दुई डाक्टरको चेपुवामा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत


काठमाडौं । कांग्रेस प्रवक्ता एवं पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महत दुई डाक्टरको चेपुवामा परेका छन् । आगामी संघीय चुनावमा डा. महत उठ्न खोजेका नुवाकोट क्षेत्र  नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ दुबैतिर कांग्रेसी डाक्टहरुले उनलाई चुनौती दिएका छन् ।

डा. महत यसअघि चुनाव लडेको क्षेत्र काठमाडौं-५ मा नेपाली कांग्रेसबाट युवा नेता डा. प्रणय शम्शेर राणाले चुनाव लड्ने घोषणा गरेका छन् ।  यो क्षेत्रमा स्वतन्त्र रुपमा रञ्जु दर्शना, पूर्व डीआईजी रमेश खरेललगायतले उम्मेदवारी दिने तयारी गरेका छन् । ओम्नीसँग मेडिकल सामग्री खरिद घोटालामा मुछिएका ईश्वर पोखरेलले अघिल्लो निर्वाचनमा डा. महतलाई यसै क्षेत्रबाट पराजित गरेका थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका नरहरि आचार्य जस्ता बौद्धिक व्यक्तिले चुनाव जितिरहेको यो क्षेत्र ट्यांकीमा पैसा लुकाएको आरोप लागेका पोखरेलले डा. महतलाई पराजित गरेका हुन् । डा. महत भारी मतले यो क्षेत्रबाट पराजित हुनुले उनी मतदाता माझ निकै अलोकप्रिय देखिन्छन् । डा. महतलाई युवा पुस्ताका कांग्रेसी डा. राणाले चुनौती दिएपछि काठमाडौं क्षेत्र नम्बर ५ उनका लागि त्यति सुरक्षित देखिँदैन ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवारले जित्ने लहर चलिरहेका र सेलीब्रेटीहरुले संघीय चुनावमा उम्मेदवारी घोषणा गरेपछि डा. महत काठमाडौं छाडेर नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । तर नुवाकोटमा पनि उनलाई डा. केदार नरसिंह केसीले चुनौती दिएका छन् । डा. केसीले एकपटकका लागि नुवाकोट क्षेत्र नम्बर एकबाट चुनाव लड्ने घोषणा गरेपछि नुवाकोटको उक्त क्षेत्र ताकेका डा. महत अप्ठ्यारोमा परेका छन् ।

चिकित्सक र स्वास्थकर्मीहरूले गरेका आन्दोलनमा भूमिकाको अग्र मोर्चा रहेर होस्, अथवा ०६२/६३ को जन आन्दोलनलाई परिचालन गरेर होस् अथवा जिल्ला कुनै पनि प्राकृति प्रकोपलागायत सामाजिक काममा आफ्नो संलग्नता रहेका दावी गर्दै डा. केसीले आफू एकपटक नुवाकोट-१ बाट चुनाव लड्न लागेको घोषणा गरेका हुन् । अधिकांश मतदाता सचेत रहेकाले आफूबाहेकका उम्मेदवारले चुनाव जित्न सक्ने डा. केसीको आसय छ । यो डा. महतप्रति लक्षित कुरा पनि हो ।

यता डा. प्रकाशशरण महत पनि नुवाकोट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेको बुझिन्छ । कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका उनी भारी मतले पराजित भएका थिए । डा. महतले नुवाकोट केन्द्रित विकासे कार्यक्रम लानुले उनी उतैबाट चुनाव लड्न खोजिरहेको अनुमान लगाउन सकिन्छ । नुवाकोटकै कल्पना नेपाली डा. महतको कोटाबाट बागमती प्रदेश सरकारको स्वास्थ्य राज्यमन्त्री बनेको चर्चा छ ।

नुवाकोट लक्षित डा. महतलाई डा. केसीले चुनौती दिनु र काठमाडौंमा डा. राणाले चुनौती दिनुले उनी दुई डाक्टको चेपुवामा परेको देखिन्छ ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #डा. केदार नरसिंह केसी, #डा. प्रकाशशरण महत कांग्रेस प्रवक्ता, #डा. प्रणय शम्शेर राणा, #नुवाकोट- काठमाडौं, #नेपाली कांग्रेस, #प्रतिनिधि सभा संघीय चुनाव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com