वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरी सिनेट रोक्न सर्वोच्चमा, आज सुनुवाई


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी सञ्चालक परिषद् ‘सिनेट’ बैठक रोक्न सर्वोच्चमा अदालत पुगेका छन् ।

चैत २० गते साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको वीपीको सिनेट बैठक रोक्न रिट निवेदन बोकेर किर्ते प्राध्यापक डा. गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साह सर्वोच्च अदालत पुगेको हुन । उक्त रिटको आज पेशी तोकिएको छ ।  सिनेट बोलाउने प्रतिष्ठानका सहकुलपतिको विशेषाधिकारलाई चुनौती दिँदै किर्ते प्राध्यापक उपकुलपति गिरी अस्पताल निर्देशक शाहलाई साथमा लिएर सर्वोच्च पुगेका हुन् ।  उनको रिटको आज सुनुवाई हुँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका  तत्कालीन सचिव डा. बैकुण्ठ अर्याल संयोजकत्वमा गठित कार्यदलले गिरीको प्राध्यापक उपाधि नक्कली भएको ठहर गरेको थियो । त्यसपछि उनले नामको अगाडि प्राध्यापक लेख्न छाडेर किर्ते रहेको आफैंले पुष्टि गरेका थिए । नपाएको ओहदा पाए भन्ने उपकुलपति गिरीलाई भ्रष्टाचार मुद्दा लाग्नु पर्नेमा उल्टै उपकुलपतिको हैसियतमा सिनेट रोक्न सर्वोच्च पुगेको देखिन्छ ।

न्यायालय शुद्धीकरणको अभियानको पक्षमा उभिएका दीपक कुमार कार्की अहिले सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश रहेका छन् । अधिकांश न्यायाधीश न्यायालय शुद्धीकरणकै पक्षधर रहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरलाई महाभियोग लाग्नु बार र बेञ्च दुबैले उपलब्धिको रुपमा लिएका छन् । तर यस्तो अवस्थामा पनि अनियमिततामा मुछिएका किर्ते पदाधिकारीहरु न्यायालयबाटै चलखेल गरिरहनुले बार र बेञ्चको शुद्धीकरण आन्दोलनमाथि नै ठूलो चुनौती हो ।

स्वास्थ्यका मुद्दामा अदालतमा सेटिङ हुने गरेको आरोप लाग्दै आएको छ । यस्ता मुद्दामा सेटिङ गर्ने गिरोहलाई कानुनी कारबाहीको दायरामा ल्याउने हो भने बारको आन्दोलन र न्यायाधीशहरूको निरन्तर बेञ्च बहिष्कार पिक्का साबित हुने छ । यस्तै ताल हो भने न्यायालयसँगै बारभित्र पनि शुद्धीकरण हुनुपर्छ भनेर अर्को आन्दोलन हुने समय धेरै टाढा छैन ।

न्यायालयको आडमा अराजकता र भ्रष्ट र किर्तेहरूको रजगज हुनु न्यायालय शुद्धीकरणका लागि गम्भीर धक्का रहेको यो अभियानमा संलग्न वकीलहरुकै टिप्पणी रहेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डा. गौरीशंकर शाह, #प्रधानमन्त्री निवास बालुवाटार, #सर्वोच्च अदालत, #सिनेट, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com