काठमाडौं महानगरको मेयर उम्मेदवार

कांग्रेसबाट सिर्जना सिंहको चर्चा चलेसँगै एमालेबाट खोप घोटालामा संलग्न वैद्यको चर्चा


काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार कांग्रेसबाट सिर्जना सिंहको नाम चर्चामा आएसँगै एमालेबाट खोप घोटालामा संलग्न सुरज वैद्यको चर्चा सुरु भएको छ ।

एमाले अध्यक्ष केपी ओलीले व्यापारी पृष्ठभूमिका वैद्यलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठाउनु पर्ने निकट व्यक्तिहरुसँग प्रस्ताव गरेको बालकोटमा चर्चा छ । वैद्य तिनै व्यक्ति हुन् जुनबेला नेपालमा कोभिड-१९ खोपको संकट थियो त्योबेला भारतबाट खरिद गर्न खोजिएको ५० लाख डोज कोभिशिल्ड खोपमा १० प्रतिशत कमिसन मागेर खोप खरिद प्रक्रियानै बिथोलेका थिए ।

विजय दुगल उनीलगायतको स्वामित्वमा रहेको हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक्स प्रालिलाई अघि सारेर खोपमा १० प्रतिशत कमिसन मागी जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेका वैद्यलाई एमालेले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहसँग प्रतिस्पर्धा गराउन खोजेको हो । अनलाई काठमाडौं महानगरपालिकाको मेयरमा उठाउँदा जित्ने सम्भावना भएकाले टिकट दिँदा उपयुक्त हुने ओलीको भनाइ रहेको स्रोतले बतायो । एमालेबाट वर्तमान मेयर विद्या सुन्दर शाक्य, केशव स्थापित, रामवीर मानन्धरलगायतको नाम मेयरमा चर्चा छ । तर ओलको रोजाइमा वैद्य परेको चर्चा सुरु भएको छ ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालकी धर्मपत्नी समेत रहेकी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत  इकोनोमिक मिनिस्टर निता अर्याल पोखरेलमार्फत खोपमा कमिसन डिलिङ भएको आरोप लाग्दै आएको छ । त्यहीँ कमिसनका कारण संकटमा खोप किन्न नसकेको कुरा ओपन सेक्रेट जस्तै छ । उनै कमिसनखोर वैद्यको नाम एकाएक काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारमा आएको हो ।

नेपाली कांग्रेसबाट सिर्जना सिंहले काठमाडौं महानगरपालिका मेयरमा टिकट पाउने निश्चित जस्तै छ । महिला संघ, नेविसंघ लगायतका पार्टीका भातृ संगठनले उनलाई मेयरमा टिकट दिन दबाव बढाएका छन् । सिंहको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । यो सुइको पाएका एमाले अध्यक्ष ओलीले उनलाई टक्कर दिने उम्मेदवारको रुपमा वैद्यलाई हेरेका छन् ।

कांग्रेसको लाइन र ओलीको प्रस्ताव कायम रहे काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसबाट सिंह र एमालेबाट वैद्यको प्रतिस्पर्धा हुने देखिन्छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #एमाले, #कांग्रेस, #काठमाडौं महानगरपालिका, #खोप कमिसन, #मेयर, #सिर्जना सिंह, #सुरज वैद्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com