जागिरे जीवन शिक्षामा बिताएकी देवकुमारी अन्त्यतिर स्वास्थ्यमा


काठमाडौं । जागिरको दौरानमा प्राविधिक सहायकदेखि सचिवमा बढुवा हुँदासम्म शिक्षा मन्त्रालयमा बिताएकी देवकुमारी गुरागाईं अवकाश हुन दुई वर्ष बाँकी रहँदा स्वास्थ्य मन्त्रालयको सचिवमा आएकी छिन् ।

२०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी देवकुमारी फागुनमै जिम्मेवारी सम्हाल्ने गरी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारीमा आइपुगेकी हुन् ।

प्राविधिक सहायक, अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा पनि गुरागाईं विविधतर्फ शिक्षा सेवाको शिक्षा प्रशासनबाटै बढुवा भएकी हुन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) हुँदै उनी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको भूमिकामा आइपुगेकी छिन् ।

जागिरे जीवनको उर्वर समय शिक्षामा खर्चेर गुरागाईं अवकाशको मुखमा स्वास्थ्य सरुवा भएर आएकी हुन् ।  २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

तेह्रथुममा जन्मिएर मोरङमा हुर्किएकी स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी सचिव गुरागाईंको बिबाह भने संखुवासभा जिल्लामा भएको हो ।  संखुवासभाका सचिवहरू दिनेश थपलिया, प्रेमकुमार राई, दिनेशकुमार घिमिरे, सूर्यप्रसाद गौतम, सुरेश अधिकारी हुँदै सूचीमा थपिन आएको नाम हो देवकुमारी गुरागाईं । लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाईंकी सहोदर बहिनी नाता पर्ने देवकुमारी शिक्षामा अनुभव बटुलेर स्वास्थ्यमा छिरेकी हुन् ।

२०५१ सालमा प्राविधिक सहायकबाट सरकारी सेवा( निजामती)मा प्रवेश गरेकी देवकुमारीसँग शिक्षक किताब खाना, शैक्षिक जनशक्ति विकास केन्द, सानोठिमीमा निर्देशक, क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको नेतृत्व समेत सम्हालेको अनुभव छ । २०५५ मा शाखा अधिकृत २०६४ मा उपसचिव, २०६४ मा शिक्षा सेवा, शिक्षा प्रशासनको सहसचिवमा हुँदै २०७५ मा सचिवमा बढुवा भएकी हुन् ।

२०२८ सालमा जन्मिएकी सचिव गुरागाईं ५२ वर्ष कै उमेरमा निजामती सेवाको जागिरे जीवनबाट बिट मार्ने छिन् । नेपालमा विज्ञता र अनुभवअनुसार जिम्मेवारी दिने परिपाटी थियो भने गुरागाईं अहिले स्वास्थ्य होइन शिक्षा सचिवको जिम्मेवारी सम्हालिरहेकी हुन्थिन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, ## स्वास्थ्य सचिव, #तेह्रथुम, #दिनेश थपलिया, #दिनेशकुमार घिमिरे, #देवकुमारी गुरागाईं, #निर्वाचन आयोग, #पीपीएमओ, #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #प्रेमकुमार राई, #महेन्द्र गुरागाईं, #मोरङ, #शिक्षा मन्त्रालय, #शिक्षा सेवा, #संखुवासभा, #सार्वजनिक खरिद अनुगमन कार्यालय, #सूर्यप्रसाद गौतम, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com