तीनमहिनाभित्र श्रम सम्झौता गरेर बेलायतले नेपाली नर्स लाने

नर्सको तलब मासिक नेपाली ७ लाख रुपैयाँ हुने


काठमाडौं । बेलायतले आगामी मार्चसम्म श्रम समझौता गरेर नेपाली नर्स रोजगारीका लागि लाने भएको छ । शुक्रबार भएको नेपाल र बेलायतको सरकारी टोलीबीचको वार्तामा तीन महिनाभित्र (मार्चसम्ममा) नेपाली नर्स रोजगारीका लागि बेलायत लान श्रम सम्झौता गर्ने तयारी थाल्ने सहमति भएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेकाअनुसार बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको हो । दुवै देशका वार्ता टोलीबीच आगामी मार्चसम्म श्रम समझदारी सम्पन्न गर्ने सहमति भएको उनको भनाइ छ । सहमतिअनुसार श्रम सम्झौताको मस्यौदा निर्माणमा दुवै पक्ष जट्नेछन् । श्रम सम्झौता गरेर नेपालबाट बेलायतको स्वास्थ्य क्षेत्रमा श्रमिक लैजाने विषयलाई छिटो टुङ्गोमा पु¥याउने विषयमा बैठकमा सहमति भएको घिमिरेले जानकारी दिए ।

बेलायतले नेपालसँग श्रम सम्झौता गरेपछि मात्रै कामदारको रुपमा नर्सहरू भनेपछि नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका हुन् । दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ ।

शुक्रबारको नेपाल-बेलायतबीचको दुईपक्षीय बैठकमा नेपालका तर्फबाट श्रम मन्त्रालयअन्तर्गतको रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजिव पोखरेल, उपसचिव थानेश्वर भुसाल, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो । बेलायतका तर्फबाट डिपार्टमेन्ट अफ हेल्थ र नेशनल हेल्थका साथै काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधिको सहभागिता थियो । बैठकमा बेलायतबाट उनीहरू ‘भर्चुअल’ रुपमा सहभागी भएका थिए ।

बैठकले मार्चसम्म मोडालिटीको टुंगो लगाएर श्रम सम्झौता गरी बेलायतमा नेपाली नर्स लान बाटो खुलाउने सहमति गरेको बैठकमा सहभागी नेपाली अधिकारीहरुको भनाइ छ ।  नर्सको तलब मासिक नेपाली ७ लाख रुपैयाँ बढी हुने गरी सम्झौता गर्न नेपाली पक्षले प्रस्ताव गरेको छ ।

दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा एक लाख श्रमिक भित्रयाउने घोषणा बेलायतले नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी थालेको हो ।  नेपालमा उत्पादित ६६ हजार नर्समध्ये  अहिले नै २५ हजार विदेशमा रहेको सरकारी तथ्यांक छ ।

इजरायलले पनि स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाली जनशक्ति लाने तयारी गरेको छ । फ्रान्सले समेत नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्ति लान खोजेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा, समाचार
ट्याग : ##Dhunduraj Ghimire, ##Employment, ##England, ##labour Agreement, ##Labour Ministry, ##Nurse, ##UK

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com