ओम्नीका मतियार विकलको इम्बोस्ड ट्रयाकिङ सिस्टममै झेल


काठमाडौं । सुनसरीका जनताको मतको अवमूल्यन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन फेरेर पुन: नियुक्ति दिलाएका विकल पौडेलले इम्बोस्ड नम्बर प्लेटको ट्रयाकिङ सिस्टममै बदमासी गरेको खुल्न आएको छ ।

मेडिकल सामग्री खरिद घोटालामा मुछिएको ओम्नीका मतियार विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भएपछि उनी थप घोटालाका लागि योग्य भएका छन् । सेक्युरिटी प्रेस खरिद अनियमिततामा संसदको सार्वजनिक लेखा समितिले विकललाई दोषी देखाउँदै अख्तियारलाई छानबिन गर्न निर्देशन दिएको थियो । तर कांग्रेस नेतृ आरजु देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको मिलेमतोमा घोटालामा मुछिएका विकललाई कानुन नै फेरेर पुनः केन्द्रको जिम्मेवारी दिएपछि सञ्चारमन्त्री कार्की पनि विवादमा मुछिएका छन् । उनीमाथि सुनसरीका जनताको जनमतको अवमूल्यन गरेको आरोप लागेको छ ।

इम्बोस्ड नम्बर प्लेट, एमआरपी, सेक्युरेटी प्रेसलगायत आईटीका ठूल्ठूला घोटालामा संलग्न विकलले डिजाइनमा इम्बोस्ड नम्बरमा कमसल प्रविधि भित्र्याएको विज्ञहरू बताउँछन् ।

आईटी विज्ञहरुका अनुसार इम्बोस्ड नम्बर प्लेटसँगै इम्बोस्ड नम्बर प्लेट जडित सवारीसाधनलाई ट्रयाकिङ गर्न मिल्ने उकरण जडान भएको हुन्छ । उक्त ट्रयाकिङ उपकरण आरएफआइडी तथा जीपीएस प्रविधिमा आधारित हुन्छन् । आरएफआईडी प्रविधिमा आधारित उपकरणबाट सवारीसाधनको ट्रयाकिङ गर्न सवारीसाधन गुड्ने मार्गमा अनगिन्ति आरएफआईडी टावरहरु स्थापना गर्नुपर्ने हुन्छ । यसको अर्थ नेपालका सम्पूर्ण बाटा घाटाहरुमा आरएफआईडी टावर स्थापना गरेपश्चात् मात्र सवारीसाधनको ट्रयाकिङ गर्न सक्छ । जुन एकदम नै खर्चिलो र अव्यवाहारिक प्रविधि हो । यसको सट्टामा जिपिएसमा आधारित सवारीसाधनलाई ट्रयाकिङ गर्ने प्रविधिमा भने सवारीसाधन गुड्ने नेपालभरिका सम्पूर्ण बाटाघाटाहरुमा टावरहरू स्थापना गरिरहनुपर्दैन ।

सवारीसाधनको ट्रयाकिङ गर्ने कार्य प्रथ्वीको परिक्रमा गरिरहेका भूउपग्रह(satellite) हरुले गर्छन् । जीपीएसमा आधारित प्रविधि नवीनत् एवम् अन्तर्राष्ट्रिय रुपमा प्रख्यात प्रविधि हो । प्रविधि जगतको यति मामुली विषयलाई समेत अन्देखा गरि विकल पौडेलले इम्बोस्ड नम्वर प्लेटमा आरएफआईडी प्रविधिमा आधारित चिप्स जडान गरि ठूलो राष्ट्रघात गरेका छन् ।

यातायात विभागका तत्कालीन महानिर्देशक मधुसुदन बुर्लाकोटीले सवारीसाधनलाई ट्रयाकिङ गर्न जीपीएस (GPS) प्रविधिमा नै जानु उपयुक्त हुन्छ ।  आरएफआईडी (RFID) प्रविधिमा जानु भनेको सरासर राष्ट्रघात हो । ‘बरु म महानिर्देशकको कुर्सी छाड्न तयार छु’, भनेपछि उनै आईटी माफिया विकल पौडेलले बुर्लाकोटीलाई गलहत्याएका थिए ।

बंगलादेशले प्रयोगमा ल्याएर फ्यालेर सेकेन्ड ह्यान्ड आरएफआईडी प्रविधि नेपालमा फिट गर्ने गरी चन्द्रमान श्रेष्ठलाई प्रयोग गरेका विकल हरेक आईटीका ठेक्कामा चलखेल गर्ने माफिया हुन् । इम्बोस्डको ठेक्का हत्याउने डेकाटुर कम्पनीका लोकल एजेन्ट सिद्धार्थ पाण्डेका मतियार विकलकै डिजाइनमा आरएफआईडी जस्तो कमसल प्रविधि नेपालमा भित्र्याउने काम भएको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् ।

सूचना प्रविधिका अधिकांश ठेक्काहरुमा राज्यलाई अर्बौ हानी नोक्सानी पुर्याएर राज्यसंयन्त्र, अख्तियार एवं अदालतलाई समेत आफ्नो मुट्ठीमा पार्न सफल ‘भ्रष्ट’ पौडेल उपर अब नागरिकस्तरबाट वहिस्कार सुरु भएको छ ।

अमेरिकिको ग्रीन कार्ड लिएको आरोप लागेका विकललाई पछिल्लो पटक जुन देशको ग्रीन कार्ड लिएका छन्, उतैतिर पठाउँदा उपयुक्त हुने धारणा नागरिकस्तरमा व्यक्त हुन थालेको छ । आईटीको ठेक्कामा मुछिएका ओम्नीका मतियार विकललाई कानुन फेरेर नियुक्ति दिलाउने सञ्चारमन्त्री कार्कीलगायतको विषयमा पनि नागरिक छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #घोटाला, #ज्ञानेन्द्र कार्की, #विकल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com