कोभिड भत्ता प्रशासनकाले खाए, स्वास्थ्यकर्मी हेरेको हेरै


काठमाडौं । स्वास्थ्यकर्मी लगायतका अग्रपंतिका खटिएका (फ्रन्टलाइनर)ले पाउने भनेको ५० प्रतिशत कोभिड भत्ता वास्तविक स्वास्थ्यकर्मीले अझैंसम्म पाउन सकेका छैनन् ।

सरकारले नै निर्णय गरेर दिने भनेकाे उक्त कोभिड भत्ता नपाउँदा कोभिड-१९ को तेस्रो लहरमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल नै गिरेको छ । राज्यले दिने भनेको सुविधा नै नदिएपछि ज्यानको जोखिम राखेर किन बिरामीको सेवा गर्ने भन्नेमा आम स्वास्थ्यकर्मीहरु रहेका छन् ।

भत्ताको आशमा सकी-नसकी परिवार र ज्यानको बाजी लगाएर आएका स्वास्थ्यकर्मीले पाउने भनेको ५० प्रतिशत भत्ता नपाएर हेरेको हेरै भएका छन् । तर, प्रशासनका हाकिमहरूले कोभिड भत्ता कपाकप खाएको तथ्य फेला परेको छ ।

महालेखा परीक्षकको कार्यालयकाअनुसार काठमाडौं उपत्यकाका अधिकांश नगरपालिकाका प्रशासनमा काम गर्ने प्रमुख प्रशासकीय अधिकृतदेखि प्रशासनमा काम गर्ने प्रायजसोले कानुनविपरीत कोभिड भत्ता बुझेका छन् । कतिपय स्थानीय तहमा त प्रमुख र उपप्रमुखले नै कोभिड भत्ता खाएको अडिटमा खटिएका महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुले स्वास्थ्य लाइभलाई बताए ।

‘स्वास्थ्यकर्मीले दोस्रो लहरमा खटिदाको कोभिड भत्ता नपाएको भन्ने गुनासो र समाचार सुनिरहेको छ । तर काठमाडौंका स्थानीय तहमा कार्यरत प्रशासनका मान्छेहरुले नै कोभिड भत्ता चप्पाएको फेला परेको छ ।’, महालेखाका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने ।

महालेखाले प्रारम्भिक प्रतिवेदन तयार पार्दै गरेकाले सबै कुरा खुलाउन निमिल्ने नाम उल्लेख नगर्ने शर्तमा ति अधिकारीले सुनाए । कानुनविपरीत अग्रपंतिमा खटिनेको भत्ता सरोकार नै नभएको पदमा रहेका व्यक्तिले खान नमिल्ने भएकाले असुल उपर गर्नुपर्ने देखिन्छ ।

कोभिड भत्ता खानेमा काठमाडौं महानगरपालिकासहित उपत्यकाका अधिकांश स्थानीय तहका प्रशासनका कर्मचारी रहेको बुझिएको छ । गोकर्णेश्वर नगरपालिका, कार्गेश्वरी मनोहरा नगरपालिका बुढानिलकण्ठ नगरपालिका, दक्षिणकाली नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, नागार्जुन नगरपालिकालगायतमा कोभिड भत्ता खानेमा प्रशासनका कर्मचारी रहेको खुल्न आएको छ ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक  नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिकालगायत उपत्यकाका अधिकांश स्थानीय तहमा प्रशासनका कर्मचारीले कोभिड भत्ता खाएको महालेखाका अधिकारीहरुले सुनाए ।

स्थानीय तहमा भत्ताको चरम दुरूपयोग हुने गरेको कुरा आइरहेको बेला स्वास्थ्यकर्मीले नै कोभिड भत्ता नपाउँदा स्थानीय तहमा कार्यरत प्रशासनका कर्मचारीले भत्ता खानु छानबिनको विषय हो । यसमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गर्न आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## अख्तियार, ## कोभिड भत्ता, ## स्वास्थ्यकर्मी, #प्रशासन, #फ्रन्टलाइनर, #भत्ता दुरुपयोग, #महालेखा, #स्थानीय तह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com