एचआइभी बोर्ड फलोअप

करोडौंका सामान लुकाउँदासमेत किन बोल्दैन सरकार ?


काठमाडौं । आज भन्दा १४ वर्ष अगाडि स्थापना भएको एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डका बहुमूल्य सामग्रीहरु लुकाउँदासमेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मौन बसेको छ । एचआईभी एड्स तथा यौनरोग नियन्त्रण विकास समिति (गठन) आदेश, २०६४ बमोजिम स्थापना भएको उक्त बोर्ड सन् २०१३ सालबाट बन्द भएको थियो ।           
एचआईभी एड्स तथा यौनरोग नियन्त्रण, रोकथाम, उपचार, सहयोग, पुनर्स्थापना, हेरचाहलागयत क्षेत्रमा काम तथा सहजिकरण गर्ने उद्देश्यले स्थापना भएको एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड आठ बर्ष अगाडिदेखि चाबी लगाएर राखिएको छ । यस बोर्डका बिषयमा धेरैलाई जानकारी छैन, जानकारी भएकाहरु पनि जानकारी नभएको जस्तो गरेर बसेका छन् ।
बोर्डमा खरिद भएका बहुमूल्य सामग्रीहरु धेरै जसो सरकारी अधिकारीले चोरेर लगेका छन् । भएकाहरु लुकाएर राखिएको छ । बोर्डका सामग्री लुकाएको अवस्थामा स्वास्थ्य लाइभले फेला पारेको छ । तर, उक्त कोठा खोल्न अनुरोध गर्दा चाबी नभएको भन्दै स्वास्थ्य सेवा विभागका अधिकारीहरु भाग्ने गरेका छन् ।
बोर्डका सामग्रीहरु चोरेर लगेकाले कारबाहीमा पर्ने डरले अधिकारीहरु यसबाट जोगिन खोजिरहेका छन् । बोर्डका कान्छा अर्थात अन्तिम सदस्य बिष्णु फुयाँल शर्माले बोर्डमा बहुमूल्य सामग्रीहरुको खरिद गरिएको तर, ती सामग्रीहरु अहिलेको अवस्थामा जानकारीमा नभएको बताए । उनकाअनुसार सातवटा निकै महँगा ल्यापटप, महँगो मूल्यमा खरिद गरेको केही डेस्कटप, कलर प्रिन्टरलगायत नयाँ महँगा सोफाहरु आदी थुप्रै सामानहरु खरिद भएका थिए ।                   
दुईवटा नयाँ मोटरसाइकल, त्यस्तै करोडौं मूल्यको प्राडो गाडीसमेत अहिले बेपत्ता बनाइएको छ । दातृ निकायको सहयोग लिने र एचआईभीको क्षेत्रमा त्यसलाई व्यवस्थापन गर्ने काम गर्दै आएको बोर्ड अहिले बन्द छ । उक्त बोर्ड कुन अवस्थामा छ भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू नै बेखबर छन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने यसबारेमा जानकारी भएको बताएका छन् । तर, उनले पनि कोठा फुटाएर लुकाएका सामग्रीहरु हेर्ने हिम्मत गरेका छैनन् । अधिकारीहरु भन्छन् महानिर्देशकलाई साथीहरु फस्ने पिरले बोर्ड राखिएको बन्द कोठा फुटाउने हिम्मत नआएको हुन सक्छ ।

स्वास्थ्य अधिकारीहरुको नजरमा अज्ञात अवस्थामा रहेको बोर्डको के कति सम्पति कुन कस्तो अवस्थामा छ भन्ने कुराको लेखाजोखा स्वास्थ्य मन्त्रालयसँगै छैन । एचआईभी संक्रमित तथा एड्स रोग भएका व्यक्तिलाई निर्वाह खर्चसमेत व्यवस्थापन गर्ने उद्देश्यले एचआईभी बोर्ड स्थापना भएको थियो ।                       

स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरु भने ग्लोवल फण्ड, डिएफआईडी जस्ता दातृ निकायको सहयोग एनजिओ, आईएनजिओको पोल्टामा पु¥याउन यो बोर्ड निस्क्रिय पारिएको आरोप लगाउँछन् । कान्छा सदस्य बिष्णु शर्मा बोर्ड बन्द हुने बेलामा गाडी र गाडीको ब्लुबुक तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्रलाई हस्तान्तरण गरेको बताउँछन् । तर, पूर्व सचिव मिश्र आफुलाई एचआईभी बोर्ड भएको जानकारीसमेत नभएको बताउँछन् ।

‘मलाइत एचआइभी बोर्डकोबारेमा कुनै जानकारी छैन उनले भने, तपाइले भनेको अहिले सन्दैछु ।’ उनले स्वास्थ्य लाइभसँग भने । बोर्डका सदस्यहरू भने बोर्डकोबारेमा थाहा नै नभएको भन्ने मिश्रले गाडी बुझेको आरोप लगाउँछन् । बोर्डका तत्कालीन सदस्य एवं पूर्व स्वास्थ्य सचिव मिश्रको भनाईलाई लिएर बोर्डका तत्कालीन सदस्यहरुले स्वास्थ्य लाइभसँग आश्चर्य व्यक्त गरे ।
एचआईभी बोर्ड निस्क्रिय भएपछि ग्लोवल फण्डले एचआईभीसम्बन्धी सम्पूर्ण कार्यक्रम सेभ द चिल्ड्रेनको पोल्टामा पुगेको स्वास्थ्यका अधिकारीको दाबी छ । सरकारलाई नै ग्लोवल फण्डको प्रमुख प्राप्तिकर्ता बनाउन र त्यो बजेटको व्यवस्थापन गर्न यो बोर्ड ब्युँताउन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सुनाउँछन् ।             

एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्ड स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा उमाकान्त चौधरी (हालका खानेपानीमन्त्री) रहँदासम्म सक्रिय देखिन्छ । स्वास्थ्य लाइभको एचआईभी बोर्ड खोजीमा बोर्ड बेपत्ता हुने बेलामा स्वास्थ्य सचिवको जिम्मेवारीमा डा. प्रवीण मिश्र रहेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट खुल्न आएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले बोर्डको उपाध्यक्ष तथा कार्यकारी प्रमुखमा डा. श्यामसुन्दर मिश्रलाई नियुक्त गरेका थिए । बोर्डको अध्यक्ष स्वास्थ्यमन्त्री हुने गठन आदेशमा व्यवस्था छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीकाअनुसार तत्कालीन मन्त्री चौधरी र कार्यकारी प्रमुख मिश्रबीच बोर्ड सञ्चालनमा कुरा नमिलेपछि उनले राजीनामा दिएर हिँडेका थिए । स्वायत्त हैसियतको बोर्डमा स्वास्थ्यमन्त्रीले ठाडो हस्तक्षेप र कार्यकर्ता भर्तीमा दबाब दिन थालेपछि कार्यकारी प्रमुख डा. मिश्र राजीनामा दिएर हिँडेको ती अधिकारीको भनाइ छ । त्यसपछि एचआईभी बोर्ड बेवारिसे हुँदै बेपत्ता बनेको हो । बेपत्ताको नाममा दुई करोड भन्दा बढीका सामान धेरै चोरी भएको छ । कतिपय त्यसै बन्द कोठामा लुकाइएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त बोर्डको हैसियत खुल्ने केही कागजातमा एचआईभी एड्स तथा यौनरोग नियन्त्रण बोर्डको उपाध्यक्ष तथा कार्यकारी प्रमुखमा डा. मिश्र, सदस्य सचिव तथा निर्देशकमा डम्बरप्रसाद घिमिरे रहेको देखिन्छ ।

बोर्डको ६ जना सदस्यहरूमा तत्कालीन स्वास्थ्य सचिव डा. प्रविण मिश्र, महिला तथा विशेषज्ञ सदस्य डा. तीर्थ राणा, विशेषज्ञ सदस्य महेश शर्मा, नागरिक समाजको तर्फबाट हरिप्रसाद अवस्थी, एचआईभी संक्रमितहरुको सञ्जालबाट प्रतिनिधि, राजीव काफ्ले र एचआईभी जोखिम समूहबाट प्रतिनिधित्व गर्ने सदस्यमा बिष्णु शर्मा रहेको पाइएको छ । स्वास्थ्य लाइभले बोर्डको तत्कालीन हैसियत पत्ता लगाएपनि चोरी भएका महँगा सामान फेला पार्न सकेको छैन । तर खोजी कार्य जारी रहेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार, सुशासन
ट्याग : ##birod khatwoda, ##Ccm, ##MOHP, ##roshan pokharel

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com