चीनद्वारा सिनोभ्याक खोप लिइदिन नेपाललाई चर्को दबाब


काठमाडौं। चीनको सिनोभ्याक खोप लिन नेपाललाई चर्को दबाब परेको खुल्न आएको छ ।

हरेकपटक मन्त्री र सचिव फेरिएसँगै सिनोभ्याक खोप लिन सम्बन्धित निकायलाई दबाब पर्ने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालयले तीनपटक सिनोभ्याक प्रयोग नगर्ने निर्णय गर्दा पनि दबाब रोकिएको छैन । आइतबार मात्रै पनि प्रयोग नगर्ने भन्दै स्वास्थ्य सेवा विभागले निर्णय गरेको छ ।

नेपालले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ । नेपालमा खोपको चरम अभाव हुँदा दबाब थेग्न नसकेर आपत्कालीन अनुमति निकैपछि दिएको थियो ।

विश्व स्वास्थ्य संगठनमा स्वीकृति नहुँदै चीनले नेपाललाई सिनोभ्याक खोप दिन निकै जोड गरेको थियो । तर, सिनोभ्याक खोप साइनोफार्मको भेरोसेल जति गुणस्तर नभएपछि खोप सल्लाहकार समितिले नेपालमा नभित्र्याउने भनेर निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्रालयअनुसार गुणस्तरहीन खोपले ज्यादती बढाउँछ भनेर विगतमा खोपको दु:ख हुँदा पनि सिनोभ्याक खोप नलिएको हो । अहिले छानीछानी गुणस्तरीय खोप पाएको अवस्थामा झन किन लिने भन्ने प्रश्न उठेको ती अधिकारीले बताए । सरकारले निर्णय गरेर अनुदानको खोप लिन्छु भन्न त सक्छ तर, सिनोभ्याक खोप ल्याएर अब नेपालमा प्रयोग नहुने स्वास्थ्यका अधिकारीहरूको तर्क छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार आगामी तीन महिनाभित्र तीन करोड बढी खोप आउँदैछ । उक्त खोप नै राख्न सक्ने अवस्था नभएको बेला सिनोभ्याकको खोप नेपाललाई आवश्यक नभएको मन्त्रालयको भनाइ छ ।

सरकारले ८० प्रतिशत भन्दामाथि प्रभावकारिता भएका खोपहरु भेरोसेल, कोभिसिल्ड, फाइजर, मोर्डना, जोन्सन एण्ड जोन्सन पाएपछि ६० प्रतिशत भन्दा कम प्रभावकारिता भएको सिनोभ्याक खरिद र अनुदानमा रोक लगाएको थियो ।
भाइरस विज्ञ डा. सन्तोष दुलालकाअनुसार सिनोभ्याक करिब ५२ देखि ६० प्रतिशत प्रभावकारी भनिएको छ, जुन भेरोसेल भन्दा निकै कम हो । उनकाअनुसार सिनोभ्याक धेरै चलनमा आएको भ्याक्सिन हैन । तर, थप डोज दिने कुरा उठेकाले यसलाई पनि ल्याएर प्रयोग गर्न नसकिने भन्ने हैन ।

नेपालले लिन्न भन्दा पनि चीनले पटकपटक सिनोभ्याक लिन नेपाललाई दबाब दिइरहेको बुझिएको छ । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा सो खोप लिने विषयमा परिपत्र भएको छ । मन्त्रालयले आफू पन्छिन विभागमा जवाफ माग्ने गरेको छ ।’,

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले यसअघि दुईपटक सिनोभ्याक नेपालमा प्रयोग गर्न उपयुक्त नभएको र त्यसको प्रभावकारितासमेत ज्यादै कम भएकाले अनुदान र खरिद दुवै नगर्ने जवाफ पठाएको थियो । उक्त जवाफ पठाए पनि दबाब रोकिएको छैन ।

‘हामीले सिनोभ्याक भ्याक्सिन चलाउँन मिल्दैन भनेर जवाफ लेखिरहेका छौं तर, मन्त्री फेरिँदै पिच्छे दबाब बढ्ने गरेको छ, अहिले पुन फाइल आइपुगेको ‘, नाम उल्लेख नगर्ने सर्तमा एक अधिकारीले भने । ‘नेपालमा साइनोफार्म (भेरोसेल) चलिरहेको छ, यी खोपको प्रभावकारिता नै फरक छ । तर, चीनले सिनोभ्याक लिन भनेर पेलेको पेलै छ ।’, नेपालका विज्ञहरुले भने सिनोभ्याक नचलाउने भनेर निर्णय गरेका छन् ।

सिनोभ्याक खोप लिन परराष्ट्रमन्त्री नारायण खड्काले दबाब दिन थालेको स्वास्थ्यका अधिकारीहरुले गुनासो गरेका छन् । नेपालमा खोप भित्र्याउन भित्र्याउने भन्ने कुरा औषधि व्यवस्था विभागले त्यसको आवश्यकता र गुणस्तरीयता हेरेर अनुमति दिने हो । तर, कुनै भ्याक्सीन वा कोभिडसम्बन्धी भ्याक्सिन चलाउनु परेको खण्डमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनु पर्छ । स्वास्थ्य मन्त्रालयले नलगाउने भनिसकेको छ । तर परराष्ट्र मन्त्रालयमार्फत खोप लिन दबाब बढाइएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com