स्वास्थ्य मन्त्रालयको दर्ता किर्ते गर्ने उपमेयर उम्मेदवार कार्कीबारे आज निर्णय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको किर्ते दर्ता पेश गरेर विराटनगर महानगरपालिकाको उपमेयर उम्मेदवार बनेकी शिल्पा निराला कार्कीविरुद्ध् सर्वोच्च अदालतले आज निर्णय गर्दै छ ।

सर्वोच्च अदालतले कार्कीविरुद्ध परेको रिटलाई अग्राधिकरमा राखेर अन्तरिम आदेशका लागि आज बोलाएको हो । कोशी अस्पताल विकास समितिको सदस्यकै हैसियतमा कार्कीले नेकपा एमालेको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यो विषयमा उजुरी समेत परेको थियो । तर कार्कीले स्वास्थ्य मन्त्रालयको किर्ते दर्ता नम्बर उल्लेख गराएर आफ्नो पक्षमा निर्णय गर्न लगाएको रहस्य खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दर्ता किताबमा उल्लेख सूर्य नेपाल प्रालीको दर्ता नम्बर ७२९९ किर्ते गरेर शिल्पाले कोशी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा स्वीकृत भएको प्रमाण पेश गरेको पाइन्छ । स्वास्थ्य मन्त्रालय उक्त दर्ता नम्बर सूर्य नेपालले मन्त्रालयलाई सूर्तिजन्य पदार्थ (नियन्त्रण था नियमन) ऐन, २०६८ को दफा ८ (१) अन्तर्गतको विवरण पेश गर्दाको दर्ता नम्बर रहेको प्रस्ट पारेको छ ।

अस्पताल विकास समितिको सदस्यको हैसियतमा उम्मेदवारी दिने कार्कीकी उम्मेदवारी रद्ध हुनुपर्नेमा उल्टै सदर भएपछि यो विषयमा सर्वोच्च अदालतमा रिट परेको हो । यो विषयमा उम्मेदवारी रद्ध मात्र नभएर किर्तेमा पनि उनीविरुद्ध मुद्दा लाग्ने देखिन्छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था छ । उपमेयरकी उम्मेदवार कार्कीले बैठक भ्रमण भत्ता, भ्रमण भत्ता लगायतका सुविधा लिएको अस्पतालले जनाएपछि उनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको थियो । तर निर्वाचनले किर्ते कागजातका आधारमा कार्कीको उम्मेदवारी सदर गर्‍यो ।

निर्वाचन आयोगको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि आज बोलाएको छ । सर्वोच्चले उन्तरिम आदेश दियो भने उपमेयर उम्मेदवारी कार्कीको उम्मेदवारी खारेज हुनेछ ।

क्याटेगोरी : समाचार
ट्याग : #किर्ते कागजात, #निर्वाचन आयोग, #नेकपा एमाले, #विराटनगर महानगरपालिका उपमेयर, #शिल्पा निराला कार्की, #सर्वोच्च अदालत, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com