नेपाल एपीएफ अस्पतालको डीआईजीमा डा. रुपक महर्जनलाई बढुवा गर्ने तयारी


काठमाडौं । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल एपीएफ अस्पतालको डीआईजीमा डा. रुपक महर्जनलाई बढुवा गर्ने प्रक्रिया अघि बढाइएको छ ।

सशस्त्र प्रहरी बलको प्राविधिक स्वास्थ्यतर्फ रिक्त रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका  लागि प्रक्रिया अघि बढाएको छ । बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै सम्भाव्य उम्मेदवारले ३ दिनभित्र कागजपत्र बुझाउन आग्रह गरेको छ ।

बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई आवश्यक कागजात पेश गर्न भनिएकाले नेपाल एपीएफ अस्पतालका प्रमुख  स्वास्थ्यतर्फका एक मात्र एसएसपी डा. रुपक महर्जनको बढुवा हुने निश्चित जस्तै छ । उनैलाई डीआईजीमा बढुवा गर्नका लागि सशस्त्र प्रहरीको स्वास्थ्य प्राविधिकतर्फ केही दिन अघि मात्र  डीआईजीको एउटा दरबन्दी थप गरिएको थियो ।  थप भएको एउटा दरबन्दीमा बढुवाका लागि डा. महर्जन एक मात्र दाबेदार देखिएका छन् ।

सशस्त्रको प्राविधिक समूह, स्वास्थ्यतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (घ) बमोजिम बढुवाद्वारा पदपूर्ति गर्न भएकाले उक्त सूचना जारी गरिएको । उक्त नियमावली अनुसार बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी ३ दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको छ ।

बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले उक्त सूचनामा हस्ताक्षर गरेका छन् ।

त्यस्तै हालै थप गरिएको सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पनि बढुवा प्रक्रिया अघि बढाइएको छ । सशस्त्रको प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फ रिक्त रहेका प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम (१) को (घ) बमोजिम पदपूर्ति गर्न पनि बढुवा समितिको सचिवालयले सूचना निकालेको छ  ।

प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका बढुवाका सम्भाव्य उम्मेदवार रहेका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले आफूले प्राप्त गरेको शैक्षिक योग्यता लगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #एसएसपी, #डा. रुपक महर्जन, #डीआईजी, #नेपाल एपीएफ अस्पताल, #बढुवा समिति, #सशस्त्र प्रहरी बल, #स्वास्थ्य प्राविधिक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com