वीपीका किर्ते प्राध्यापक उपकुलपति बर्खास्त गर्न बालुवाटारमा सिनेट

सिनेटमा सहजै बहमुत पुग्ने हिसाब निस्किएपछि कुलपति शेरबहादुर देउवा ताते 


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहितका पदाधिकारी बर्खास्त गर्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा सिनेट बोलाइएको छ ।

किर्ते प्राध्यापक उपकुलपति गिरीसहितका तीनैजना पदाधिकारीहरुलाई बर्खास्त गर्ने उद्देश्यले बालुवाटारमा सिनेट बोलाएको स्वास्थ्य मन्त्रालय उच्च स्रोतको भनाइ छ । चैत्र २० गते आइतबार साढे ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा वीपी प्रतिष्ठानको सिनेट बोलाइएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११(घ) को उपदफा (१) बमोजिम प्रतिष्ठानको कुलपति एवं सम्माननीय प्रधानमन्त्रीबाट प्रतिष्ठानको सहकुलपतिको अध्यक्षतामा गठित छानबिन समितिबाट छानबिन गरी प्रतिष्ठानका कुलपति एवं सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सोही ऐनको दफा ११(घ) को उपदफा ३ बमोजिम निर्णय गर्न सञ्चाल परिषद्(सिनेट)को बैठक बोलाइएको उपकुलपति गिरीसहित तीनैजना विवादित पदाधिकारीलाई पठाएको पत्रमा उल्लेख छ । स्वास्थ्यमन्त्री एवं सहकुलपति खतिवडाले छानबिन प्रतिवेदनमा औँल्याइएका विषयप्रति कुनै भनाई/ स्पष्टीकरण भए बैठकमा उपस्थित हुँदा लिखित रुपमा पेश गर्न समेत अनुरोध गरिएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार वीपीका तीनैजना पदाधिकारीलाई एउटै व्यहोराको पत्र पठाइएको छ ।

यसअघि वीपीका तत्कालीन उपकुलपति राजकुमार रौनियारलाई बर्खास्त गर्न पनि बालुवाटारमै सिनेट बोलाइएको थियो । ‘प्रधानमन्त्री निवास बालुवाटारमा सिनेट बोलाउनु भनेको प्रधानमन्त्री एवं कुलपतिको उच्च चासो हो र त्यहाँ सिनेट बोलायो भने सबै सदस्य उपस्थित हुन्छन् भन्ने पनि हो’, वीपीको सञ्चालन परिषद्का एक सदस्यले स्वास्थ्य लाइभसँग भने, सिनेटमा सबै सदस्य उपस्थित भए भने वीपी प्रतिष्ठानका विवादित पदाधिकारी बर्खास्त गर्न सजिलै संख्या पुग्छ ।’, सबै कुराको चाँजोपाँचो मिलाएर सिनेट बोलाइएको ती सदस्यको दाबी छ ।

वीपी प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि किर्ते प्राध्यापक उपकुलपति गिरीसहितलाई बर्खास्त गर्ने तयारी थाल्न भनिसकेको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले देउवाले डा. आर.पी. बिच्छा, डा. शैल रुपाखेती र मुख्य सचिवको टीमलाई उपकुलपति बर्खास्त गर्ने सिनेट सफल बनाउन निर्देशन दिएका छन् ।

वीपीको सिनेट संख्या २३ रहेको छ । ती सदस्यमध्ये रजिष्ट्रारसहित ६ जना खाली रहेको देखिन्छ । बाहलवाला सिनेट सदस्यको संख्या १८ रहेको छ । स्वास्थ्यमन्त्री एवं सहकुलपतिले पूर्व उपकुलपतिबाट १ जना मनोनित गर्न पाउने व्यवस्था रहेकाले १९ जना सदस्य सिनेट बस्ने अवस्था रहेको छ । रिक्त रहेको ५ जना सदस्य थप्न भने उपकुलपतिको अध्यक्षतामा रहेको कार्यकारीणी समितिले सिफारिस गर्नुपर्छ । त्यो सम्भावना तत्काल छैन ।२३ जनाको बहुमत १२ जना एक ठाउँमा उभिए वीपीका किर्ते प्राध्यापक गिरीसहितका पदाधिकारी सहजै बर्खास्त हुने देखिन्छ ।

वीपी प्रतिष्ठानका शिक्षाध्यक्ष र अस्पताल निर्देशक बरू पद त्याग गर्ने तर किर्ते उपकुलपतिलाई सहयोग नगर्ने मनस्थितिमा रहेको चर्चा छ ।

वीपी प्रतिष्ठान शुद्धीकरण अभियानका नेताहरु र शिक्षाध्यक्ष तथा अस्पताल निर्देशकबीच उपकुलपतिलाई हटाउन सबै उपाय अवलम्बन गर्ने भित्रि सहमति भइसकेको दाबी गरिएको छ । शिक्षाध्यक्ष र अस्पताल निर्देशक पनि आफ्ना सबै मतभेद समाप्त गरि बरु सिनेट बैठकमै पद त्याग गरेर पनि उपकुलपतिलाई राजिनामा दिन वा बर्खास्त गराउन सहमत भइ सरकारी पक्षसँग सम्वादमा रहेको बताइएको छ ।

अन्त्यमा २ महिना मात्र कार्यकाल बाँकी रहेका अस्पताल निर्देशक र ६ महिना कार्यकाल रहेका शिक्षाध्यक्ष समेत सरकारको पक्षमा लागेर किर्ते प्राध्यापक उपकुलपतिलाई बर्खास्त गराउन सहयोग गर्ने र आफ्नो कार्यकालको अन्त्यमा कलंक बोक्नबाट जोगिने प्रवल सम्भावना देखिएको वीपी प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताहरुको भनाइ छ ।

यस्तो छ सिनेटको हिसाब

सञ्चालक परिषद्का अध्यक्ष स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, शिक्षा मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिव प्रधानमन्त्री कै लाइनमा उभिने देखिन्छन् । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति, सदस्य प्राडा पारस कुमार पोखरेल, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, सदस्य प्राडा विश्वनाथ यादव, सदस्य प्राडा सन्जिव कुमार शर्मा वीपीका पदाधिकारी बर्खास्त गर्ने लाइनमा रहेको पाइन्छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र आईओएमको डीन डा. दिव्या सिंह शाहलाई पनि किर्ते प्राध्यापक गिरी सहित वीपीका विवादित पदाधिकारीको पक्षमा उभिन त्यति सहज छैन । सहकुलपतिले बनाउने पूर्व उपकुलपतिमध्येबाट एकजना पनि त्यहि बर्खास्त गर्ने पक्षमा रहने भाकाले १३ जना हुँदा सिनेटबाट वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीसहित सबै पदाधिकारी सहजै बर्खास्त हुने सम्भावना छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, #बर्खास्त, #सिनेट, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com