स्वास्थ्यमा फेरि सरुवा

स्वास्थ्यकर्मीलाई कामै गर्न दिएनन् स्वास्थ्यमन्त्री खतिवडाले


काठमाडौं स्वास्थ्यमन्त्री विरोध खतिवडा कर्मचारी सरुवामा मात्रै केन्द्रित भएका छन् । कर्मचारीलाई काममा केन्द्रित गर्नबाट प्रतिबन्ध लगाउँदै उनले छोटो-छोटो समयमा कर्मचारी सरुवा गर्दै हिँडिरहेका छन् ।

गत पुष २७ गते उच्च अधिकारीहरुको सरुवा गरेका उनले फेरि तिनै कर्मचारीलाई अहिले सरुवा गरेका छन् । यसको मुख्य उदेश्य भनेको मन्त्रीको आर्थिक चलखेल रहेको अधिकारीहरुको आरोप छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार पुनः कर्मचारी सरुवा गरेका छन् । उनले विवादित र एक महिना अगाडि सरुवा गरेकाहरुलाई नै पुनः फेरबदल गरेका छन् । स्वास्थ्य मन्त्रालय स्रोतकाअनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखामा ल्याइएको छ । उनको स्थानमा कोशी अस्पतालका चिकित्सक चुमनलाल दासलाई पठाइएको छ ।

त्यस्तै राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रको निर्देशकको जिम्मेवारीमा रहेका डा. सञ्जय ठाकुरलाई राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा पठाइएको छ । ठाकुरको स्थानमा पुन डा. सुधा देवकोटालाई ल्याइएको छ । गत २७ गते देवकोटालाई केन्द्रीय कारागार अस्पतालमा सरुवा गरिएको थियो । डा. युवनिधि बस्यौलालाई कान्ति बाल अस्पतालमा लगिएको छ ।

गत २७ पुषमा राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी डा. श्रीराम तिवारीले पाएका थिए । त्यहाका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरिएको थियो । तर, राष्ट्रिय क्षयरोग केन्द्रमा समूह मिलेका शाहलाई नियमविपरीत कर्णाली प्रदेशमा सरुवा गरेपछि उनी गएका थिएनन् ।

संघको कर्मचारी भएको नाताले शाह कर्णाली प्रदेश नजानु स्वभाविक हो । अहिले पनि उनको समूह मिल्ने महाशाखामा समूह नै नमिल्ने कर्मचारी ल्याइएको छ भने शाहलाई जिम्मेवारीबिहहीन बनाइएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा कसरी पैसा उठाउँन सकिन्छ भन्नेमा केन्द्रित भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । यस अगाडिका सरुवामा पनि आर्थिक चलखेल भएको बुझिएको थियो । उनले नेशनल मेडिकल कलेज, किष्ट मेडिकल कलेजलगायत अन्य निकायहरुबाट स्वास्थ्य संस्था नवीकरणका क्रममा मोटो रकम लिएको स्वास्थ्य लाइभले सूचना पाएको छ । उनको गतिविधिलाई स्वास्थ्य लाइभले नजिकबाट नियालिरहेको छ ।

स्वास्थ्यमन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयलाई बदनाम मात्रै गराएका छन् । उनले अहिलेसम्म सम्झनलायक गरेको काम भनेको हरेक महिना सरुवा हो । नयाँ पार्टी भएको भन्दै सहयोग गर्न अनुरोध गर्ने मन्त्री र उनका नजिकका मान्छेले एक महिना पनि कर्मचारीलाई काम गर्न दिएका छैनन् । हरेक काम पैसामा मात्र गर्न तम्सिएका मन्त्री खतिवडाले स्वास्थ्यका कर्मचारीलाई भकुण्डो हानेजस्तो सरुवा गर्न थालेका छन् ।

पैसा दिन नसक्नेहरु डा. अनुप बास्तोला, डा. प्रकाश शाह जस्ता चिकित्सक कि फाजिलमा कि कामै नलाग्ने महाशाखामा महिनौं बस्नु परेको छ । प्रशासनतर्फको सचिव हुँदा मन्त्रीले यतिविधि खेल्ने हिम्मत गरेका थिएनन् । तर, स्वास्थ्य सचिव डा. रोशन पोखरेल नियुक्त भएसँगै मन्त्री खतिवडाले मनलाग्दी निर्णय गर्दै आएका छन् । अधिकारीहरु भन्छन् ‘सचिव नै फ्रस्टेसनमा पुगिसकेका छन् । सचिवले आफ्नो अडान लिन नसक्नुको दुर्भाग्य स्वास्थ्यमा देखिएको छ ।’,

मन्त्री खतिवडाले स्वास्थ्यलाई स्वास्थ्य मन्त्रालय होइन सरुवा मन्त्रालय जस्तो बनाएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ##birod khatwoda, ##dr krishna poudel, ##dr roshan pokharel, ##MOHP, ##mohp nepal, ##saruwa

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com