सञ्चारमन्त्री कार्कीद्वारा भोजपुरमा महात्मा गान्धी मेमोरियल अस्पतालको उद्‌घाटन


काठमाडौं ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महात्मा गान्धी मेमोरियल अस्पतालको उद्‌घाटन गरेका छन् । उनले बिहीबार भोजपुर जिल्ला  षडानन्द नगरपालिका वडा नम्बर ७ दिङ्लास्थित महात्मा गान्धी मेमोरियल अस्पतालको समुद्घाटन गरेका हुन् ।

आफ्नै पहलमा बनेको उक्त अस्पताल भवन उद्‌घाटन गर्न सञ्चारमन्त्री कार्की आज गृह जिल्ला भोजपुर पुगेका हुन् ।  भोजपुरको षडानन्द नगरपालिका सुविधा सम्पन्न अस्पताल बनाउन उनको विशेष योगदान रहेको छ ।

भोजपुरको उक्त क्षेत्रबाट चुनाव उठ्दै आएका कार्की पछिल्लो समय भने सुनसरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ बाट चुनाव उठेर निर्वाचित हुन भएका छन् । भोजपुरको निर्वाचन क्षेत्र छाडेर सुनसरी झरेपनि उनले पहिला गरेको बाचा अनुसार षडानन्द नगरपालिकामा स्तरीय अस्पताल भवन बनाउन भूमिका खेलेको थियो । अहिले उक्त भवन उद्‌घाटन गर्न सञ्चारमन्त्री कार्की भोजपुर पुगेका हुन् ।

अस्पताल उद्‌घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री कार्कीले भारतीय राजदूतावासबाट एम्बुलेन्स पनि प्राप्त हुने घोषणा गरे । उनले एम्बुलेन्स ल्याएर सदुपयोग गर्न आग्रह गरेका छन् । यसअघि आफ्नै पहलमा भारतीय राजदूतावासबाट भोजपुर रेडक्रस सोसाइटीलाई दिएको एम्बुलेन्स सदुपयोग नभएको भन्दै सञ्चारमन्त्री कार्कीले दिङ्लामा आउने एम्बुलेन्स सदुपयोग गर्न आग्रह गरेका हुन् ।

भारत सरकारको सहयोगमा भोजपुरमा स्तरीय र सुविधायुक्त अस्पताल भवन बनेको हो । षडानन्द नगरपालिका नगर प्रमुख (मेयर) वीरवल राईका साथ उनी भोजपुर पुगेका थिए ।

भोजपुर जाने क्रममा सञ्चारमन्त्री कार्कीलाई स्थानीय भव्य रुपमा स्वागत समेत गरेका छन् । पञ्चे बाजासहित उनको गृह जिल्ला भोजपुरमा स्वागत गरिएको हो । जलस्रोत मन्त्री हुँदा भोजपुरलाई विद्युतीकरण गर्न कार्कीको महत्त्वपूर्ण भूमिका र योगदान रहेको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #भोजपुर जिल्ला, #महात्मा गान्धी मेमोरियल अस्पताल, #सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com