भ्रमको खेती गर्दै विमानस्थालबाट ‘भाग्ने’ सहसचिव दाहाल


काठमाडौं । विमानस्थल हेल्थ डेस्कको आग्रहअनुसार ठमेलमा व्यवस्थापन गर्न खोजिएको होटल क्वारेन्टाइनमा बस्न छाडेर शक्ति केन्द्रको दबाबमा घर गएका सहसचिव प्रकाश दाहालले आफ्नो बचाउका लागि भ्रमको खेती गरेका छन् ।

अफ्रिकाको तान्जानियाबाट फर्किएका उनले विमानस्थल हेल्थ डेस्कले होटल क्वारेन्टाइनमा जान नभनेको भन्दै उल्टै मिडियामाथि झुटा आरोप लगाउन भ्याएका छन् ।

जिम्मेवार सहसचिव दाहालले गैरजिम्मेवार व्यवहार मात्र देखाएका छैनन् सामाजिक सञ्जालमा गलत कुरा लेखेर पानीमाथिको ओभानो बन्न खोजेका हुन् ।

स्वास्थ्यका अधिकारीहरू भने सहसचिव दाहाल, नारायण रेग्मीसहितको तान्जानियाबाट आएको टोलीलाई होटल क्वारेन्टाइनमा पठाउँन खोज्दा खोज्दै माथिबाट भन्न लगाएर घर  जानुलाई सिम्बोलिक रुपमा भागेकै भन्न मिल्ने दाबी गर्छन् ।

सहसचिव दाहालले फेसबुकमा छरेको भ्रम

स्वास्थ्य लाइभ नामक अनलाइन पत्रिकाले प्रकाशन गरेका यो समाचारप्रति मेरो गम्भिर आपत्ति छ । हामी हिजो कतार एरलाइन्सबाट तान्जानियाको किलिमन्जारो विमानस्थलबाट दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका हौं । त्रिभुवन विमानस्थलमा रहेको स्वास्थ्य मन्त्रालयको हेल्थ डेस्कले सरकारले तोकेको स्वास्थ्य प्रोटोकल बमोजिम हाम्रो र्यापिड डायगोष्टिक टेस्ट (आरडीटी) गरी निगेटिभ देखिएपछि होम आइसोलेशनमा बस्नेगरी घर पठाएको हो । सोही बमोजिम हामी सबैजना होम आइसोलेशनमा बसिरहेका छौं । यदि सरकारले कुनै निर्णय गरेको हुन्थ्यो र सोही बमोजिम हेल्थ डेस्कले हामीलाई होटल आइसोलेशनमा जान भनेको थियो भने हामीले त्यसमा कुनै नाइनास्ती गर्ने अवस्थै हुन्थेन । यदि सरकारले आवश्यक देख्छ भने पूर्ण रुपमा होम आइसोलेशनमा बसिरहेका हामी अहिले पनि होटल क्वारेन्टाइनमा बस्न तयार नै छौं । सस्तो लोकप्रियताका लागि यस्ता तथ्यहीन समाचार सम्प्रेषण गरी कसैको इमानदारी र पेशागत निष्ठाप्रति आक्रमण गर्नाले तत्कालका लागि तपाईंको पत्रिकाको भ्यूअर त बढे होलान् तर त्यो भन्दा बढी विश्वसनीयता घटेको कुरालाई नभुल्नुहोला सम्पादक महोदय ।

 

के हो यथार्थ ? 

विमानस्थल हेल्थ डेस्कका इन्चार्ज गोपाल पाण्डेको बयान:

अफ्रिकाको तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारीले स्वास्थ्यकर्मीमाथि लगाएको आरोप सरासर झुटो छ । उहाँहरुलाई घर जानु भनेर हामीले पठाएको हैन । अफ्रिकाबाट आउने जानकारी यम तिवारीकाे मुखबाट पाएको हुँ । सरकारले उनीहरु आउँदैछन् भनेको पनि हैन ।

यम तिवारीसँग मेरो जहाजभित्रै सम्पर्क भयो । हामीले उहाँहरुलाई नेपाल झरेपछि होटल पठाउने निर्णय गर्यौं । उक्त कुरा मैले यम तिवारीलाई सुनाए । उहाँले हामी मुख्य सचिवलाई जानकारी गराउँछौं भन्नु भयो ।

लगत्तै मुख्य सचिवले मलाई फोन सम्पर्क गर्नुभयो । उहाँले ६ जनालाई होटल नभएर घर पठाउन भनेपछि उहाहरु घर जानू भएकाे हाे । घर पठाएकाे भन्दै स्वास्थ्य मन्त्रालयले मलाई गालीसमेत गरेको छ ।

साेही टोलीमा रहेका भन्सार विभागका निर्देशक सुरेश सेढाईं र अर्थ मन्त्रालयका उपसचिव खिम कुँवर भने सोमबार फर्किएका छन् । उनीहरुलाई होटल क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै उनीहरुसँगै बेल्जियमबाट आएका अन्य २१ जनालाई पनि होटल क्वारेन्टाइनमा राखिएको छ ।

सहसचिव दाहालको दाबी र विमानस्थल हेल्थ डेस्क इन्चार्ज पाण्डेको भनाइबाटै प्रस्ट हुन्छ को झुट को सत्य । सरकारी अधिकारीहरू आफ्नो बद्मासीको ढाकछोप गर्न कतिसम्म झुट बोल्ने रहेछन् भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।

स्वास्थ्य लाइभले अघिल्लो दिनदेखि नैं निगरानीमा राखी सम्बन्धित निकायसँग पुष्टि गरेर लेखेको समाचारमाथि सफेद झुट बोल्न सक्ने सहसचिव दाहालले सेवामा रहँदा गरेकाे राज्यको स्रोत, साधन तथा शक्तिको दुरुपयोग र अनियमितता खोजीको विषय बनेको छ ।

हुन त सहसचिव दाहालले छरेको भ्रम कुनै अनौठों कुरा होइन । यसअघि पर्यटन बोर्डका सिईओ धनन्जय रेग्मीले विमानस्थल भन्सारका कर्मचारीमाथि गरेको अभद्र व्यवहारको ढाकछोप गर्न बोर्डले विज्ञप्ति नै निकालेको थियो ।

बोर्डले निकालेको विज्ञप्तिमा मिडियामाथि आक्षेप लगाएर सिईओ रेग्मी उम्कने प्रयास गरेका थिए ।  मिडियालाई गलत आक्षेप लगाएपनि सीसीटीभी फुटेज बाहिरिएपछि उनको असलियत प्रस्ट भएको थियो । अहिले  सहसचिव दाहालले पनि रेग्मी कै शैली अपनाएका छन् । दाहालको हकमा पनि रेग्मी कै नजिर स्थापित भएको विमानस्थल हेल्थ डेस्कका इन्चार्जको बयानबाट पुष्टि हुन्छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com