राप्ती प्रतिष्ठानको उपकुलपतिका दावेदार डा. ऋषिकेशको प्राध्यापक उपाधि ‘किर्ते’

एउटै मितिमा सह-प्राध्यापक र प्राध्यापक भएको प्रमाण फेला, आइओएमसँग प्राध्यापकको रेकर्ड छैन !


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी “किर्ते प्राध्यापक“ पुष्टी भएको विषय सेलाउन नपाउँदै सरकारले सोही प्रवृत्ति झल्काउने अर्का चिकित्सकलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउन तीव्र चलखेल थालेको छ । तिनै किर्ते प्राध्यापक आशंकाका चिकित्सक ऋषिकेशनारायण श्रेष्ठलाई राप्ती प्रतिष्ठानको उपकुलपति बनाउँन विभिन्न माफियाहरु सक्रिय देखिएका छन् ।

स्वास्थ्य लाइभलाई प्राप्त प्रमाणअनुसार प्राध्यापक प्रमाणीकरण गर्ने निकाय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले प्रमाणीकरण नै नगरेका डा. श्रेष्ठ प्राध्यापकको कागजपत्र पेश गरेर उपकुलपतिका लागि १६ जनाबाट ५ जना भित्र परेका छन् । स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार श्रेष्ठलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र मुख्यगरी दाङ्का नेकपा एस नेता मेटमणी चौधरी लागि परेका छन् ।

“प्राध्यापक“ पद कुनै पनि विश्वविध्यालयले सो को मातहतमा शिक्षण र अनुसन्धान गर्ने शिक्षकलाइ आफ्नो मापदण्ड पुरा गरेपछि दिने गर्छ । डा. श्रेष्ठलाई नेपालको कुनै पनि विश्वविध्यालयले प्राध्यापक पद दिएको देखिंदैन । यदी भोलीका दिनमा सम्बन्धित निकायले प्राध्यापक दिएको आधारसहित पुष्टि गरे हामी सम्मानसहित प्रकाशित गर्ने छौं । डा. श्रेष्ठ प्राध्यापक भएको प्रमाण मातहतको निकाय चिकित्सा शास्त्र अध्ययन संस्थान डीन कार्यालयलाईसमेत जानकारी छैन । स्वास्थ्य लाइभले डा. श्रेष्ठले सह-प्राध्यापकबाट प्राध्यापकको उपाधि पाएको प्रमाण पटकपटक खोज्दा आइओएमले उपलब्ध गराउन सकेको छैन । उल्टै रेकर्ड फेला नपरेको भन्ने जवाफ दिएर टार्ने प्रयास गरेको छ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका तत्कालीन निमित्त डीन प्रा.डा. बिमलकुमार सिन्हाले दिएको प्रमाणीकरण सम्बन्धी पत्रमा निजको नियुक्ति लागू हुने मिति सन् २०१३ सेक्टेम्बर ६ अर्थात् नेपाली मिति बि स. २०७० भदौं २१ जनाइएको छ । प्राध्यापक पदमा पदोन्नती हुन अनिवार्य रूपमा सह–प्राध्यापक पदमा सेवा गर्नै पर्ने मापदण्ड छ । तर, उक्त मापदण्ड डा.श्रेष्ठको हकमा लागू भएको देखिंदैन । अझ

रोचक कुरा त डा. श्रेष्ठ एउटै मितिमा सह-प्राध्यापक र प्राध्यापक भएको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट देखिन्छ । सह-प्राध्यापकबाट प्रध्यापक हुन सह-प्राध्यापक पदमा रही कम्तिमा ५ वर्ष कार्य गरेको हुनु पर्ने उल्लेख छ । तर उनी एउटै समयमा सह-प्राध्यापक र प्राध्यापक भएको प्राप्त कागजातबाट खुल्न आएको छ ।

यसले गर्दा पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ्को रिक्त उपकुलपति प्रतिस्पर्धाको दौडमा रहेका डा ऋषिकेश नारायण श्रेष्ठको प्राध्यापक नियुक्तिमा किर्ते गरेको आशंकामा बल पुगेको छ । स्वास्थ्य लाइभले फेला पारेको उनको प्राध्यापक नियुक्ति शंकास्पद रहेको छ । सह–प्राध्यापक भएकै दिन उनले प्राध्यापकको नियुक्ती पाएको स्पष्ट छ । जुन संसारमा कही पनि एकैदिन एउटै मितिमा सह प्राध्यापक र प्राध्यापक नियुक्ति हुँदैन ।

गज्जबको कुरा ऋषिकेश नारायण श्रेष्ठको सह–प्राध्यापक चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमा दर्ता छ । तर, प्राध्यापक भएको प्रमाण डीन कार्यालयमा छैन । स्वास्थ्य लाइभले ऋषिकेश नारायण श्रेष्ठको प्राध्यापक भएको मिति एकहप्ता अगाडि आइओएममा माग गरेको थियो । तर, सोमबार आइओएमले ऋषिकेश नारायण श्रेष्ठ सह-प्राध्यापक मात्रै भएको प्राध्यापक भएको कुनै प्रमाण नभएको जानकारी स्वास्थ्य लाइभलाई दिएपछि उनले उपकुलपति हुन पेश गरेको प्रमाणपत्र किर्ते भएको हुनसक्ने बलियो आधार देखिएको छ ।

स्वास्थ्य लाइभसँग भएको सह-प्राध्यापक र प्राध्यापकको नियुक्ती मिति एउटै छ । जुन कुरा सम्भव नै छैन । किष्ट मेडिकल कलेजमा कार्यारत डा. श्रेष्ठलाई आइओएमले सन् २०१३ सेक्टेम्बर ६ गते शिक्षकको पद प्रमाणीकरण गर्दै – नियुक्ति दिएको पत्रमा स्पष्ट देखिन्छ ।

बि.स २०७० पुस ५ गते को मिति राखेर तयार पारेको पत्रमा उनको नियुक्ति छ । पत्रमा भनिएको छ, उपरोक्त सम्बन्धमा त्रिवि सेवा आयोगको र यस अध्ययन सस्थानले निर्धारण गरेको न्यूनतम आधार बमोजिम कुनै पनि चिकित्सक शिक्षक÷शिक्षक उप प्राध्यापक पदबाट सह प्राध्यापक पदमा पदोन्नती हुदा निजले सम्बन्धीत विषयमा कम्तिमा ५ वर्ष काम गरेको अनुभव तथा सोही अवधिमा आफ्नो विषयमा अनुसन्धानमूलक कार्य गरेको प्रकाशित कृतिहरु हुनुपर्ने उल्लेख भए बमोजिम त्यस कलेजको बिभिन्न चिकित्सक शिक्षक÷शिक्षकहरुको फाइलहरु ‘पद प्रमाणीकरण स्थायी समिति’ मा पेश गरिएको र ती मध्ये सह प्राध्यापक पदमा नियुक्ती दिन न्युनतम योग्यता पुगेको हुदा पद प्रमाणीकरण गरिएको उल्लेख गरेको छ । पत्र अनुसार उनको सह प्राध्यापक सन् २०१३ सेक्टेम्बर ६ गते देखि लागु भएको छ । पत्र अनुसार उनलाई सह प्राध्यापक प्रमाणीकरण गर्ने व्यक्ति निमित्व डीन प्राध्यापक डाक्टर सरला श्रेष्ठ हुन् ।

अब रमिता हेर्नुहोस् चिकित्सा शास्त्र अध्ययन संस्थान आइओेएमले श्रेष्ठलाई बि.स. २०७० पुस ५ गतेको पत्रमा भोलिपल्टबाटै लागु हुनेगरी सह प्राध्यापक नियुक्त गरिएको छ । त्यसको १३ दिन पछि अर्थात बि.स २०७० पुस १८ गतेको मिति राखेर सन् २०१३ सेक्टेम्बर ६ गते देखि लागु हुनेगरी प्राध्यापक नियुक्त गरिएको छ । यो हामीले बोल्न जरुरी ठानेका छैनौं दुई पत्र आफैं बोलिरहेका छन् ।

 

यसबारेमा अधिकारीहरुले पक्कै छानबिन गरेर सत्य कुरा बाहिर ल्याउने छन् । अधिकारीहरु भन्छन्, ‘यो निकै ठूलो सेटिङ्मा भएको छ ।’, पत्रको प्रमाणीकरण गर्ने अधिकारीहरुमाथि समेत सरकारले छानविन गर्न आवश्यक देखिएको छ । यसमा स्वास्थ्य लाइभ निरन्तर लाग्ने छ ।

यता प्राध्यापकको पत्र बि.स २०७० पुस १८ गते दिइएको छ । लेखिएको छ, उपरोक्त सम्बन्धमा त्रिवि सेवा आयोगको र यस अध्ययन संस्थानले निर्धारण गरेको न्यूनतम आधारअनुसार कुनै पनि चिकित्सक शिक्षक-शिक्षक सह प्राध्यापक पदबाट प्राध्यापक पदमा पदोन्नती हुँदा निजले कम्तिमा पनी द्धितीय श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरी –नन मेडिकल शिक्षकले पिएचडी समेत गरेको हुनुपर्ने) सम्बन्धधित काउन्सिलमा दर्ता भएको दर्ता प्रमाणपत्रसहित सहप्राध्यापक पदमा रहि कम्तिमा ५ वर्ष कार्य गरेको अनुभव तथा सोही अवधिमा आफ्नो विषयमा अनुसन्धानमूलक कार्य गरेको प्रकाशित कृतिहरु हुनुपर्ने उल्लेख भए बमोजिम त्यस कलेजको विभिन्न चिकित्सक शिक्षक-शिक्षकहरुको फाइलहरु ‘पद प्रमाणीकरण स्थायी समिति’ मा पेश गरिएको र ती मध्ये प्राध्यापक पदमा नियुक्ती दिन न्युनतम योग्यता पुगेको हुदा पद प्रमाणीकरण गरिएको उल्लेख गरेको छ । पत्र अनुसार उनको प्राध्यापक पनि सह प्राध्यापक भएको १३ दिन पछि सन् २०१३ सेक्टेम्बर ६ मा सह प्राध्यापक र प्राध्यापक एकै दिन देखि लागु भएको छ । उनलाई सह-प्राध्यापक प्रमाणीकरण गर्ने व्यक्ति निमित्त डीन प्राध्यापक डाक्टर सरला श्रेष्ठ हुन् भने, सोही दिन प्राध्यापक बनाउने व्यक्ति निमित्व डीन प्राध्यापक डाक्टर बिमलकुमार हिन्हा हुन् ।

सह प्राध्यापकको त्यही मिति प्राध्यापकमा नहुनुपर्ने हो !

डा ऋषिकेश नारायण श्रेष्ठ

म ८ वर्ष अगाडी प्राध्यापक भएको हुँ । सह प्राध्यापक र प्राध्यापक एउटै मितिमा नहुनुपर्ने हो । कसरी भयो । कतै आइओएममा सुधार भयो की? सह-प्राध्यापक बनाएर सुधार गरेर प्राध्यापक बनायो होला नी ! पहिला लेखहरु छुटेको रहेछ, पछि मैले पेश गरेपछि प्राध्यापक बनाएको हो । सह-प्राध्यापकका लागि लेखहरु पेश गर्नुपर्छ । मैले प्रक्रिया अनुसार नै पठाएको थिए ।

सह-प्राध्यापक भएको जानकारी मलाइनै छैन । सह-प्राध्यापक भएको पत्र मैले पाएको पनि छैन । मैले एकै पटक प्राध्यापक नियुक्ति पाएको हुँ । बकाइदा यो पत्र प्राध्यापक नियुक्ति कै हो नी ! उनीहरुले मेरो सह-प्राध्यापकको के गरे खै ? मैले दश वर्ष काम गरेको छु । त्यसैले सीधै प्राध्यापक दिएको हुन सक्छ । पत्रमा हेर्नुन बकाइदा प्राध्यापक दिएको छ । दश वर्ष काम गरेको नाताले मैले प्राध्यापक सीधै पाउँछु नी !

डा. ऋषिकेश बारे के भन्छ आइओएम  ?

डा. ऋषिकेश नारायण श्रेष्ठकोबारेमा तपाइँहरुले माग्नु भएको विवरण कही कतै फेला परेन । चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उहाँ सह-प्राध्यापक मात्रै हुनु भएको प्रमाण फेला परेको छ । उहाँ प्राध्यापक हुनु भएको छैन । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट उहाँ प्राध्यापक हुनु भएको छैन, अरु कुनै निकायबाट भएको भए हामीलाई थाहा छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, सुशासन
ट्याग : ## किर्ते प्राध्यापक, ##MOHP, ##pmo, ##roshan pokharel, ##आइओएम, ##डा ऋषिकेशनारायण श्रेष्ठ, ##डीन प्राध्यापक डाक्टर बिमलकुमार हिन्हा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com