स्वास्थ्य मन्त्रालयको ढड्डामा रहेको सूर्य नेपालको दर्ता नम्बर उपमेयरकी उम्मेदवार शिल्पाद्वारा ‘किर्ते’


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको सूर्य नेपालको दर्ता नम्बर हालेर नेकपा एमालेबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेकी शिल्पा निराल कार्कीले राजीनामा दिएको तथ्य फेला परेको छ । उनले उपमेयरको उम्मेदवारी दर्ता गर्दा  निर्वाचन आयोगमा पेश गरेको कागजातमा ‘किर्ते’ दर्ता नम्बर हालेको पाइएको छ ।

शिल्पाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोशी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा दिएको पत्र दर्ता गराउँदा दर्ता नम्बर ७२९९ उल्लेख छ । स्वास्थ्य मन्त्रालयले भने उक्त दर्ता नम्बर सूर्य नेपालको रहेको उल्लेख गरेको छ । नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ । उपमेयरकी उम्मेदवार कार्कीले बैठक भ्रमण भत्ता, भ्रमण भत्ता लगायतका सुविधा लिएको अस्पतालले जनाएको छ । त्यही भएर उनले किर्ते दर्ता नम्बर हालेर उम्मेदवारी दर्ता गर्दा राजीनामा दर्ता गराएको कागजात पेश गरेको खुल्न आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रेकर्डमा उक्त नम्बर सूर्य नेपालले मन्त्रालयलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण था नियमन) ऐन, २०६८ को दफा ८ (१) अन्तर्गतको विवरण पेश गर्दाको दर्ता नम्बर रहेको पाइएको छ । २०७९ बैशाख ११ गते दर्ता भएको सूर्य नेपालको उक्त निवेदन स्वास्थ्य मन्त्रालयको ७२९९ दर्ता नम्बर उल्लेख छ । २०७९ बैशाख ११ को दर्ता नम्बर ७२९९ राखेर कार्कीले राजीनामा पत्रको विवरण निर्वाचन कार्यालयमा पेश गरेको पाइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी  गणेश श्रीवास्तवका अनुसार दर्ता नम्बर ७२९९ सूर्य नेपाल प्रालि कान्तिपथको सूर्तिजन्य पदार्थ (नियन्त्रण था नियमन) ऐन, २०६८ को दफा ८ (१) अन्तर्गतको विवरण पेश गरिएको विषयमा पत्रहरू दर्ता भएको देखिएको छ ।

नेकपा एकीकृत समाजवादी विराटनगर महानगर कमिटीकी सचिव हिरा कुमारी दाहाल (मिरा)ले सूचनाको हक अन्तर्गत मागेको सूचनामा स्वास्थ्य मन्त्रालयले कार्कीले दर्ता गराएको राजीनामाको दर्ता नम्बर ‘फेक’ भएको स्पष्ट पारेको हो ।

विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने कोशी अस्पताल विकास समितिकी सदस्य शिल्पा कार्कीले राजीनामाको ‘किर्ते’ कागजात पेश गरेको पुष्टि भएको छ । यो विषयमा स्वास्थ्य लाइभले उपमेयर उम्मेदवार बनेकी कार्कीलाई प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहिनन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #एमाले, #किर्ते कागजात, #विराटनगर महानगरपालिका उपमेयर, #शिल्पा निराला कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com