वीपी प्रतिष्ठानमा लफडा:

हार्डजोर्नी विभागको समस्या छताछुल्त पारेको भन्दै चिकित्सक कलवार निलम्बित


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको हार्डजोर्नी विभागको लफडा बाहिर आउने क्रम जारी छ । चिकित्सहरुबीच लफडा हुँदा बिरामीलाई ८ घण्टा लगाएर अपरेशन गरेको, कमिसनको खेलमा सोलिड साइन नेल इम्प्लान्ट र कमसल होलो नेल इम्प्लान्ट (स्टिल) प्रयोग गर तछाडमछाड गरेलगायतका तथ्यहरू एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका छन् ।
वीपीका हार्डजोर्नी विभागका प्रमुख र विभागको समस्या छताछुल्त पारेको भन्दै चिकित्सक रोशन कुमार शाह कलवारलाई निलम्बन गरेको अर्को तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ । हार्डजोर्नी विभागको विभागीय प्रमुख र विभागको समस्या छताछुल्ल पारेको भन्दै कलवारलाई ३० दिनको लागि निलम्बन गरिएको छ । चिकित्सक कलवारलाई निलम्बन पत्र काट्दै हार्डजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले ३० दिन विभागको कुनै पनि क्रियाकलापमा सामेल हुनबाट बन्देज गरिएको र जुनियर रेजिडेण्टहरुले निर्देशन मान्न बाध्य नहुने जानकारी गराएका छन् ।

विभागीय प्रमुख श्रेष्ठले अख्तियारको दुरुपयोग गर्दै आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी तानाशाही शैलीमा डा. कलवारलाई निलम्बन गरेको देखिन्छ ।


कमिसनको चक्करमा लिप्त वीपी प्रतिष्ठानको हार्डजोर्नी विभागका चिकित्सहरुबीच एक अर्काको पोल खोलाखोल गर्ने क्रममा निलम्बनको अस्त्र समेत प्रयोग गरिएको पाइएको छ ।
‘तपाईंले आफ्नो विज्ञप्ति सामाजिक सञ्जालमा छताछुल्ल त पार्नु भयो नै अझ वार्डका सिस्टर, बिरामीहरु, तिनका आफन्तहरु समेत जताततै बाँडेर विभागको समस्या समाजमा छताछुल्ल पार्नु भयो । यसबाहेक विभागीय प्रमुखलाई चुनौती दिँदै अत्यन्तै अभद्र पोष्टहरू सामाजिक सञ्जालमा राख्नु भएको पाइयो ।’, हार्डजोर्नी विभागका प्रमुख श्रेष्ठले कलवारलाई निलम्बन गर्नुको कारणहरू खुलाएको पत्रमा उल्लेख छ । वीपीका हार्डजोर्नी विभागभित्र विरामीको अपरेशन गर्दा लफडा परेपछि एकअर्कालाई दोषारोपण गर्ने काम चलिरहेको छ । यो काण्ड निलम्बन र प्रहरी अनुसन्धानको विषय समेत बनेको छ ।
वीपीको हार्डजोर्नी विभागमा बिरामी ललितकुमार शाहको अपरेशनमा लापरबाही र कमिसन खेलपछि यी सबै कर्तुतहरू बाहिर आएको देखिन्छ । धर्मशालाको नाममा बतास समूह जस्तै वीपीमा राज गरिरहेका हार्डजोर्नी विभागका प्रमुख श्रेष्ठको कमजोरी समेत यो काण्डले बाहिर ल्याइदिएको छ ।

विभागीय प्रमुख प्रा. डा. श्रेष्ठमाथि विगत १० वर्षदेखि हाडजोर्नीको शल्यचिकित्सक भएर पनि एउटा पनि शल्यक्रिया नगरेको, विगत १० वर्षमा कुनै नयाँ अनुसन्धानात्मक कार्य नगरेको, ५ वर्ष शिक्षाध्यक्षको पदमा बस्दा चिकित्सकहरुलाई हप्कीदप्की गर्ने आदतले करिब २० जना चिकित्सकले प्रतिष्ठान छोडेको आरोप लाग्दै आएको छ । इम्प्लान्ट प्रयोगमा कमिसनको खेल, निलम्बन र विभागभित्रको बदमासी छरपष्ट हुनुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख नै गिराउने काम भएको देखिन्छ ।

यो विषयमा नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका जिम्मेवार निकायले छानबिन गरेर दोषीमाथि कारबाही गर्न आवश्यक छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com