गाँजालाई औषधिको रूपमा खोल्ने कानुनको मस्यौदा तयार


काठमाडौं । गृह मन्त्रालय गाँजालाई औषधि प्रयोजनका लागि प्रयोग गर्न सक्ने गरी कानुनको मस्यौदा तयार पारेको छ ।

गृह मन्त्रालयले गाँजालाई औषधिमा प्रयोग गर्न खोल्ने गरी  गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ को मस्यौदा तयार पारेको हो । गृह मन्त्रालयले गाँजालाई औषधि प्रयोजनका लागि खोल्ने गरी तयार पारेको गाँजा विधेयक मन्त्रिपरिषद्म पठाएको छ ।

गाँजाको उत्पादन, संकलन, विक्रीवितरण र निकासीलगायतका विषय समेटेर तयार पारिएको गाँजा विधेयकमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएपछि संसदमा पेश हुने छ । संसदले पास गरेपछि नेपालमा प्रतिबन्धित गाँजा औषधि प्रयोजनका लागि खुला हुनेछ ।

गाँजा खुला गर्ने विधेयक तयार पार्न गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले विशेष भूमिका खेलेका छन् । गाँजाको औषधीय प्रयोगका लागि कार्यविधि तय गरी गाँजा खुला गर्ने जनाइएको छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ ले गाँजालाई लागुऔषध मानेर नेपालमा गाँजा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । अब बन्ने नयाँ ऐनले गाँजालाई औषधीय प्रयोगका ल्याउन बाटो खुला गर्ने छ । नेपालका औषधि कम्पनीहरुले पनि उक्त कानुन पास भएपछि गाँजालाई औषधिको कच्चा पदार्थको रुपमा प्रयोग गर्न सक्नेछन् ।

नेपालमा प्रतिबन्धित गाँजालाई औषधि प्रयोजनका लागि खुला गर्नुपर्छ भनेर पूर्व सचिव तथा गाँजा अभियान्ता भीम उपाध्यायलगायत निरन्तर लागिरहेका छन् । गाँजामा लगाइएको पूर्ण प्रतिबन्ध हटाउने गरी नयाँ कानुन बनाउन उनको अभियानले समेत विशेष भूमिका खेलेको देखिन्छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ##गाँजा, #गाँजा खुला गर्ने, #लागुऔषध, #विधेयक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com