स्वास्थ्यमन्त्रीले वीर अस्पतालको कमाण्डर भेटेनन्


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल, वीरको प्रमुख प्रशासकीय अधिकारीमा पठाउने पात्र भेटेका छैनन् ।

स्वास्थ्य सेवाको बाह्रौं तह (प्रमुख विशेषज्ञ)को दरबन्दी रहेको वीरमा हालै बढुवा भएका बाह्रौं तहका कोही पनि जान नमानेपछि व्यवस्थापनमा सकस परेको छ । वीर अस्पतालको दरबन्दीमा बढुवा भएकाहरु नै त्यहाँ जान नमानेपछि पदस्थापन र व्यवस्थापनमा समस्या भएको स्वास्थ्यमन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

मन्त्री खतिवडाले प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी र डा. श्यामसुन्दर यादवमध्ये एक जनालाई वीरको प्रमुख प्रशासकीय अधिकारी बनाएर पठाउन खोजेका छन् । तर दुवै जना वीरमा जान इच्छुक नरहेको मन्त्री निकट स्रोतको भनाइ छ ।

स्रोतकाअनुसार डा. यादवले आफू लामोसमय अस्पताल बसेर काम गरेकाले मन्त्रालयमै बसेर काम गर्ने इच्छा रहेको बताउने गरेका छन् । डा. लोहनी पनि मन्त्रालयमै बस्ने र वीरमा नजाने अडानमा छन् ।

अर्का प्रमुख विशेषज्ञ डा. भीमसिंह तिंकरीको सेवा अवधि दुईमहिना मात्र बाँकी रहेकाले उनलाई मन्त्रालयमै राख्न खोजिएको छ ।  डा. तिंकरीले स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्ने इच्छा देखाएको स्वास्थ्यमन्त्री खतिवडाको सचिवालयमा कार्यरत एक सदस्यले स्वास्थ्य लाइभलाई सुनाए । तर, विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई  पठाएको धेरै समय नभएकाले तत्काल फेर्ने मुडमा मन्त्री खतिवडा नरहेको ती सदस्यको भनाई छ ।

स्वास्थ्य सेवामा स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयमा गरी तीनजना प्रमुख विशेषज्ञको दरबन्दी रहेको थियो । व्यक्ति विशेषको स्वार्थमा पछि वीरमा प्रमुख विशेषज्ञको एउटा दरबन्दी थपेर ४ जना बनाइयो । वीरमा दरबन्दी राखेर बढुवा भएकाहरु वीरको कमाण्डर भएर जान नमानेपछि अहिले व्यवस्थापनमा चुनौती देखिएको छ ।

प्रमुख विशेषज्ञबाट सरूवा तथा पदस्थापन गरेर अघि बढ्न खोजेका स्वास्थ्यमन्त्री खतिवडाले वीरको कमाण्डर नभेटेपछि सरुवाका लागि एघारौँ तहमा प्रवेश गर्ने तयारीमा छन् ।

एघारौँ तहको दरबन्दी रहेको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा डा. संगिता मिश्रा र नीति योजना महाशाखा प्रमुखको जिम्मेवारी डा. तारानाथ पोखरेललाई ल्याउने तयारीमा मन्त्री खतिवडा रहेको स्रोतको दाबी छ ।

यता स्वास्थ्य सचिव रोशन पोखरेलले मन्त्रालयको निमित्त सचविको जिम्मेवारी डा. गुणराज लोहनीलाई दिएर आजै जेनेभा उड्न लागेका छन् ।

डा. श्यामसुन्दर यादव र भीमसिंह तिंकरीपछिको बरियतामा रहेका प्रमुख विशेषज्ञ डा. लोहनीलाई निमित्तको जिम्मेवारी दिएर सचिव डा. पोखरेल जेनेभा उड्न लागेका हुन् । यसले पनि डा. लोहनी प्रमुख विशेषज्ञ मध्येमा पहुँच तथ शक्ति भएका र मन्त्रालयमा आफू अनुकूल हैकम जमाउन सक्ने हैसियत राख्ने व्यक्ति भएको पुष्टि हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com