प्रमुख विशेषज्ञ रिक्त एउटा पदमा २० जनाको दावी, अधिकाशं नयाँ अनुहार


काठमाडौं । स्वास्थ्य सेवाको बाह्रौं तहको प्रमुख विशेषज्ञ रिक्त एउटा पदमा बढुवाका लागि २० जनाले दावी गरेका छन् । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ को (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा सिफारिस गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालयले सूचना निकालेको थियो ।

२०७८ साल अषाढ मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिम सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुलाई १५ दिनभित्र कर्मचारी प्रशासन शाखामा व्यक्तिगत विवरण पेश गर्न सूचनामा भनिएको थियो । तर, सुचना जारी गरेको एक महिना भन्दा बढी भएको छ, बढुवा समितिको बैठक बस्न सकेको छैन ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको जोडबलमा बढुवा अगाडी बढाउन खोजिएको भएपनि मन्त्रालयका उच्च अधिकारीहरु तत्काल होल्ड गर्ने पक्षमा देखिएका छन् । मन्त्रालय उच्च स्रोतका अनुसार एक पदका लागि २० जनाले दावी गरेका छन् । केही विगतमा दावी गर्नेहरु छन् भने धेरै नयाँ अनुहारहरु देखिएका छन् ।

दावी गर्नेहरुको कार्यसम्पादन नम्बर समेत जोडिएको छैन । अझै केही दिन समय लाग्न सक्छ स्रोतले भन्यो । प्रमुख विशेषज्ञ भीमसिंह तिंकरीले अवकाश पाएपछि रक्त उक्त पदमा बढुवाको प्रक्रिया अघि बढेको हो । बाह्रौं तहको एउटा पदमा बढुवाका लागि स्वास्थ्य मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख डा. संगिता कौशल मिश्रा, डा. श्रीकृष्ण श्रेष्ठ, डा. विकास देवकोटा, डा. कृष्ण पौडेललगायतको मुख्य दाबेदारी रहेको छ । तर, लामो समय दुर्गम बसेर काम गरेका नयाँ अनुहार अगाडी देखिएकाले प्रतिस्पर्धा रोचक हुने अनुमान धेरैको छ । यस अगाडी पनि डा श्याम सुन्दर यादव सिनियर छन् भन्ने कसैले अनुमान लगाएका थिएनन् ।

अघिल्लो पटक बाह्रौं तहको रिक्त रहेको तीन पदका लागि ५ जनाको नाम सिफारिस भएको थियो । डा. श्याम सुन्दर यादव, डा. श्रीकृष्ण श्रेष्ठ, डा. भीम सिंह तिंकरी, डा. संगिता कौशल मिश्रा र डा. गुणराज लोहनीको नाम बढुवाका लागि सिफारिस हो । त्यसमध्ये पहिलो नम्बरका डा. श्याम सुन्दर यादव, तिंकरी र अन्तिम नम्बरका डा. लोहनीको प्रमुख विशेषज्ञमा बढुवा भएको थियो ।

त्यो बेला प्रमुख विशेषज्ञमा बढुवाका लागि २१ जनाको दाबी परेको थियो । बाह्रौं तह बढुवाका लागि दाबी गर्नेमा डा. कृष्ण प्रसाद पौडेल, निर्देशक, इडिसिडी (बालरोग विशेषज्ञ), डा. संजय कुमार ठाकुर, जनरल फिजिसियन, वीर अस्पताल,डा. श्याम सुन्दर यादव, सर्जन, भेरी अस्पताल, डा. तारानाथ पोख्रेल,सार्क टिबी एड्स नियन्त्रण केन्द्र, डा. दिप थापा मगर, सर्जन, वीर अस्पताल, डा. श्रीकृष्ण श्रेष्ठ, बाल रोग विशेषज्ञ,पश्चिमाञ्चल क्षेत्रिय अस्पताल रहेका थिए ।

त्यस्तै बाह्रौं तहमा बढुवाका लागि विवरण पेश गर्नेमा डा. सुधा देवकोटा, निर्देशक, एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, डा. भिमसिंह तिंकरी, निर्देशक, व्यवस्थापन महाशाखा, डा. संगिता कौशल मिश्रा, निर्देशक, प्रसुति गृह अस्पताल, डा. आमिर बाबू श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली, डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय, महानिर्देशक, आयुर्वेद विभाग, डा. रघुनन्दन ब्याजु, कन्सल्ट्यान्ट, भरतपुर आँखा अस्पताल, डा. गुणराज लोहनी, प्रमुख अस्पताल प्रशासक, स्वास्थ्य मन्त्रालय, डा. विकास देवकोटा, सचिव, लुम्बिनी प्रदेश समेत रहेका थिए ।

त्यसैगरी डा. टंक प्रसाद बाराकोटी, मेडिकल सुपरिटेन्डेन्ट, मेची अस्पताल, डा. प्रभा चापागाईं कोइराला, वीर अस्पताल, गोमा देवी निरौला, निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, डा. शैली प्रधान, वीर अस्पताल, डा. राम पद्मारथ (आरपी) बिच्छा, महानिर्देशक, स्वास्थ्य सेवा विभाग, डा. सुदेश सुवेदी, कोशी अस्पताल, डा. सुनिलराज शर्मा, निर्देशक, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रले समेत बढुवाका लागि योग्यता पुगेको दाबी गरेका थिए ।

अघिल्लो पटक दाबी गर्ने डा. श्याम सुन्दर यादव, डा. भीम सिंह तिंकरी र डा. गुणराज लोहनी बढुवा भएर तिंकरीले अवकाश पाइसकेका छन् । तारानाथ पोखरेल पनि घर गइसकेका छन् । त्यस्तै डा. राम पद्मारथ (आरपी) बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञ नियुक्त गरेका छन् । स्वास्थ्यमा कासमू नम्बरले धेरै फरक पर्ने भएकाले बढुवामा निकै रोचक देखिने गरेको छ ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com