स्वास्थ्यका दुई पूर्व मन्त्री अख्तियारको छानबिन दायरामा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई पूर्व मन्त्री अख्तियारको छानबिन दायरामा रहेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतकाअनुसार पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व स्वास्थ्य राज्यमन्त्री पद्या अर्याल अख्तियारको छानबिन प्रक्रियामा रहेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री ढकाललाई स्वास्थ्य मन्त्रालयमै भएको खरिद र पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याललाई भूमि व्यवस्था र कृषि मन्त्रालयमा भएको खरिदमा अनियमितता गरेको आधारमा छानबिनको दायरामा ल्याइएको अख्तियार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

ढकालमाथि स्वास्थ्य सामग्री खरिद गर्दा बिना प्रतिस्पर्धा ओम्नीलाई ठेक्का दिएर अनियमितता गरेको विषयमा छानबिन सुरू भएको हो ।  संसदको सार्वजनिक लेखा समितिले पनि ढकालमाथि कारबाही गर्न तथा भ्रष्टाचारमा मुद्दा चलाउन अख्तियारलाई निर्देशन दिइसकेको छ ।

अर्याल भूमि व्यवस्थामन्त्री हुँदा गिरिबन्धु टि इस्टेटलाई जग्गा सट्टापट्टा गर्न स्वीकृत दिएको विषयमा पनि अख्तियारले विस्तृत अनुसन्धान थालेको छ । उनी कृषिमन्त्री हुँदा मल खरिदमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

कमसल मल खरिद गरेको आरोपमा अख्तियारले कृषि सामाग्री कम्पनी लिमिटेडका अधिकारीमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।  जोशी बिज हाउसलाई ठेक्का दिएर कमसल मल खरिद गरी एक अर्ब ५३ करोड घोटाला भएको अख्तियारको ठहर छ ।

त्यस्तै हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन हेर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएकी सचिव यामकुमारी खतिवडा पनि अख्तियारको छानबिनमा रहेको पाइएको छ ।

खतिवडा उद्योग सचिव हुँदा ९ वटा चुनढुंगा कम्पनीलाई  तिराउनु पर्ने एक  अर्ब २६ करोड जरिवाना मिनाह गरेको आरोपमा अख्तियारले अख्तियारले तत्कालीन उद्योगमन्त्री लेखराज भट्ट र उनीसँग बयान लिएको छ ।

अख्तियारको निर्देशन लत्याउँदै तोकिएकोभन्दा धेरै उत्खनन गर्ने ९ वटा चुनढुंगा उद्योगलाई एक अर्ब २६ करोड जरिवाना मिनाह गरेको फेला परेपछि अख्तियारले  तत्कालीन मन्त्री भट्ट र सचिव खतिवडासँग बयान लिएको हो ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## अख्तियार, ## उद्योग, ## भ्रष्टाचार, ## मन्त्री, ## याम कुमारी खतिवड, ## सचिव, ##पद्य अर्याल, #भानुभक्त ढकाल, #लेखराज भट्ट, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com