कोभिडमा सक्रिय सिर्जना सिंहसहितलाई मेयरको टिकट दिन कांग्रेस बैठक बस्दै 


काठमाडौं । कोभिड-१९ संक्रमणको बेला सक्रिय सिर्जना सिंहसहितलाई टिकट दिन कांग्रेसको केन्द्रीय सम्पादन समितिको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकले समाजसेवी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा टिकट दिने तयारी गरेको छ । काठमाडौंमा निकै लोकप्रिय मानिएकी सिंहलाई कांग्रेसले काठमाडौंको मेयरमा अगाडि बढाउने तयारी थालेको हो ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) कांग्रेसको भागमा परेकाले आजै टुंगो लगाउने तयारी छ । शेरबहादुर देउवाकै प्रस्तावमा सिंहलाई काठमाडौंको मेयरमा अघि सार्ने तयारी भइरहेको समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

सिंहलाई महिला संघ, नेविसंघ, तरुण दललगायतले काठमाडौंको मेयरमा उठाउन दबाब दिँदै आएका छन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत मेयरमा प्रस्तुत गरेका थिए । कोभिडमा श्रेष्ठकै पहलमा रत्न राज्य स्कुलमा सञ्चालनमा ल्याइएको कोभिड आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सिंहको विशेष भूमिका रहेको छ ।

 

ललितपुर र विराटनगर महानगरको टिकट भने पेचिलो बनेको छ । कांग्रेसको भागमा परेको महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगाउने कांग्रेसको तयारी छ ।

एमालेबाट भने काठमाडौंको मेयरमा विद्या सुन्दर शाक्य र केशव स्थापितको नाम चर्चामा छ । राप्रपाबाट कलकार मदनदास श्रेष्ठको नाम मेयरमा सिफारिस भएको छ ।विवेकशील साझाबाट समिक्षा बाँस्कोटा तथा बालेन शाह र सुनिता डंगोलले  काठमाडौं महानगरको मेयरमा स्वतन्त्रको हैसियतमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कांग्रेस, #काठमाडौं महानगरपालिका, #केशव स्थापित, #बालेन शाह, #मेयर, #विद्या सुन्दर शाक्य, #समिक्षा बाँस्कोटा, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #सिर्जना सिंह, #सुनिता डंगोल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com