गुट्खा तस्कर र राजस्वका हाकिमबीच भएको लफडा के हो ?


काठमाडौं ।  राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा सुर्ती, गुट्खा तस्कर र कार्यालय प्रमुख तीर्थ खनालबीच लफडा भएको घटना सार्वजनिक भइसकेको छ ।

सुनसरीको देवानगञ्ज नाकाबाट चिनी, सूर्ती, गुट्खा, रजनीगन्धा तस्करी गर्दै आएको तस्कर सन्तोष यादव सशस्त्र प्रहरीको सेटिङमा कार्यालय प्रमुख खनाललाई कार्यकक्षमा भेट्न गएपछि लफडा भएको हो ।

क्यान्सर रोग जितेर नाफाको जिन्दगी बिताइरहेका सादगी स्वभावका खनाललाई सुर्तीजन्य पदार्थको तस्करी गर्दै आएका यादवले अभद्र व्यवहार गरेको पाइएको छ ।

सशस्त्र प्रहरीका सहायक हवल्दार थमबहादुर गिरीलाई साथमा लिएर आफ्नै कार्यकक्षमा भेट्न आएका यादवले खैनी, चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु भनेर परिचय दिन थालेपछि खनाल आवेशमा आएका हुन् । तत्कालीन मुख्य सचिव लोकमानसिंह कार्कीलाई हाजिर हुन नदिएर चर्चामा आएका खनाल गुट्खा तस्कर नै प्रहरीमार्फत आएर हाकाहाकी कुरा गर्न थालेपछि आक्रोशित भएको देखिन्छ ।

सशस्त्र प्रहरी बल ४ नं. बाहिनीका सइ गणेश खड्का एकजना व्यक्ति भेट्न आउँछ भनेर टेलिफोनबाटै समय मागेपछि भेट्न दिएको राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीका प्रमुख खनालले स्वास्थ्य लाइभलाई सुनाए ।

तस्करीको सेटिङ भत्काउने प्रयासमा रहेका खनाललाई तस्कर नै आएर सुर्ती, गुट्खा यताको उता गर्छु भनेर परिचय दिन थालेपछि तस्कर यादवको कुराले आफूलाई असह्य भएको खनालको भनाई छ ।तस्करले आफूमाथि अभद्र व्यवहार गरेपछि प्रतिकार गर्न खोज्दा उनको एउटा हातको औला समेत फ्याक्चर भएको छ ।

राजस्वमा गडबडी गर्ने तत्कालीन राजस्वका हाकिम भरत सुवेदीलाई समेत नछाडेका खनालले सशस्त्र प्रहरी कै सेटिङमा  आएका तस्करले खुलेआम चुनौती दिएपछि एक्सन लिन थालेका छन् । सुर्ती, गुट्खा, रजनीगन्धाजस्ता पदार्थको चोरी पैठारीमा संलग्न तस्कर नै आएर सेटिङ गर्न खोजेपछि आफूले लखेटेको उनको भनाइ छ । घुस खान र सेटिङ गर्न आफू राजस्वमा नआएको भन्दै खनालले तस्करहरूसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

नसरुद मिया, जमसेद आलमलगायतका तस्कर पनि सेटिङ मिलाउन आएपछि कार्यालय प्रमुख खनालले एक्सन लिएका छन् । सुर्तीजन्य पदार्थ तस्करीको नियन्त्रणमा लागिपरेका खनाल तस्करहरूसँग कठोर बन्न थालेका छन् । सुर्ती गुट्खा तस्कर यादवले अभद्र व्यवहार गरेपछि प्रतिकार गर्न खोज्दा उनलाई सामान्य चोट लागेको देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #गुट्खा, #गुट्खा तस्कर, #तस्कर यादव, #तीर्थ खनाल, #रजनीगन्धा तस्करी, #राजस्व अनुसन्धान, #सशस्त्र प्रहरी, #सुनसरीको देवानगञ्ज नाकाबाट चिनी, #सूर्ती

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com