपी ठाउँ रहेको वडा नम्बर १, २, ३, ४, ५, ११, २१, २२, २३, २४, २५, २६,२७,२८, २९ र ३० नम्बर वडा हर्ने जिल्ला जनगणना अधिकारी कारञ्जित हुन् ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ भिआईपी एरिया हो भने ११, २१, २२, २३, २४, २५, २६,२७,२८, २९ र ३० नम्बर वडा कोर वस्ती भएको ठाउँ हो । यो क्षेत्रको नेतृत्वमा कारञ्जित छन्  । यही क्षेत्रमा बसोबास गर्ने नेपालमा राजाको भूमिकामा रहिसकेका ज्ञानेन्द्र शाह र उनको परिवारको जनगणनामा भने कारञ्जित आफैं खटिने भएका छन् ।

राष्ट्रपति भण्डारीको विवरण लिँदै महानिर्देशक श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारीको जनगणनामा केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ खटिने भएपछि राजपरिवारको जनगणनामा जिल्ला जनगणना कार्यालय काठमाडौं ‘घ’ का प्रमुख कारञ्जित आफैं खटिने भएका हुन् ।महानिर्देशक श्रेष्ठले राष्ट्रपति भण्डारीको विवरण लिइसकेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यको जनगणना भने स्थानीय जनगणना अधिकारी सुनिता श्रेष्ठको नेतृत्वमा भइसकेको छ ।

यता केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा  राष्ट्रिय जनगणनामा मातृ मृत्युदरसमेत पत्ता लगाउने काम सुरू भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लमिछानेकाअनुसार मातृ मृत्युदरको आँकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ र केन्द्रीय तथ्याङ्क विभागको नेतृत्वमा हुने बताए ।

कार्तिक २५ (आज)देखि सुरु भएर मंसिर ९ गतेसम्म सकिने जनगणनामा मातृ मृत्युदर पत्ता लगाउन मन्त्रालय र विभागबीच सहमति र सहकार्य भएको हो ।  गणकले मातृ मृत्यु भएको घरपरिवार पत्ता लगाई  तत्काल स्वास्थ्यकर्मीलाई सूचित गर्नु पर्ने छ ।

गणकले मातृ मृत्यु भएको घरपरिवार स्वास्थ्यकर्मीलाई सूचित गरेपछि स्वास्थ्यकर्मीले उक्त घरमा गएर भर्वल अटप्सि अर्थात मृतकको परिवारसँग मुखैले सोधेर सम्पूर्ण विवरण लिनेछन् । साथै गर्भवती अवस्था, प्रसूति अवस्था वा सुत्केरी अवस्थाबाहेक अन्य अवस्थामा मृत्यु भएका केशहरूको नमूना सङ्कलन गरी स्क्रिनिङ गर्नुपर्ने छ ।

काठमाडौं जिल्ला जनगणना कार्यालय ‘घ’ मा स्वास्थ्यकर्मी खटाइसकिएको छ । भर्वल अटप्सिका लागि नर्सिङ अधिकृत सुशिला वस्तीको नेतृत्वमा सिनियर अनमि शारदा थापा, मिना श्रेष्ठ र अनमि नविना महर्जनलाई फोकल पर्सन तोकिएको हो ।गणकले मातृ मृत्यु भएको घरपरिवार पत्ता लगाई यी स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउनु पर्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com