स्वास्थ्यमा मन्त्री-कर्मचारी द्वन्द्व

अधिकारबिहीन राज्यमन्त्रीले ताने सचिवले चढेको गाडी, ब्यूरोक्रेसीमाथि आक्रमण गर्नु दुर्भाग्य !


काठमाडौं । पाँच दिन अगाडि मात्र स्वास्थ्य राज्यमन्त्रीको रुपमा सपथ लिएका हिराचन्द्र केसीको दादागिरी  स्वास्थ्य मन्त्रालयमा सुरु भएको छ । बाहालवाला सचिवले प्रयाेग गरिरहेकाे गाडी खोसेर उनले स्वास्थ्य मन्त्रालयभित्र आफ्नो दादागिरीलाई स्थापित मात्रै गराएनन् मन्त्री र कर्मचारीबीच द्वन्द्वकाे बीऊ राेपेका छन् ।

राज्यमन्त्री र उनकाे सचिवालयले बिहीबार गरेको कार्यप्रति कर्मचारीले खेद प्रकट गरेका छन् । सबै कर्मचारी यो विषयमा मौन बसेका छन् तर, सबैको एउटै स्वर छ, राज्यमन्त्रीले सचिवको गाडी खोसेर गम्भीर गल्ति गरे । उनकाे सचिवालयले ४ बजेभित्र सचिवकाे गाडी नदिए राम्रो नहुने चेतावनी कर्मचारीलाई दिएपछि आन्तरिक शाखाले भारिमन बनाएर सचिवलाई चढिरहेकाे गाडीबाट ओेरालेर अधिकारबिहीन राज्यमन्त्रीलाई सुम्पेका थिए ।

कर्मचारीहरुले राज्यमन्त्री केसीको असफल यात्रा सुरु भएको बताएका छन् । ब्यूरोक्रेसीमाथि पहिलोपटक अधिकारबिहीन राज्यमन्त्रीले गरेको हर्कत सहेर बस्न सक्ने अवस्थाको नभएको कर्मचारीहरुको तर्क छ । ‘यो कर्मचारी प्रतिको आक्रमण हो, “यसले स्वास्थ्यमा दुभाग्य निम्त्याउने निश्चित छ ।’,

मन्त्रालयमा मन्त्रीको अधिकार समेत प्रत्यायोजन नभएका बेला राज्यमन्त्री केसीले स्वास्थ्य सचिव डा. रोशन पोखरेलले प्रयोग गर्दै आएको गाडी तानेर आफ्नाे दम्भ देखाएका हुन् । मन्त्रालयका एक जना अधिकृतले स्वास्थ्य लाइभसँग भने, ‘दिनभरि चौरमा घुमेर सबैभन्दा राम्रो भन्दै सचिवको गाडी तान्ने हिम्मत गर्नुनै ठूलो गल्ति हो । यसमा उनलाई कुनै कोणबाट छुट हुँदैन । यसको जवाफ कामबाट दिदै जाने हो ।’, राम्रो गाडी देख्नेले कुनै पनि बेला मन्त्रीको खोस्न सक्ने पनि कर्मचारीहरुको बुझाइ छ ।

अधिकार बिहीन मन्त्रीले सचिवको गाडी तानेको स्वास्थ्यमा मात्रै हैन, सम्भवतः नेपालमा पहिलो घटना हो । तर, स्वास्थ्य सचिव डा. पोखरेलले भने यसलाई सामान्य रुपमा लिएको बताएका छन् । मन्त्रीले दुर्गममा समेत गुड्ने गाडी आवश्यक परेको भनेपछि मेरो गाडी लैजानु भएको हो, यसमा कुनै समस्या छैन’, उनले भने ।

‘सचिवले समस्या नभएको बताए पनि हामीले यस विषयलाई निकै गम्भीर रुपमा लिएका छौं’, एक उच्च अधिकारीले भने । हेर्दा सानो लाग्छ तर, यो नियमत निकै गम्भीर घटना हो । स्वास्थ्य मन्त्रालयका कुनै पनि कर्मचारीले बिहीबार सचिवको गाडी तानेको विषयलाई राम्रो मानेका छैनन् । गल्ती स्वीकार गरि फिर्ता नगरे नतिजा राम्रो नहुने समेत कर्मचारी बताउँछन् । जिम्मेवार पाउने नपाउने एकिन नहुँदै बाहालवाला सचिवको गाडी तानेर मन्त्रीले पहिलै दिनबाट आफ्नो असफल यात्रा तय गरेको छन् ।

देख्नेहरु भन्छन्, ‘मन्त्रालयको चौरमा घुमेर पार्किङ गरेकामध्ये सबैभन्दा राम्रो गाडी भन्दै सचिवको तानेका हुन् ।’, मन्त्रालयका अधिकारीहरु राज्यमन्त्रीले गाडीमा लगाएको गिद्धे नजरको मुल्य नराम्रोसँग चुकाउनु पर्ने छ चेतावन दिन्छन् ।

कुर्सीमा बसेको दिनबाट मन्त्रीका सचिवालयका मान्छेले अस्पताल निर्देशकलाई फोन हान्ने, महाशाखा प्रमुखलाई फोन गर्ने, मन्त्रालयका कोठा-कोठा गएर हामी आयौं भन्दै तर्साउदै हिंडिरहेका छन् । असारको बाढीले बितण्डा मच्चाएझैं स्वास्थ्यमा कर्मचारी आतंकित बनाउँदा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ अघाएको बाघ जस्तो सान्त भएर बसेका छन् । राज्यमन्त्रीले कि खापुङलाई अटेर गरेका हुन् वा उनकाे माैन समर्थन हाे केही दिनमा अवश्य थाहा हुनेछ ।

स्वास्थ्यमा राज्यमन्त्री भएर आउने सबैले बा १ ज ७२६५ नम्बरको प्राडो चड्दै आएका थिए । हालका स्वास्थ्यमन्त्री भवानी खापुङले ९ महिना यही गाडी चढेर भिरपाखा हिंडेका थिए । तर, उनले कुनै कर्मचारीलाई गाडी भएन भनेर गुनासो गरेका थिएनन् । खापुङ् अगाडि नवराज रावत, तारामान गुरुङले पनि यही गाडी चडेर देश दौडाहामा लागेका थिए । त्यस्तै उमेश श्रेष्ठलाई पनि यही गाडी दिइएको थियो । तर, उनले राज्यको सेवा सुविधा नलिने स्वास्थ्य सुधारको काम गर्ने भन्दै आफ्नै गाडीमा झण्डा राखेर हिडेका थिए । त्यसैले हाेला सचिव डा. पाेखरेल पनि आफूलाई गाडीभन्दा पनि काममा विश्वास लाग्ने भएकाले कामप्रती ध्यान दिने बताउछन् ।

हुन त ‘नयाँ जोगीले बढी खरानी घस्छ’ भन्ने उखान नेपाली समाजमा नौंलो भने हैन । अहिले स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले गरेको पनि त्यहीं हो । सरकारी अस्पतालमा चिकित्सक बस्दैनन्, बिरामीले सेवा पाउँदैनन्, बीमा कार्यक्रम चलाएका अस्पतालले करोडौं रकम भुक्तानी पाएका छैनन् । यस्ता विषयमा केसीको ध्यान जानुपर्नेमा मन्त्रालयका सचिवले बर्षौंदखि प्रयोग गर्दै आएको गाडी पहिल्यै दिन तान्नुले राज्यमन्त्रीको नियत छर्लङ्गै भएको छ । स्वास्थ्य सचिवले बा २ ज ४०२६ नम्बरको प्राडो चढ्दै आएका छन् । सचिवलाई गाडी तान्ने कुरा सामान्य र नियमित प्रक्रिया जस्तो लाग्न सक्छ तर, हैन यसले मन्त्रीको नियत र नियती राम्रो छैन भन्ने संकेत गर्छ । त्यसैले यस्ता मन्त्रीलाई कर्मचारीहरुले विशेष निगरानी गरेर मात्रै काममा सहयोग गर्न आवश्यक हुन्छ ।

स्वास्थ्यमन्त्री भवानी खापुङ्ले ब्रिफिङ लिएका छैनन् राज्यमन्त्रीले शाखा महाशाखाका प्रमुख बोलाएर छलफल सुरु गरिसकेका छन् । विगतमा कामबिहीन बनाएर राखिएका खापुङले केसीलाई के कति जिम्मेवारी दिन्छन् हेर्न बाँकी छ । तर, उनले जिम्मेवारी नपाउँदै मन्त्रालयमा देखाएको हर्कतको कुनै कोणबाट समर्थन गर्न नसकिने कर्मचारीहरुनै बताउँछन् ।

यता राज्यमन्त्रीको स्वकीय सचिव अमित शर्मा दुर्गम हिंड्नु पर्ने भएकाले सोही अनुसारको गाडी मिलाउन भनेको बताउँछन् । ‘हामीले सचिवको गाडी तानेका हैनौं, सचिव आफैले दिनु भएको हो’, शर्माले भने । मन्त्रीलाई कुन गाडी पठाउने भन्ने कुरा सचिवालयको चासोको विषय पनि हो । त्यही भएर हामीले गाडी मिलाइ दिन भनेका हौं । सोही अनुसार सचिवले आफ्नै गाडी दिनु भएको शर्माको दाबी छ ।

के भन्छन् मन्त्री ?
हैन । त्यो त, त्यो त तेस्तो त हैन । सचिव आफैले सल्लाह गरेर दिएको होला । मलाई त गाडीको विषयमा कुनै जानकारी नै छैन ।

यस्ता पनि राज्यमन्त्री थिए स्वास्थ्यमा
स्वास्थ्य मन्त्रालयमा अचम्मका मन्त्री पनि थिए । तत्कालीन मन्त्री हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री भएको बेला उनको गाडी बिग्रिएको थियो । तत्कालीन सचिव लक्ष्मण अर्याल थिए । मन्त्रीको गाडी बिग्रिएपछि उनले आफूले प्रयोग गरेको (हाल केसीले तानेको) गाडी चढ्न आग्रह गरेका थिए । तर, हृदयेशले कहाँ सचिवको गाडी चढ्छु भन्दै अर्को गाडी चडेर हिंडेका थिए । यता उमेश श्रेष्ठ पनि केही महिना मन्त्री भए । उनलाई पनि राज्यमन्त्रीले चड्ने गाडी दिएकाे थियाे । तर, उनले राज्यकाे सेवा सुविधा नलिने भनेर आफ्नै चालक आफ्नै गाडी ल्याएर हिंडे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com