अवैध क्रिष्टल ल्याबसँग सेटिङ गर्ने पौडेललाई आरएनएसीमा निषेध !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रुपमा सञ्चालन भइरहेको क्रिष्टल ल्याबसँग सेटिङ गर्ने वायुसेवा  निगम(आरएनएसी)का महाप्रबन्धनक डीम प्रकाश पौडेललाई आरएनएसीको सञ्चालक समितिमा आउन निषेध गरिएको छ ।

नेपाली कामदारबाट अर्बौ रुपैयाँ ठगीको आरोपमा फरार सूचीमा परेका मेनपावर व्यवसायी कैलाश खड्कासँग सेटिङ गरेर पौडेलले नेपाल एयरलाइन्सका यात्रुलाई क्रिष्टल डायग्नोष्टिक प्रालिमार्फत विमानस्थलमा र्‍यापीड आरटी-पीसीआर गर्न बाध्य पारेका थिए । उनै पौडेलसहितका तीन जना सदस्यहरुलाई वायु सेवा निगमको सञ्चालक समितिको बैठकमा प्रवेश निषेध गरिएको हो । उनकै आडमा क्रिष्टलले अहिलेसम्म पनि विमानस्थलमा र्‍यापीड पीसीआर गर्न अनुमति लिएको छैन ।

पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा यती र बतास समूहसँग जोडिएका निगम सञ्चालक समिति सदस्यहरु डिमप्रसाद पौडेल, ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई सञ्चालक समितिमा नबोलाइएको पौडेलले भन्दै रोइलो सुरू भएको छ ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने तीनैजना सञ्चालकलाई समितिको बैठकबारे जानकारी गराइएको दाबी गर्छन् ।

नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने लाइनमा उभिएका तीनै जना सञ्चालक सदस्य तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा नियुक्त भएका व्यक्ति हुन् ।

निगमको महाप्रबन्धक हुनुअघि डिम प्रकाश पौडेल, नारायणहिटी र पशुपति धर्माशालामा अवैध धन्दा चलाउने बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज प्रालिका प्रमुख कार्यकारी अधिकृत थिए । विमानस्थलमा अवैध सेटिङ गर्नेदेखि, आफ्नै तलब डेढ सय प्रतिशत बढाउने र नेपाल एयरलाइन्सलाई निजीकरण गरेर करोडौं कुम्ल्याउने दाउमा उनी लागेको आरोप लाग्दै आएको छ ।

चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक र ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत रहिसकेका पौडेल क्रिष्टललगायतका मेडिकल ठगहरुलाई संरक्षण गर्ने व्यक्तिका रुपमा परिचित छन् ।

यती समूहसँग जोडिएका अर्का दुई सञ्चालक पौडेल र शेर्पालाई पनि निगमको बोर्ड बैठकमा आउन प्रतिबन्ध लगाइएको भन्दै हिँड्न थालेका छन् । पर्यटनमन्त्री आलेले निगमलाई निजी क्षेत्र मुक्त बनाउने बताउँदै आएका छन् । वायुसेवा निगमको निजीकरण र यतीकरणको पक्षमा उभिएका तीनजना सञ्चालकहरू नेपाल एयरलाइन्स बेच्न खोजेको आरोप लागेको छ । उनीहरुको कदमकोविरुद्ध निगमभित्र आन्दोलन समेत हुँदै आएको छ ।

यो खेलमा डिम प्रकाशभन्दा यती निकट इश्वरी पौडेल अगाडि रहेको वायुसेवा निगमका अधिकारीहरु बताउँछन् । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईका बिजनेश ‘पार्टनर’समेत रहेको आरोप लाग्दै आएका इश्वरी यती समूहको पाथीभरादेवी दर्शन केबलकार प्रालि, काठमाडौंका सिईओ समेत भइसकेका व्यक्ति हुन् ।

पाथीभरामा अनधिकृत केबलकार चलाउन सेटिङ मिलाउने व्यक्ति पौडेल नै भएको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट देखिन्छ ।

पौडेल कै सेटिङमा ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार सञ्चालन गर्नका लागि अनधिकृत रूपमा स्वर्गीय शेर्पाको कम्पनी पाथीभरादेवी दर्शन केबलकार प्रालि काठमाडौंलाई अनुमति दिएको पाइन्छ ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा १०२ (३) मा गाउँपालिका वा नगरपालिकाले बनाएको कानुन स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ। राजपत्रमा प्रकाशन नभएको कानुन लागू गर्न सकिँदैन । तर फुङ्लिङ नगरपालिकाले राजपत्रमा प्रकाशित नै नभएको कार्यविधिको आधारमा केबलकार निर्माण तथा सञ्चालनको अनुमति दिएको देखिन्छ ।

२०७४ साउनमा सम्पन्न पहिलो नगरसभा बैठकले काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार सञ्चालन अनुमतिका लागि स्वीकृति दिने निर्णय गरेको हो। उक्त कम्पनीले केबलकार निर्माण तथा सञ्चालनको अनुमति लिनका लागि दिएको निवेदन भने त्यसको १० महिनापछि २०७५ जेठ ९ गते दर्ता भएको छ ।

नगरपालिका र पौडेलको सेटिङमा पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई  ८० वर्षका लागि केबलकार सञ्चालनको अनुमति दिइएको हो। नगरपालिकाबाट जारी भएको अनुमतिपत्रमा ४० वर्षका लागि केबलकार सञ्चालन गर्न स्वीकृति दिएको छ। त्यसपश्चात एकपटकको लागि ४० वर्ष अनुमतिपत्रको म्याद स्वतः थप हुने उल्लेख छ। यो विषयमा महालेखाले समेत प्रश्न उठाएको छ।

पाथीभरामा अवैध धन्दा चलाउन खोज्ने पौडेलको ग्याङ वायुसेवाभित्र धमिरा बन्न खोजेको भन्दै आलोचना सुरू भएको छ । मणिपालदेखि क्रिष्टल ल्याबसम्मको अवैध धन्दामा जोडिएका डिम प्रकाश पनि अहिले प्रश्नको घेरामा देखिन्छन् ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार, सार्वजनिक सरोकार
ट्याग : ## अवैध धन्दा, ## आनन्द बतास, ## इश्वरी पौडेल, ## डिम प्रकाश पौडेल, ## निजीकरण, ## पाथीभरा केबलकार, ## बतास समूह, ## यती समूह, ## सञ्चालक समिति, ##RNAC, ##चितवन मेडिकल कलेज, ##नेपाल क्यान्सर अस्पताल, #योगेश भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com