परराष्ट्रका कर्मचारीले फर्जी रुपमा खाएको ३० करोड औषधि उपचारलगायत भत्ता मिनाह गरिएको खुलासा


काठमाडौं । विदेशस्थित नियोगमा कार्यरत कर्मचारी फर्जी विवरण पेश गरेर राज्यबाट खाएको  झन्डै ३० करोड औषधि उपचारसहितको पारिवारिक भत्ता मिनाह गरेको खुलासा भएको छ ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको ठाडो निर्देशनमा परराष्ट्र मन्त्रालयको विदेशस्थित नियोगमा कार्यरत कर्मचारीको करिब ३० करोड पारिवारिक भत्ता मिनाह गरिएको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

परराष्ट्रले विदेशस्थित नियोगमा कार्यरत कर्मचारीले नक्कली कागजात पेश गरेर राज्यबाट लिएको करिब ३० करोड भत्ता मिनाह गराउँन सार्वजनिक लेखा समिति प्रयोग गरेको पाइएको हो। परराष्ट्र मन्त्रालयको व्यवस्थापन लेखा समितिमा पदाधिकारीहरुलाई विभिन्न देशमा घुमाएर आफ्ना नियोगमा कार्यरत कर्मचारी परिवार आफूसँग नभएपनि झूठा विवरण पेश गरेर राज्य कोषबाट जालसाजीपूर्ण ढंगले लिएको भत्ता लकडाउनकैबीचमा मिनाह गरिएको पाइएको हो ।

देशमा कोरोना महामारीको संकटका बेला नागरिकले उपचार नपाइरहेको बेला र संविधानले नै आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनेपनि त्यो सुविधा पाउँन नसकेको बेला विदेशस्थित नियोगमा कार्यरत कर्मचारीले आफ्नो परिवार साथमा नरहेको भएतापनि कागजात मिलाएर लिएको भत्ता सुटुक्क मिनाह गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको पारिवारिक भत्तामा छानबिन गरेर असुलउपर गर्न निर्देशन दिनुपर्ने दायित्व बोकेको सार्वजनिक लेखा समितिकै मिलेमतोमा परराष्ट्रको उक्त पारिवारिक भत्ता मिनाह गरिएको हो ।

सार्वजनिक लेखाा समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले परराष्ट्र मन्त्रालयलाई प्रमाण जुटाएर लगत्त कट्टा गर्न निर्देशन दिएको बताए । वैदेशिक भत्तामा लाग्ने करको हकमा मन्त्रिपरिषद्बाट निर्णय गराउँन र पारिवारिक भत्ताको हकमा प्रमाण जुटाएर लगत कट्टा गर्न निर्देशन दिएको जिकिर गर्दै मिनाह भए-नभएको समितिलाई जानकारी नभएको उनको भनाइ छ । तर परराष्ट्र मन्त्रालयले प्रमाण नजुटाइ एकमुष्ठ रुपमा पेश गरेर महालेखालाई लगत कट्टा गर्न लगाएको छ । यस विषयमा बुझ्न खोज्दा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल सम्पर्कमा आउन चाहिनन् ।
पूर्वकार्यबाहक महालेखा परीक्षक सुकदेव खत्रीले लेखा समितिले आफ्नो कार्यक्षेत्र र दायित्वबाट बाहिर गएर पारिवारिक भत्ता मिनाह गर्न निर्देशन दिएको बताए । महालेखाले पटकपटक कानुनले दिएको अधिकार प्रयोग गरेर गलत विवरण पेश गरेर भत्ता बुझ्नेको नाममा बेरुजु लेख्दै आएको बताउँदै उनले समितिले छानबिन गरेर महालेखालाई छानबिन गरेर असुलउपर गर्न निर्देशन दिनुपर्नेमा परराष्ट्रको प्रभावमा परेर उल्टै पारिवारिक भत्ताबापतको बेरुजु मिनाह गर्न निर्देशन दिनु लजास्पद र आपत्तिजनक विषय भएको बताए ।

बिगतमा तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागीले उक्त बेरुजु मिलाउँन पटकपटक महालेखा परीक्षकको कार्यालय धाएर दबाब दिएको सुनाउँदै त्यसलाई आफूहरुले ठाडै इन्कार गरिदिएको र अहिले मिनाह गर्नु आश्चर्यको विषय भएको खत्रीको तर्क छ । यसले सार्वजनिक लेखा समितिको भूमिका र सदस्यहरुको आचरणमाथिसमेत प्रश्न उठेको उनको भनाइ छ ।

लेखा समितिका सभापति भरतकुमार शाह, लेखा समिति अन्तर्गतको उपसमितिका संयोजक राजेन्द्रकुमार केसी, निवर्तमान् परराष्ट्र सचिव (हाल मुख्य सचिव) शंकरदाश (बैरागी) खनाल लगायतका उच्च अधिकारीहरुकै सक्रियतामा लेखा समितिबाट निर्देशन गर्न लगाइँ फर्जी पारिवारिक भत्ता मिनाह गराएको मन्त्रालय स्रोतको भनाइ छ ।

महालेखा परीक्षकको कार्यालयले परिवार नेपालमा राखेको, बुवा आमा नियोगमा नै हुँदा निधन भएपश्चात भत्ता लिएको, आश्रित परिवार अन्य देशमा रहेको डिभिपिआर भएको र देशभित्रै सरकारी जागिर खाइरहेका परिवारका सदस्य साथमा रहेको भनी झुठा विवरण पेश गरेर राज्य कोषबाट लिएको पारिवारिक भत्ता बेरुजु ठहर गर्दै आएको थियो । परराष्ट्र त्यही बेरुजु रकम मिनाह गर्न संसदको सार्वजनिक लेखा समितिमार्फत महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिन लगाएको हो ।

झुठा विवरण पेश गरेर राज्य कोषमाथि हानी नोक्सानी गर्ने कर्मचारीमाथि छानबिन गरेर कारबाहीका लागि सिफारिस गर्नुपर्ने दायित्व बोकेको लेखा समितिले उल्टै मिनाह गर्न निर्देशन दिएको भन्दै परराष्ट्रकै कर्मचारीहरु आश्चर्य व्यक्त गर्छन् । ‘कतिपय कर्मचारीको परिवार नेपाल सरकार कै अर्को निकायमा जागिर खाइरहेको अवस्थामा पनि आफ्नै साथमा रहेको फर्जी विवरण पेश गरी विदेशस्थित नियोगबाट पारिवारिक भत्ता बुझेको पाइएपछि महालेखाले बेरुजु निकाल्दै आएको थियो’, परराष्ट्र एक उच्च अधिकारीले भने, ‘१५ देखि २० प्रतिशत कर्मचारीमाथि अन्याय भएको होला ती कर्मचारीले पनि आफूसँग भएको प्रमाण पेश गरेर बेरुजु फस्र्छौट गराउने बाटो थियो तर फर्जी काजगात पेश गरेर राज्य कोषबाट लिएको रकम फिर्ता गर्नुपर्नेमा लेखा समितिको निर्देशनमा मिनाह गर्ने काम भयो ।’,

महालेखाले विदेशस्थित नियोगमा कार्यरत परराष्ट्र राजदूतसहितका कर्मचारीको छोराछोरी अन्य देशमा पढ्ने , परिवारको सदस्य नेपालमा नै रहेको अवस्थामा आफ्नो साथमा भएको भनी पारिवारिक भत्ता लिएको भन्दै वार्षिक रुपमा त्यस्तो भत्ता असुल उपर गर्नुपर्छ भनी आफ्नो प्रतिवेदनमा उल्लेख गर्दै आएको छ ।
परराष्ट्रको व्यवस्थापनमा विदेश घुमेर आएका लेखा समितिका केही पदाधिकारीहरुलाई प्रभावमा पारेर महालेखाले औल्याउँदै आएको पारिवारिक भत्ताको बेरुजु मिनाह गर्न समितिले ठाडो निर्देशन दिएपछि महालेखाले मिनाहा गरेको लेखा समितिका एक कर्मचारीले स्वास्थ्य लाइभलाई लाई जानकारी दिए ।

कतिसम्म भने केही राजदूतले त अर्को देशमा प्राध्यापन गर्दै गरेका, अर्के देशमा अध्ययनरत परिवारको सदस्य र नेपाल सरकारको अन्य निकायमा कार्यरत आफ्नो परिवारको सदस्यलाई साथमा भएको फर्जी विवरणका आधारमा पारिवारिक भत्ता बुझेको आधारमा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको थियो ।

लेखा समितिले वर्षौदेखि बक्यौता रहँदै आएको करिब ३० करोड पारिवारिक भत्ता मिनाह गर्न महालेखालाई ठाडो निर्देशन दिनु अघि परराष्ट्रले लेखा समितिका सभापति भरतकुमार शाह समितिका सदस्यहरु प्रेमबहादुर आले, अमनलाल मोदी, चन्दा चौधरी, राजेन्द्रकुमार केसी र समितिका सचिव डा. रोजनाथ पाण्डे बेलायत, फ्रान्स, जर्मनी, ओमन, इन्डोनेसिया, साउदी अरबलगायतका देश घुमाएर ल्याएको थियो । सरकारी खर्चमा घुमेर आएर लेखा समितिका सांसदहरुले परराष्ट्रका कर्मचारीहरुको स्वार्थमा उभिएर अख्तियारको दुरूपयोग मात्र गरेका छैनन् जनमतकोसमेत अवमूल्यन गरेका छन् ।

फर्जी विवरण पेश गरेर भत्ता खानेहरूमाथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएकाले यो विषयमा  छानबिन गर्न आवश्यक रहेको परराष्ट्र कै अधिकारीहरूको भनाई छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com