रेडक्रसको नवनियुक्त तदर्थ समितिले भन्यो, ‘म्याद सकिएको समितिले रेडक्रसको छबि विगार्‍यो’,


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको नवनियुक्त तदर्थ समितिले म्याद सकिएको पूरानो तदर्थ समितिले रेडक्रसको छवि बिगार्ने गरी हत्कण्डा गरेको आरोप लगाएको छ । सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल र महामन्त्री भुपतिलाल श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै ०७८ पुसदेखि उत्पन्न विवादले रेडक्रसबारे विभिन्न किसिमका अफवाह फैलाइएको र हालको तदर्थ समितिको सन्दर्भमा पूरानो तदर्थ समितिले गलत सूचना प्रवाह गरेर भ्रमित पारेको स्पष्ट पारेको छ ।

रेडक्रसमा सरकारले समाज कल्याण परिषद् ऐनको दफा २० (२, ३ ) बमोजिम ०७७ साउन १२ गते तत्कालिन केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तीनमहिनाका लागि तदर्थ समिति गठन गरेको थियो । तीनमहिनामा सो समितिले अधिवेशन गराउन नसकेपछि राजपत्रमा सूचना निकालेर एक वर्षको म्याद थप भएको थियो । तिम्सिना नेतृत्वको समितिले त्यो एक वर्षमा समेत अधिवेशन गराउन नसकेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७८ पुस १४ मा प्राध्यापक सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन गरेको थियो । त्यस यता पूरानो र नयाँ तदर्थ समितिबीच रेडक्रसमा विवाद हुँदै आएको छ ।

सरकारले नयाँ तदर्थ समिति गठन गरेपछि पूरानो समितिका अध्यक्ष तिम्सीनाले अदालतमा आफूहरूलाई काम गर्न नदिएको र पदावधि नसकिदै नयाँ समिति गठन गरेको भन्दै अदालतमा रिट दायर गरेका थिए । अदालतले तत्काल नयाँ तदर्थ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नू भन्ने आदेश दिएको थियो । तर त्यो मुद्धामा अहिलेसम्म फैसला भएको छैन । ३० पुसमा दुवै पक्षलाई झिकाउनु भन्ने अदालतको आदेश भएपनि त्यस यता पेशी तोकिएको छैन ।

नयाँ तदर्थ समितिका महामन्त्री श्रेष्ठले सो मुद्धाको सुनुवाई नहुँदै दुवै समितिको म्याद सकिएको बताए । सरकारले जेठ ३१ गते पुनः नेपालकै अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गरेपछि तिम्सिनाले पुनः अदालतमा रिट हालेका छन् ।

अदालतले सरकारको अहिलेको निर्णयसमेत यथास्थितिमा राख्नु भन्ने आदेश गरेको छ । नयाँ तदर्थ समितिले पूरानो समितिका पदाधिकारीले आफ्नो कार्यावधि समाप्त भइसकेपछि समेत कार्यालयमा आई हुलहुज्जत गरेको, तोडफोड गरेको र संस्थाको आधिकारिक लेटरहेडको दुरुपयोग गरेको आरोप लगाएको छ । ‘कार्यावधि समाप्त भइसकेपछि उहाँहरू कार्यालयमा आई हुलहुज्जत गर्ने, आफै हथौडा लिएर आई तोडफोड गर्ने गरेकाले प्रहरीले कार्यालयको सुरक्षा गर्नु पर्ने अवस्था सिर्जना भएको हो ।

संस्थाको आधिकारिक लेटरहेड प्रयोग गरी विभिन्न संघ संस्थालाई भ्रम पुर्‍याउने खालको सञ्चार गर्ने, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तर्राष्ट्रिय महासंघ, साझेदार संस्थाहरूलाई अनधिकृत इमेल लेखी मानवीय कार्यको सहयोग रोक्न लगाउने र राष्ट्रिय अन्तर्राष्ट्रिय छविलाई धुमिल पार्ने जस्ता उहाँहरुका क्रियाकलापहरू अक्षम्य छन्,’ नयाँ तदर्थ समितिका अध्यक्ष नेपाल र महामन्त्री श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसैबीचमा डा. नेत्रप्रसाद तिम्सिनाले अन्य मुद्धाहरु पनि दायर गरी संस्थालाई थप अन्यौलतर्फ लगि संस्थाको छवि धूमिल गर्ने र अस्तव्यस्त बनाउने प्रयत्न निरन्तर रुपमा गर्दै आउनुभएको छ ।’

उनीहरूले मंगलबार पनि पूरानो समितिका पदाधिकारीले कार्यालयमा तोडफोडको प्रयास गरेको आरोप लगाएका छन् । ‘राजनैतिक कार्यकर्ताहरु र गैर–रेडक्रसकर्मीहरु सम्मिलित विभिन्न व्यक्तिहरुको सामूहीक जत्था केन्द्रीय कार्यालयमा जवर्जजस्ती प्रवेश गरी संस्थामा उपस्थित अन्य कार्यालय तोडफोड गर्ने, स्वयंसेवकलाई धम्क्याउने, कुर्सी कब्जा गर्ने, कर्मचारीहरुमाथि दुव्र्यवहार गर्ने र हातपात गर्ने कार्य समेत गरेकोले हामी यस्तो कार्यको घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘विगत झण्डै २ बर्षदेखि निजका क्रियाकलाप र यस घटनाले सम्पूर्ण रेडक्रसकर्मीहरुको शीर झुकेको छ । हामी लज्जित भएका छौं ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com